दमौली/आर्थिक सामाजिक विकासको पूर्वाधारको मर्म बोकेको सातौं तनहुँ महोत्सव आजबाट दमौलीमा शुभारम्भ हुँदैछ ।
पूर्व सभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख आतिथ्यतामा आजबाट शुरु हुने सातैं महोत्सव माघ ६ गतेसम्म रहने आयोजकले जनाएको छ ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा शुरु हुन लागेको यो महोत्सवको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई रहेको छ । प्रबद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवको संरक्षकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका रहेको कुरा आयोजकले जनाएको छ ।
महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रुपमा सफल पार्न ५६ वटा उपसमितिहरु गठन गरिएको छ । प्रचार संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष हरिबहादुर थापाले महोत्सवको आकर्षणको रुपमा हेलिकप्टरबाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको दृष्याबलोकन, एक रात होम स्टेक प्याकेज कार्यक्रम रहेको बताउनु भयो । उहाँले टुटेपानी, छिम्केश्वरी, दगाम भुजीकोट क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले तीन कन्सर्ट ल्याउने तयारी गरिएको बताउँदै कुटुम्ब व्याण्ड सहित दुई कन्सर्ट आउने निश्चि भैसकेको बताउनु भयो ।
राष्ट्रिय कलाकार समन्वय समिति संयोजक प्रकाशचन्द्र हड्खलेका अनुसार प्रत्येक दिनको लागि दुई÷तीन जना कलाकार सुनिश्चित गरिएको छ । पहिलो दिन आजको लागि वविता बानिया (जेरी) र ६० बर्षिय श्रीराम अधिकारी जोडदार प्रस्तुती रहनेछ ।