नेपाली कांग्रेसले एक महिने जागरण अभियान जेठ २५ मा सम्पन्न गरेको छ । अभियान सुरु गर्नु अगाडि कांग्रेस नेता कार्यकर्तामा जुन उत्साह थियो, यो एक महिने अभियानले त्यसलाई पूर्ण गर्न भने सकेको देखिएन । नेपालको संविधान र नेपाली कांग्रेसो विधानले व्यवस्था गरे बमोजिमका पार्टी संरचनाहरु नबनेका कारण कार्यकर्तामा अन्योल थियो । अभियान सञ्चालन गर्न आफ्नो घर आगनमा आएका नेताहरुलाई कार्यकर्ता र शुभेच्छुकले विभिन्न प्रश्न गरेर आच्छुआच्छु बनाए । प्रश्न थिए, किन पार्टी विधान अनुकुल नचलेको ? किन नेताहरु सिंगो कांग्रेसको नेता बन्न छोडेर कुनै गुटको नेतामात्र बन्ने ध्याउन्नमा लागेका ? सरकार स्वेच्छाचारी ढंगले जनभावना विपरितका कानुन निर्माणमा लागि रहँदा कांग्रेसले किन प्रतिवाद गर्न नसकेको ? राज्य संघिय संरचनामा गईसक्दा नेपाली कांग्रेसको पार्टी संरचना भने सो अनुकुल किन नबनाएको ? आदि आदि । गएको संघ तथा प्रदेश र स्थानीय तहको निर्वाचनमा नमिठो पराजय व्यहोरेको कांग्रेसलाई फुर्सदका समयमा सशक्त पार्टी बनाउन नेताहरु लागि पर्छन्, आवश्यक पार्टी संरचनाहरु निर्माण गर्छन् भन्ने विश्वासमा रहेका कार्यकर्ताको प्रश्नको घेरामा नेताहरु पर्नु अस्वाभाविक पनि होइन ।
विभिन्न जिल्ला घुमेर आएका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानको प्रथम चरणको समापनसंगै पत्रकार सम्मेलन गरेर अभियानको दास्रो चरण प्रारम्भ हुनु अगावै स्थानीय, निर्वाचन क्षेत्रगत तथा प्रदेशगत संरचना निर्माण गर्ने बताए । तर ती संरचना कस्ता हुने वा संरचना निर्माण कसरी गर्ने भन्ने बहस कांग्रेसमा अब सुरु भएको छ । कतिपय नेताहरु छोटो समयका लागि भएकाले आपसी सहमतीमा ति निकाय निर्माण गर्नुपर्छ भन्नेमा छन् भने कतिपय नेताहरु अब पनि मनोनयनको खेलमा लागेर नेताले आफु बलियो बन्ने ध्याउन्न राख्ने हो भने व्यक्ति त बलियो होला तर पार्टी सकिन्छ, भन्ने विचारमा छन् ।
देउवा पक्षिय नेता प्रकाशशरण महत संघिय संरचनाको नेतृत्व चयन सहमतिमा हुने बताईरहँदा तदर्थ समिति बनाए कांग्रेस झन कमजोर हुने निष्कर्षका डा. शेखर कोइराला पुगेका छन् । कोइरालाको बुझाइमा देउवा तदर्थ समिति बनाएर आफु बलियो हुने दाउमा रहेको र यो विधान विपरित कार्य भएकाले यसले पार्टीलाई झन कमजोर बनाउने छ । हुन पनि संस्थापन पक्ष अर्थात देउवा पक्ष तदर्थ समिति बनाउँदा आफु बलियो भइने र आगामि महाधिवेशनमा पार्टी सत्ता हत्याउन सजिलो हुने निष्कर्षमा छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत संस्थापन इतर पक्षका नेताहरु भने पार्टीलाई सजिव राख्ने हो भने जन अनुमोदित संरचना बनाएर जानु पर्ने अडानमा छ । पौडेल वा सिटौला पक्षधरहरु भने निर्वाचित संरचना निर्माण गर्दा आफुहरुलाई फाइदा पुग्ने निष्कर्षमा रहेकाले यस्तो अडानमा रहेका छन् ।
समय अभाव भएको वहाना बनाएर पार्टीलाई टिके प्रथामा अगाडि बढाउन खोज्नुको अर्थ कोइरालाले भने झै पार्टीलाई अझ कमजोर बनाउनु हुनेछ । आफुलाई प्रजातान्त्रिक पार्टी भन्ने तर आचरण भने त्यसको प्रतिकूल गर्ने कार्यले कांग्रेसको संगठन थप कमजोर हुने हो कि भन्ने आम कार्यकर्ताको चिन्तालाई नेतृत्वले मनन गरोस् । देउवा वा अन्य जो कोहीले जिते पनि कांग्रेसले नै जित्ने हो भनेर सोच्न सक्दा पार्टीको भलो होला ।