आइतबार मे २२ मा संसारभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाईँदैछ । यो दिवसको कुरा गरिरहँदा किन र कहिलेबाट मनाउन थालियो भन्ने बारेमा चर्चा गर्नु सान्दर्भिक हुने नै छ ।
सन् १९९२ को मे २२ तारिखमा ब्राजिलको राजधानी रियो द जेनेरियोमा पृथ्वी शिखर सम्मेलन भएको थियो । सो सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने प्रस्ताव गरेको थियो । सोही दिनेको सम्झनामा दुइ वर्षपछि सन् १९९४ मे २२ बाट संसारभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको महासभाले भने त्यसको ६ वर्ष पछि सन् २००० मा आएर मात्र हरेक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको रुपमा मनाउने घोषणा गरेको हो । यो दिवस मनाउनुको अर्थ जैविक विविधतको संरक्षण गर्दै मानव जातिले आफ्नो जीवनको संरक्षण गरोस् भन्ने हो ।
जैविक विविधता संरक्षण भित्र प्राणी अर्थात मानिस र पशु पंक्षीको विविधता र त्यसको संरक्षण मात्र पर्दैन बरु संसारमा भएका लाखौं प्रकारका वनस्पतीको विविधता र तिनको संरक्षण पनि पर्दछ । हामीले हाम्रालागि अनावश्यक ठानेका कतिपय प्राणी र वनस्पती अत्यन्त उपयोगी हुन्छन् । जैविक विविधता संरक्षणको महत्व बुझ्न खाध्य चक्रको महत्व बुझ्यौ भने पुग्छ । अर्थात साग, बाघ र बाख्रोको त्रिकोणिय सम्बन्ध बुझ्न सक्दा मात्र पनि जैविक विविधताको संरक्षण किन आवश्यक छ भन्ने बुझ्न सकिन्छ । यसलाई सरल रुपमा भन्नु पर्दा साग विना बाख्राको अस्तित्व सम्भव छैन किनभने उसको बाँच्ने आधार नै साग हो, अर्थात उ साग खाएर बाँच्ने गर्दछ । अनि बाख्रो विना बाघको अस्तित्व रहँदैन किनकी बाघको खाना भनेको बाख्रा हो । र अन्त्यमा बाघको अस्तित्वसंग सागको अस्तित्व जोडिएको छ । यसरी संसारमा जतिपनि प्राणी वा वनस्पति छन् तिनीहरुको आ–आफ्नो महत्व रहेको र त्यसलाई आत्मसाथ गर्दै सबैको अस्तित्व रक्षामा मानव समुदायको महत्वपूर्ण भूमिका हुने कुरालाई बुझाउन सायद विश्वव्यापि रुपमा जैविक विविधता दिवस मनाउन थालिएको हो ।
जैविक विविधता भित्र तीन कुराहरु समावेश हुन्छन्, पहिलो जीवित प्राणी र वनस्पतिका प्रजातिका
विविधता । हालसम्म भएका खोज अनुसन्धानले हालसम्म संसारभर झण्डै १४ लाख प्रजातिको जीव तथा वनस्पति रहेको देखाएको छ । र मैले माथि नै भनि सकेको छु कि हामीलाई हानीकारक लागेका तथा अनावश्यक लागेका कयौं जीव तथा वनस्पति अत्यन्त आवश्यक र उपयोगी हुने गर्दछन् । त्यसैले ति सबैको संरक्षण हुनु जरुरी छ । जैविक विविधता भित्र पर्ने अर्काे पक्ष हो, वासस्थान गत विविधता । पृथ्वीमा पाइने ति लाखौ जीवको वासस्थान कसैको पानी, कसैको जमिन त कसैको आकाश रहेको छ । यदि हामीले ति जीवको संरक्षण गर्ने हो भने संगै तिनीहरुको वासस्थान संरक्षणको कुरा पनि जोडिएर आउँछ । कुनै जीव वा वनस्पतिलाई ओसिलो जमिन चाहिन्छ भने कुनैलाई मरुभूमि । यसो विचार गरौं त, याक र चौरीहरुलाई तराईतिर लगेर छाडिदिने हो भन के
होला ? अनि हात्ती र गैडालाई हिमाली भेगमा लगेर छोड्यौं भने के तिनको अस्तित्व रहला ? यी त एक दुइ उदाहरण मात्र हुनु । वासस्थान गत विविधता भएका जीव तथा वनस्पतिका अरु थुप्रै उदाहरण हामी भेट्टाउन
सक्छौं ।
जैविक विविधतको तेस्रो पक्ष भनेको कुनै प्रजातिभित्र पाईने वंशाणुगत विविधता हो । हाम्रो नेपालकै कुरा गर्ने हो भने विभिन्न प्रजातिका गुराँसहरु पाईन्छन् । सल्लाका विभिन्न प्रजातिहरु पाईन्छन् । भ्यागुताका विभिन्न प्रजाति छन् । चराका प्रजातिको त हामीकहाँ कुरा गरी साध्य छैन । कुनै उड्न नसक्ने चरा, कुनै कहिल्यै नहिँडने चरा, कुनै संसारमा अन्त कतै नपाइने चरा, कुनै नाचेर मानिसलाई मोहित पार्र्ने चरा अनि कुनै कुसल कारीगरले भन्दा राम्रो र बलियो घर बनाउने चरा । ८६० भन्दा बढी प्रजातिका चराको वासस्थान हो, नेपाल ।
वनस्पतिगत विविधताका दृष्टिले पनि नेपाल निकै धनी छ । विश्वको कुल क्षेत्रफलको ०.१ प्रतिशत अंशमात्र ओगटेको नेपाल जैविक विविधतका दृष्टिले त्यो भन्दा धेरै अंश ओगटन सफल छ । भनिन्छ, संसारमा पाईने फूल फूल्ने प्रजातिका विरुवा मध्ये झण्डै ३ प्रतिशत विरुवा नेपालमा पाईन्छ । यसैगरी स्तनधारी वन्यजन्तुका ४.५ प्रतिशत प्रजाति नेपालमा पाईन्छन् । आकाशमा सबैभन्दा बढी उचाईमा उड्ने खोया हाँस, सबैभन्दा अग्लो भूभागमा फल्ने मार्सी धान नेपालमा पाईन्छन् । यतिमात्र होइन्, ससारकै सबैभन्दा विषालु सर्प मध्येको राज गोमन पनि नेपालमा पाईन्छ । १८० प्रजातिभन्दा बढी प्रजातिका माछाको वासस्थान पनि नेपाल हो । उड्न सक्ने तथा १.६ मिटर सम्म उचाईको हुने अनि उचाईका हिसाबले संसारकै अग्लो सारस पनि हामी कहाँ नै पाईन्छ । यतिमात्रले नेपालको जैविक विधिताको वयान गरेर पुग्दैन र यो आलेखमा त्यो अट्ने सम्भावना पनि छैन । तथापि केही उल्लेख गर्नैपर्ने हुन्छ । संसारकै सबैभन्दा ठूलो नायन भेडाको वासस्थान नेपाल हो भने विश्वको सबैभन्दा ठूलो गौरी गाई पनि नेपालमा नै पाईन्छ ।
तर पछिल्लो समय जैविक विविधता संरक्षण विश्व मानव समुदायका लागि चुनौति बन्दै आएको छ । विश्वव्यापी जलवायु परिवर्तन, जीव तथा वनस्पति जगतमा देखा परेका आक्रामक प्रजातिहरु, मानिसले आफ्नो क्षणिक फाईदाका लागि गर्ने गरेको प्रकृतिका अधिक दोहन, बढ्दो जनसंख्या र यसका कराण बढ्दै गएको प्रदुषण तथा सहरीकरण आदिका कारण जैविक विविधता संरक्षणमा चुनौति उत्पन्न भएको छ । तर जैविक विविधता संरक्षणका लागि आवश्यक कदम चाल्न अब ढिला गर्न हुने अवस्था भने छैन । र यो कुनै एक देशको सरकार वा नागरिक समुदायको प्रयत्न मात्रले सम्भव छैन । यसमा त विश्वका प्रत्येक देश र त्यहाँका नागरिकको समान सहभागिता को आवश्यकता छ ।
मानिसले आफ्नो अस्तित्व रक्षाका अतिरिक्त पछिल्लो समय पर्यटनको माध्यमबाट आय आर्जन गर्न पनि जैविक विविधतको संरक्षण जरुरी भएको छ । त्यसैले जैविक विविधताको संरक्षण अब मानिसको जीवनका अतिरिक्त आर्थिक विकासको पक्षसंग पनि जोडिएर आएको सत्यलाई मनन गर्दै हामी सबै जैविक विविधताको संरक्षणमा लाग्न सके विश्व मानव जगतका भलो हुनेछ ।
जीवन र जैविक विविधता
previous post