विशेषसम्वाददाता/
नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई यस पटक भिन्न तरिकाले सम्झ्यो ।
संस्थापक नेता बीपी कोइरालाको ११० आंै जन्म जयन्ती कांग्रेसले देशभर वितेका वर्षहरुमा भन्दा भिन्न कार्यक्रमहरु आयोजना गरेर मनायो । यस वर्ष जिल्लाहरुमा रक्तदान तथा बीपीको साहित्यिक तथा राजनैतिक योगदानबारे चर्चा गरेर कांग्रेसजनले आफ्ना संस्थापक नेतालाई सम्झिए ।
कांग्रेस केन्द्रले भने बीपी साहित्य महोत्सव भनेर भदौ २४, २५ र २६ गतेका लागि भिन्न भिन्न कार्यक्रम तय गरेको थियो । २६ गतेको कार्यक्रम पूर्व सभामुख एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भयो । अघिल्ला दुइ दिनका कार्यक्रम सम्पन्न भए ।
महोत्सवको पहिलो दिनको आकर्षण थियो, हाइज्याकिङ अफ डेमोक्रेसी नामक चलचित्र । २०१७ साल पुष १ मा नेपालमा प्रजातन्त्रको कसरी अपहरण भयो भन्ने विषय समेटिएको चलचित्र धेरैको आकर्षण थियो । यसैगरी बिपीको साहित्य सिर्जना र जीवन दर्शन शिर्षकमा साहित्यकार अभि सुवेदीको प्रस्तुती तथा बिपीका दृष्टिमा बीपी शीर्षकमा भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, राजनैतिक विश्लेषक सिके लाल लगाएतका बक्ताको प्रस्तुती रहेको थियो ।
बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य लगाएतका विषयमा विभिन्न विद्वान र साहित्यकारका विचारहरु प्रस्ततु गरिएका थिए ।
महोत्सवको दोस्रो दिन वीर गणेशमान चलचित्रबाट प्रारम्भ भएको थियो । पाँच सत्रमा विभाजित बीपी साहित्य महोत्सवको दोस्रो दिनको दोस्रो सत्रमा बीपीले नपाएका १५ वर्ष शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले तथा मञ्चला झाको प्रस्तुती रहेको
थियो । बिपीको आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी तथा युवा स्रष्टामा बीपी पठन शीर्षकका सत्रहरु नयनराज पाण्डे, बुद्धिसागर, सरस्वती प्रतिक्ष तथा सुविन भट्टराई जस्ता लोकप्रिया साहित्यकारको प्रस्तुतीका कारण आकर्षक रहे ।
गत वर्षहरुमा असाध्यै कर्मकाण्डी तरिकाले बिपीलाई सम्झने कांग्रेसले यस पटक भिन्न तरिकाले सम्झँदा लोकतन्त्रका पक्षधरहरुको मन प्रफुल्लित भएको छ । किनभने बीपीको तस्वीर नचिनेर यो कुन बुढाको तस्विर हो ? भनेर महाधिवेशन प्रतिनिधि बनेर गएको व्यक्तिले सोध्ने अवस्थामा पुगेको कांग्रेसले अब बीपी भित्रको बहुआयामिक व्यक्तित्वलाई जनजनमा लैजाने प्रयत्नको थालनी यस पटक गरेको छ ।