केहीवर्ष अगाडि पहाडहरुको रानी भनेर चिनिने भारतको सुन्दर नगरी दार्जीलिङ पुग्दा तीनजनाको समूहमा रहेको मेरो भ्रमण टोलीलाई प्राप्त न्यानो आतिथ्यले पुलकित तुल्याएको थियो । कंक्रिट जंगलमा रुपान्तारित दार्जीलिङको भिडभाड पूर्ण वातावरणले रानीको सान गुमाउदैै गएको प्रतित हुन्थ्यो । भौतिक रुपमा जे भए पनि दार्जीलिङ बासीको मन भने रानीनै रहेछ, तीन दिनको दार्जीलिङ बसाईले हामीलाई यस्तै अनुभूत गरायो । गोरो छाला भएका अग्लो कदका मानिस (कुइरे) देख्नासाथ पैसाका लागि हात फैलाउने संस्कारमा हुर्केका हामीले त्यहाँ पर्यटकका पछाडि हात फैलाउदै पछ्याउने भिड देखेनौं बरु पायौं न्यानो आतिथ्य । सम्भवतः पर्यटक प्रवद्र्घनमा त्यो पनि एउटा मनोवैज्ञानिक कारक हो । दार्जीलिङको चौरस्ता चोक जहाँ हाम्रा आदिकवि भानुभक्तको पूर्णकदको शालीक छ, लाई घोडा चढेर फन्को मार्दा प्राप्तहुने सुखद अनुभूतिलाई अभिब्यक्त गर्ने शब्द मसंग छैन । तर पराइभूमिमा नेपाली भाषाका पृथ्वीनाराणको पूर्णकदको शालीक देख्दा हामी सांच्चै खुसी भएका थियौं ।
तीहारका बेला दार्जीलिङ पुगेका हामी दार्जीलिङ बासीको नेपाली भाषा एवं संस्कृति प्रेम अनि पर्यटन प्रवद्र्घनमा उनीहरुले देखाएको चतु¥याइँले निकै प्रभावित भएका थियौँ । सूर्योदयको मनमोहक दृश्य देखिने अग्लो डाँडोलाई टाइगर हिल अनि सडक छेउमा उभिएको भिमकाय ढुंगोलाई तेन्जिङ रक नाम दिएर रानीको सान गुमाउदैं गएको दार्जीलिङलाई आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाइराख्न दार्जीलिङ बासीले देखाएको चतु¥याइँको प्रसंसा गर्नैपर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही तेन्जिङ शेर्पाले आरोहण अभ्यास गरेको भनेर प्रचारित तेन्जिङ रक देख्दा सधै भिर पाखेरा चाहर्दै सयौं त्यस्ता ढुंंगा चढेर थकित हामी पनि तोकिएको शुल्क तिरेर उत्साह पूर्वक सगरमाथा चढ्ने अभ्यासमा लागेथ्यौं, तेन्जिङ बन्ने सपना संगाल्दै । तीनदिन सम्मका प्रितिकर क्षणहरुलाई स्मृतिका पानामा अंकित गरेर अवसर मिलेमा पुनः भेट्ने वाचा ग¥यौं, दार्जीलिङसंग र हात हल्लाएर भ्रमणको बीट मा¥यौं ।
मैले यहाँ दार्जीलिङ्ग भ्रमणको सन्दर्भ किन उठाएको भने आम सहरियाहरुले कछार भनेर पुकार्ने ऋषिङमा दार्जीलिङ्गमा जस्तै र अझ धेरै पर्यटकिय सम्भावना छ । साथीहरुसंगको बसाइमा कहिलेकाहिं जब स्मृतिका पानाहरु पल्टन्छन् र टाईगर हिल अनि तेन्जिङ रकको चर्चा हुन्छ । चर्चामा सामेल हुदैगर्दा ऋषिङमै जीवनको अधिकांश समय विताएको म सम्झन्छ, हामीसंग भएका थुप्रै तेन्जिङ रक, टाइगर हिल । रिसिङ क्षेत्रमा रक कलाइम्बिङका लागि उपयुक्त हुने थुप्रै तेन्जिङ रकहरु छन् । तर यातायातको असुविधा, प्रचार–प्रसारको अभाव एवं पूर्वधारको अभावका कारण ति डरलाग्दा पहरामा सिमित छन् ।यतिमात्र होइन, सूर्योदयको अत्यन्त आकर्षक दृश्य देखिने गढी डाँडो पनि रिसिङमा छ । दार्जीलिङको टाइगर हिल पुगेर सूर्योदयको दृश्य हेरेर आएपछि म फेरी गढी डाँडोमा चढेर सूर्याेदयको दृश्य हरें । टाइगर हिलबाट भन्दा राम्रो सूर्यदयको दृश्य गढी डाँडोबाट पो देखिने रहेछ । गढीबाट देखिने अन्नपूर्ण, माछापुच्छ«े,धौलागिरी लगाएतका दर्जनबढी हिमशिखरको मनमोहक दृश्यले कसलाई पो नलोभ्याउला र ? चितवनको चारकोशे झाडीको मनमोहक दृश्यको समेत अवलोकन गर्न पाइने गढीबाट नवलपरासीको उत्तरीभागका अधिकांश क्षेत्र र तनहूँको अधिकांश भागको दृश्यावलोकन गर्न पाईन्छ । धार्मिक एवं सांस्कृतिक र ग्रामिण पर्यटनका लागि आकर्षक गन्तव्यको रुपमा ऋषिङलाई विकास गर्न सकिने प्रसस्त सम्भावना रहेका छन् । श्रृङ्ग ऋषिको तपस्यास्थलका रुपमा रिसिङलाई चिनाउन सके हिन्दुधर्मावलम्वी, पर्यटकहरुको घुईचो लाग्छ । यतिमात्र होइन, वडा नं ५ मा रहेका गडगेश्वर महादेवको मन्दिर, वडा नं ८ मै रहेको बौद्ध गुम्बा, कल्याणदेवी, अकलादेवी, कदमपानी देवी, ज्यामिरे माई लागाएतका विषयमा आवश्यक प्रचार प्रसार गर्न सक्दा धार्मीक पर्यटनको विकास हुनेछ । श्रृङ्ग ऋषिको तपस्थल र अजम्मरी कुण्ड पुग्दा प्राप्त हुने आत्मिक शान्ति शब्दमा उल्लेख गर्न सम्भव छैन । पाण्डु पुत्र अर्जुनले बनाएको भनि विश्वसा गरिने अजम्मरी कुण्डमा नुहाए दीर्घजीवि भइन्छ भन्ने विश्वास यहाँ रहेको छ ।
मगर समुदायको बाहुल्य रहेको रिसिङ क्षेत्र मगर समुदायको सभ्यता र संस्कृति बारे चाख राख्नेहरुका लागि शैक्षिक पर्यटनको उपयुक्त गन्तब्य हो भन्दा अत्युक्ति हुदैन । पहिलो कुरा त, मगर समुदायको सांस्कृतिक नृत्य कौराको उद्गम थलो ऋषिङ हो भने सोही समुदायको बालुन, ब्राम्हण तथा क्षेत्री समुदायको चुड्का तथा हनुमान नृत्य आदि ऋषिङका परिचय हुन् । खास ऋषिङ नामले चिनिने वस्तीमा नेवार समुदायको परम्परागत वस्ती रहेको छ । न्यानो आतिथ्यका लागि नेवार समुदाय चर्चित नै छ र त्यो प्राप्त गर्न पनि ऋषिङ उपयुक्त थलो हो । यसका साथै पछिल्लो समय विकास भएको घरबास( होमस्टे ) लाई अबलम्बन गर्न सक्ने हो भने ऋषिङको पर्यटकिय सम्भावना बढेर जानेछ । काली नदी बहने क्रममा प्राकृतिक रुपमा बनेको अद्भुत दृश्यको घुुमारी घाट, श्रृङ्ग गुफा, रानी पोखरी, दुभुङकोट तथा दरबार, भिरकोट दरबार, कोटदरबार आदि ऋषिङका अन्य आकर्षण हुन् ।
ऋषिङले पर्यटनका पर्याप्त सम्भावना बोकेको कुरामा कुनै सन्देह रहेन तर उक्त सम्भावनालाई अवसरका रुपमा छोपेर फाइदा लिन भने चुकिरहेका छन् , ऋषिङे । शाहसिक पर्यटनमा चाख बढ्दै जाँदा बञ्जीका लागि उपयुक्त थुपै्र ठाउँहरु रिसिङमा छन् तर ऋषिङमा पर्यटनको विकास हुन सकिरहेको छैन । यसका लागि अबको आवश्यकता भनेको ऋषिङमा थोमस कुकको जन्मको हो । जसरी पर्यटनका पीता भनेर चिनिने थोमस कुकले विश्वमै सर्वप्रथम पर्यटनको संगठित सुरुवात गरे र पर्यटनलाई व्यवसायीक रुप दिए , त्यसरी नै रिसिङमा पर्यटनको सुरुवात र व्यवसायिक रुप दिने थोमस कुकको आवश्यकता छ ।