पृष्ठभूमिः
हामीहरुको व्यवहार, प्रचलन, चलिआएको सामाजिक मान्यताका आधारमै कानून बनेका हुन्छन् । त्यो हाम्रो व्यवहार, प्रचलन र चलिआएको सामाजिक मान्यतामा कहिकतैबाट अवरोध नहोस् भन्ने सुरक्षाको प्रत्याभूतिका लागि कानून बन्दछ । पहूँचवालाले अन्यथा व्याख्या गरी निर्वल असक्षम वा निमुखाजनहरुलाई प्रचलन र चलिआएको मान्यताको आधारमा पाउने भोगचलनमा अवरोध गर्ने हुँदा यस्ता कानूनको आवश्यक परेको हो । अझै पनि समाजमा ‘बलियाको पानी मास्तिर बग्छ’ भन्ने उखान पनि चलिआएकै छ । यसै सन्दर्भमा मुलुकी ऐनलाई विस्थापित गरेर आएको संहिताले जग्गा आवाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्थालाई कसरी कानूनको दायरामा ल्याएको छ भन्ने सन्दर्भमा सम्बद्धजनको जिज्ञासा बढाउने गरी यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
अर्काको जग्गाबाट कूलो बनाउन दिनुपर्नेः
कसैले जग्गा आवाद गर्ने प्रयोजनका लागि कूलो निर्माण गर्न लागेको ठाउँमा अरु कसैको नाउँको दर्ता जग्गा परेपनि कूलो बनाउनेले मागेमा जग्गा धनिले उपयुक्त ठह¥याएको ठाउँबाट जग्गा दिनु पर्नेछ । यसरी अर्काको नाउँको जग्गाबाट कूलो बनाउन पाए वापत कूलो बनाउने पक्षले जग्गावालाको प्रचलित मूल्य बमोजिमको रकम वा मनासिब क्षतिपूर्ति सम्बन्धित जग्गाधनिलाई दिनुपर्ने कानूनी व्यवस्था छ । तर सार्वजनिक जग्गाबाट कूलो बनाएको हकमा सट्टा जग्गा दिन वा जग्गाको मूल्य वा क्षतिपूर्ति दिनुनपर्ने गरी कानूनले छुट दिलाएको छ ।
नदी बा खोलाको पानीको प्रयोगः
नदी वा खोलाको सम्पूर्ण पानी तल्लो तटबर्ती जग्गाधनीले प्रयोग गर्न नपाउने गरी प्रयोग गर्न वा उपयोगमा ल्याउने नपाउने गरी कानूनले रोक लगाएको छ । आफ्नै जग्गाबाट निस्केको पानी भएपनि त्यसरी प्रयोग गर्न नपाउने कानूनी व्यवस्था छ । कानूनले स्पष्ट भनेको छ कि नदी वा खोलामा रहेका जलचर बाँच्न नसक्ने गरी वा पर्यावरणमा प्रतिकूल हुने गरी प्रयोग गर्न पाउने छैन । यो कानून व्यक्तिलाई मात्र होइन राज्यलाई समेत लागू हुन्छ ।
सिञ्चित खेतलाई असर पार्न नहुनेः
कूलो पानीको झगडा हामी कहाँ चलिआएको विषय हो । मुद्धा मामिलाको विषयमा पनि चलिआएको हो । जग्गाको भोगचलनको दृष्टिले चलि आएको कूलोको बाँध भन्दा माथि नयाँ कूलो बनाउनको लागि कानूनले सीमा बन्देज लगाएको छ । जस्तो सिञ्चित खेतलाई असर पर्ने गरी पुरानो बाँध भन्दा माथि अर्को बाँध लगाएर नयाँ कूलो बनाउन कानूनले रोक लगाएको छ । कानूनमा प्रयोग गरिएको शब्दले भन्दछ कि सिञ्चित खेतमा पानी सारभूत रुपमा कम हुने गरी त्यस भन्दा माथि नयाँ कूलो बनाउन पाउने छैन ।
पानीको उपयोग र बाँडफाँडः
कूलोको पानीको उपयोग र बाँडफाँड कूलो बनाउनको लागि कसैले व्यक्तिगत रुपमा श्रम र खर्च गरेको छ भने सोही व्यक्तिले आफ्नो जग्गा आवाद गर्न पानीको उपयोग गर्न पहिलो प्राथमिकता पाउँदछ । तर परापूर्वदेखि भागबण्डा बमोजिम पानीको प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरुले प्रचलित भागबण्डा बमोजिम नै पानीको उपयोग गर्न सक्नेछन् । नयाँ कूलोको हकमा बनाउनेलाई पुगेपछि भने अन्य व्यक्तिले सो पानीको उपयोग गर्न पाउने कानूनी व्यवस्था छ । साथै कसैले बढी भएको पानी पुछारको रुपमा आफ्नो जग्गामा फालेको अवस्थामा त्यस्तो पानीको उपयोग गर्नका लागि जग्गाधनीको अनुमति लिईरहनु नपर्ने व्यवस्था छ । त्यस्तो पानीको उपयोग गरेवापतमा कुनै दावी नलाग्ने गरी कानूनले स्पष्ट बोलेको छ ।
पानीको उपयोग गर्न नपाउनेः
कूलोमा श्रम वा खर्च नगर्नेले पानीको उपयोग गर्न नपाउने कानूनी व्यवस्था छ । नयाँ कूलो बनाउँदाको हकमा त स्वभाविक नै भयो । साविकदेखिको पुरानो कूलो मर्मत सम्भार गर्दा त्यस्तो कूलोको पानी उपयोग गर्ने सबै मोहीहरुले आफ्नो जग्गाको अनुपातमा आवश्यक श्रम वा खर्च गर्नुपर्ने कानूनी व्यवस्था छ ।
सहमति बमोजिम गर्न सकिनेः
कूलो बनाउने वा पानीको उपयोग गर्ने सम्बन्धमा भएको आपसी सहमति बमोजिम गर्नलाई कानूनमा भएको कुनै व्यवस्थाले बाधा नपार्ने कुरा कानूनले स्पष्ट खुलाएको छ ।
साँधको जग्गाको आवादः
नदी वा खोलाको कटानमा परी नदी वा खोला बगेको ठाउँ पछि नदी वा खोलाले छाडेको अवस्थामा जग्गावालाले भोगचलन गर्न पाउँदछ । साँध परेको वा खोलाले वारी पारेको भन्ने आधारमा कसैले पनि अन्य व्यक्तिको दर्तामा रहेको जग्गा भोगचलन गर्न पाउने छैन ।
निष्कर्षः
अरुको अधिकारमा आघात नपर्ने गरी आफ्नो अधिकारको उपयोग गर्नमा कानूनले बन्देज लगाउन सक्दैन । जग्गा आवादका सम्बन्धमा पनि अरुको अधिकारमा आघात नपर्ने गरी आफ्नो हकभोग दर्ताको जग्गा भोगचलन गर्नलाई कसैले बाधा पु¥याउन सक्दैन । कानूनको सबैले सम्मान गर्नु पर्दछ । कसैले जग्गा आवाद, भोग चलन र दर्ताका सम्बन्धमा प्रचलित कानूनको बर्खिलाप काम गरेमा हक पुग्नेले थाहा पाएको मितिले छ महिनाभित्रमा आफ्नो हक अधिकार प्रचलनका लागि न्यायको बाटो समाउन सक्दछ । न्यायीक उपचारबाट आफ्नो हक अधिकार प्रचलन गराउन हरकसैलाई कानूनी सहयोग गर्दछ ।