विधानलाई समानुपातिक र समावेशी चरित्रको बनाउन नेतृत्वलाई जबरजस्त दवाव सृजना गर्न सक्षम युवा नेतृत्वको काँधका यसको सहि कार्यान्वयनका लागि निरन्तर दवाव दिइरहने र कार्यान्वयनमा केन्द्रिय नेतृत्वले गर्ने आनाकानीलाई सून्यमा झार्ने दायित्व पनि आएको छ ।
नेपाली कांग्रेसको महासमिति बैठक आइतबार सकिएको छ । महाधिवेशन भएको वर्ष बाहेक प्रत्येक वर्ष हुनुपर्ने बैठक तीन वर्ष पछि सम्पन्न भएको हो। मिनी महाधिवेशन भनिने महासमिति बैठकले नेपाली कांग्रेसलाई संघिय संरचनामा मात्र लगेन संविधानले प्रत्याभूत गरेको समावेशीतालाई समेत आत्मसाथ गरेर आफुलाई फेरी एक पटक साँच्चिकै प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली नागरिक माझ प्रस्तुत गरेको छ । तर जनता र कार्यकर्ताका कुरा सुन्न छाडेको कांग्रेस नेतृत्वले नयाँ विधानलाई कार्यान्वयनको तहमा कसरी लैजान्छ भन्ने प्रश्न भने अनुत्तरित नै छ । कांग्रेस नेता मनमोहन भट्टराईको भाषामा पार्टीका विद्यमान मतभेद र गुट–उपगुट अन्त्य भएको उद्घोषसहित महासमिति बैठक सकिएको छ । पाँच दिनमा सक्ने भनिएको बैठक मूलतः विधानमा सहमति नहूँदा नौ दिन सम्म चल्यो । संस्थापन पक्ष केन्द्रिय समितिमा सभापतिले मनोनित गर्न पाउने पदाधिकारी तथा सदस्यको संख्या धेरै राख्न खोज्ने तर पौडेल पक्षधरले सबै पदाधिकारी निर्वाचित हुनु पर्ने अडान राख्दा विधानमा सहमति हुन समय लाग्यो । लामो रस्साकस्सी पछि विधानमा सहमति भयो । उद्घाटन शत्रमा पक्ष विपक्षमा बाँडिएर परस्पर बाझाबाझ गरेका नेता समापनमा भने बडो हार्दिकता पूर्वक देखापरे र महासमितिमा सहभागिमा उत्साहको सञ्चार गराए ।
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य नारा सहित सुरु भएको महासमितिले ढीलै भएपनि बैठकमा सहभागिमा आशाको सञ्चार गरायो । किनभने सहभागिहरुको चर्काे दवाव पछि नै १४ सदस्य सम्मिलित हुने पदाधिकारीमा निर्वाचित सदस्यहरु मध्येबाट कोषाध्यक्ष मात्र सभापतिले मनोनित गर्ने र २० प्रतिशत केन्द्रिय सदस्यमात्र मनोनित गर्ने विधान तयार भई पारित भएको छ । यतिमात्र होइन, सैविधानले व्यवस्था गरेको समावेशी क्लस्टर अनुसार सहमहामन्त्री अर्थात् पदाधिकारीमा सहभागिता रहने व्यवस्था सहितको विधान पारित भएको छ अनि महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित भएको छ । यो संगै संसदमा प्रतिपक्ष नभएको अनुभव गरेका आम नागरिकले अब प्रतिपक्ष भएको अनुभव गर्न पाउने भएका छन् किनभने जनजिविकाका पक्षमा आवाज उठाउन संसद र सडकमा समेत सरकारले गरेका गलत काम विरुद्ध उत्रने घोषणा सहित पन्ध्र बुँदे विरोध पत्रसमेत कांग्रेसले तयार पारको छ । अनि गुट गत राजनीतिमा मस्त नेतृत्व विरुद्ध युवा पुस्ताले धावा बोलेको छ । महासमिति बैठकका क्रममा आफ्नो पक्ष बालियो बनाउने दाउमा लिप्त नेतृत्वलाई युवा पुस्ताले जसरी अडानबाट पछि हट्न र सहमतिमा आउन वाध्य पारे यसले एउटा सकारात्मक सन्देश दिएको छ र त्यो हो अब नेतृत्वको मनोमानी चल्ने छैन । झण्डै दुई सय सहभागिले बोल्नका लागि पाएको चार मिनेट समयमा पनि नेतृत्वको गलत क्रियाकलापको खुलेर आलोचना गरे । युवा नेता भट्टराईका अनुसार अब नेताको चाहनाले मात्र पार्टी विगतमा जसरी हिड्न सक्दैन, जसरी यसअघि हिँडिरहेको थियो । अब आफुलाई सदाबहार नेता भन्नेहरु लामो समयसम्म पार्टीमा रहिरहन्छु र यसैगरी चलिनै रहन्छ भन्ने धारणाबाट मुक्त हुन सक्नुपर्छ । दललाई भन्दा पनि आफु र गुटलाई केन्द्रमा राख्ने अनि जवाफदेही बन्नु नपर्र्ने पद्धतिको विकास पार्टीमा भएको भन्दै अर्का युवा नेता गगन थापा भन्छन् – कांग्रेस पद्धतिमा आधारित पार्टीका रुपमा स्थापित हुन सकेन भने ठूलो समस्यामा पर्छ । अब नेतृत्वले आफ्नो अनूकुल पार्टी चलाउन खोज्नु भनेको दललाई दुर्घटनामा पार्नु हो । पार्टी अब पद्धतिका आधारमा चल्छ। पहिले जस्तो एक टावरले थिचेर पार्टी चल्ने अवस्था छैन । दल भित्र एकसे एक टावरहरु निस्किसकेका छन्, ती अधिकांश पद्धतिलाई विश्वास गर्छन् । भट्टराई र थापाका कुरालाई आधार मान्ने हो भने पनि नेतृत्वले गलत बाटो अख्तियार गर्दा पहिले जस्तो चुपचाप बस्ने मुडका युवा पुस्ता देखिएको छैन । जसको प्रतिविम्ब महासमितिको बैठकका बेला समेत अधिकांश सहभागिको व्यवहारमा देखिन्थ्यो । महासमिति बैठक लम्बिदै जाँदा कतिपय महासमिति सदस्य कांग्रेस कहिल्यै सुध्रँदैन भनेर घर फर्के तर युवा नेताहरु काठमाण्डौंको गहिरिदो चिसोको वास्ता नगरी नेतृत्वलाई यथाशिघ्र, समयानूकुल र संविधान सम्मत विधान ल्याउन अनि पारित गर्न दवाव दिँदै वसिरहे । अन्ततः उनीहरुको अडानले सार्थकता पायो र कांग्रेस नेपालमा अहिले क्रियाशिल राजनैतिक दलहरु मध्ये सबैभन्दा समावेशी र लोकतान्त्रिक दल बन्ने मार्ग उन्मूख भएको छ ।
नेपाली कांग्रेसको आइतवार महासमितिको दुइ तिहाइबाट पारित विधान अनुसार अब कांग्रेसको केन्द्रिय समिति सभापति सहति एक सय ६८ सदस्यको हुने छ । एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र आठ सह–महामन्त्री समावेशी क्लस्टर अनुसार महाधिवेशनबाट निर्वाचित हुने छन् भने, निर्वाचित सदस्य मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनित गर्ने छन् । सह–महामन्त्रीमा महिला–१, आदिवासी जनजाति– १, थारु –१, मधेशी –१, दलित–१, मुस्लिम–१, खसआर्य–१, पिछडा क्षेत्र–१ निर्वाचित हुने छन् । यसैगरी खुल्ला सदस्य ३५ निर्वाचित हुने छन् । प्रत्येक प्रदेशबाट एक महिला अनिवार्य पर्ने गरी तीन सदस्य निर्वाचित हुनेछन् भने समावेशी क्लस्तरमा ९ महिला, ७ महिलासहित १५ आदिवासी जनजाति, २ महिलासहित ४ थारु, ४ महिलासहित ९ मधेशी, ४ महिलासहित ९ दलित, १ महिलासहित ३ मुस्लिम, ६ महिलासहित १३ खसआर्य , पिछडा क्षेत्र १ गरी ६३ केन्द्रिय सदस्य निर्वाचनमार्फत आउने छन् । अन्य तर्फ अल्पसंख्यक १ र अपांग १ पनि निर्वाचित हुनेछन् । सभापतिले मनोनित गर्ने ३३ सदस्यमा पनि एक तिहाई महिला हुनुपर्ने छ भने समानुपातिक समावेशी सिद्धान्त, अपांगता र पिछडावर्गलाई ध्यानमा राख्नुपर्ने भनिएको छ । विधानलाई समानुपातिक र समावेशी चरित्रको बनाउन नेतृत्वलाई जबरजस्त दवाव सृजना गर्न सक्षम युवा नेतृत्वको काँधका यसको सहि कार्यान्वयनका लागि निरन्तर दवाव दिइरहने र कार्यान्वयनमा केन्द्रिय नेतृत्वले गर्ने आनाकानीलाई शून्यमा झार्ने दायित्व अब फेरी युवा नेताहरुको काँधमा आएको छ ।
नयाँ विधान अनुसार अब नेपाली कांग्रेसको प्रदेश कार्यसमिति ९ पदाधिकारी सहितको हुनेछ । यसैगरी ८ पदाधिकारी सहितको जिल्लाकार्य समित, ८ पदाधिकारी सहितको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, ८ पदाधिकारी सहितको प्रदेशसभा क्षेत्रीय कार्यसमिति, ८ पदाधिकारी सहितको गाउँ, नगर, उपमहानगर तथा महानगर कार्य समिति तथा महानगरमा ४४ सदस्यीय वडा कार्यसमिति, उपमहानगरमा ३८ सदस्य , नगरमा ३२ र गाउँपालिकामा २५ सदस्यीय वडाकार्य समिति र ११ सदस्यीय टोल समिति बन्ने छन् । समावेशी र जनसंख्याका आधारमा समानुपातिक कार्यसमिति निर्माण गर्ने यो व्यवस्थाले गाउँ गाउँका मतदातामा कांग्रेसप्रतिको चासो बढ्ने छ । तर विधानको यो व्यवस्थाले मात्र जनमत आफुतिर आकर्षित हुन्छ र आगामी दिनमा पार्टी संगठन बलियो हुन्छ भनेर बस्ने अवस्था भने रहँदैन । महासमित सदस्य वा महाधिवेशन प्रतिनिधिहरुले अब गाउँ गाउँ गएर विधानको व्यवस्थालाई बुझाउने र वर्तमान सरकारका कमिकमजोरीलाई नागरिकसामु उजागर गर्नै पर्छ । महासमिति सदस्यहरुमा पलाएको विश्वास र उत्साहलाई कायम राख्न केन्द्रिय नेतृत्वले पनि सक्रिय हुनु जरुरी छ । महासमिति बैठक समापनका बखत नेतृत्मा देखिएको एकता र हार्दिकता कायम रहोस् र आगामी दिनमा कांग्रेस सशक्त बनेर आओस्, लोकतन्त्रवादी सबैको यही चाहना छ ।