दमौली/तनहुँ समाज हङकङले मंगलबार एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पत्रकार प्रदीप काफ्लेले दिनुभएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिका–५ पतेनीका मृगौला पीडित २३ वर्षीय रुपेश नेपालीलाई सामाजले चार लाख ६० हजार आर्थिक सहयोग गरेर उपचारमा सहयोग गरेको छ । मंगलबार दमौलीमा पीडित युवकका बुबा रामबहादुर नेपालीलाई सहयोग नगद रकम हस्तान्तरण गरिएको हो । विभिन्न शिलशिलामा हङकङ पुगेका ४९ जना तनहुँङ्गेहरुले विगतमा जस्तै विरामीको उपचारमा सहयोग गर्दै आएको समाजले यस पटक मृगौला पीडितलाई सहयोग गर्ने भावनाले स्वतस्फूर्तमा संकलन गरेको रकम उपलब्ध गराएको समाजका सल्लाहकार कर्णबहादुर नेपाली बताउनु भयो । पीडितका पिता रामबहादुर नेपाली मार्फत सो आर्थिक सहयोग रकम सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे तथा तनहुँ समाज हङकङका पूर्व अध्यक्षद्वय जंगबहादुर थापा र भीमराज गुरुङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट विरामी रुपेश नेपालीको मृगौला प्रत्यारोपण गरिएको थियो । उनका पिता रामबहादुर नेपालीले आफ्नौ मृगौला दिएर छोराको जीवन बचाएका थिए ।
रकम हस्तान्तरणका क्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गैरेले गम्भिर प्रकृतिका रोग लागेका नागरिकको उपचारमा राज्यले पनि ठुलो राहत उपलब्ध गराउन नसकिरहेको अवस्थामा समाजले उल्लेखनीय योगदान गरेको बताए । समाजले सेवा गरि धेरै विपन्न परिवारको आशिवार्दसँगै जीवनभर आत्मसन्तुष्टि र आनन्द प्राप्त गर्ने काम गरिरहेको उनले चर्चा गरे । आफुहरुले दुखसुख गरि कमाएको रकम निम्न वर्गीय पविारको उपचारार्थ सहयोग गरि दुखको सारथी बन्न सफल भएको भन्दै उनले संस्थाप्रति आभार समेत व्यक्त गरे ।
समाजका पूर्व अध्यक्ष थापाले पीडित परिवारबाट प्राप्त निवेदनका आधारमा रकम संकलन गरि उपचारमा सहयोग गर्दै आएको बताए । “हाम्रो संस्थासँग धेरै जनाले सहयोगको अपिल गरिरहनु भएको हुन्छ, हामीले पीडितको अवस्था र हाम्रो क्षमता अनुसार निरन्तर सहयोग उपलब्ध गराउदै आएका छौँ”,उनले भने ।
साथै समाजका अर्का पूर्व अध्यक्ष भीमराज गुरुङ्गले हङकङमा रहेका तनहुँङ्गेहरुको एकताकै कारण ठुलो रकम संकलन गरि पीडितलाई राहत रकम उपलब्ध गराउन सफल भएको बताए । साथै प्राप्त रकमको सदुपयोग गर्न उनले पीडितका परिवारलाई आग्रह समेत गरे ।
समाजले १२ वर्ष देखि निरन्तर तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले अहिले हरेक २( ३ महिनाको अन्तरालमा गम्भिर प्रकुतिका रोगबाट पीडित बनेकाको उपचारमा सहयोग गर्दै आएको छ ।
तनहुँ समाज हङकङले हालसम्म ९ जना मृगौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ । यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ ।
समाजले ०७२ सालको भुकम्प पछीको पुननिर्माण,कोभिड नियन्त्रण र न्युनिकरण, जिल्लाको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार र पर्यटनका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
हङकङ समाजद्वारा मृगौला पीडितलाई सहयोग
previous post