पृष्टभूमिः
घरसारको लेनदेन गर्दा कानुन बमोजिमको रीत पु¥याउनु पर्दछ । हाम्रो घरयासी व्यवहारमा मूल धन लिँदा दिदा कपाली तमसुक बनाउने, मैनामारी व्याज खाने, तर त्यो व्यहोरा तमसुकमा नजनाउने गर्दा पछि अदालत जान पर्ने अवस्था आयो भने समस्या परेका धेरै उदाहरणहरु छन् । घरसारको लेनदेन नगरी पनि हुँदैन, गर्नैपरे लेनदेन कसरी गर्ने आमसरोकारको विषय हो ।
साँवाव्याज चुक्ता गरेमाः
साहू असामी बीच भएको कपाली तमसुक बमोजिमको साँवा र व्याज चुक्ता भएमा त्यस्तो तमसुक च्यात्ने चलन छ । तर कतिपय अवस्थामा ऋणीलाई त्यो कागज प्रमाणको रुपमा चाहिने भएमा साँवा व्याज असुल भएको व्यहोरा पीठमा जनाइ अर्थात प्रचलित भाषामा दरपीठ गरी ऋणीलाइ फिर्ता दिने चलन पनि चलिआएको छ ।
कपाली तमसुक फेला नपरेः
साँवा व्याज चुक्ता गर्ने समयमा शुरु लेनदेन व्यवहार भएको समयमा खडा गरिएको कपाली तमसुक फेला नपरेमा विश्वासमा परेर साँवाव्याज बुझाउने काम मात्रै गर्न अबका दिनमा हुँदैन । त्यो सत्ययुग समाप्त भएको छ । तमसुक फेला परेन भन्ने साहूले आफूले पाउनु पर्ने साँवा व्याज पाएपछि सोही व्यहोरा खोली लिखत दरपिठ गर्न फेला नपरेको हुँदा भनेर व्यहोरा खुलाएर ऋण असुली भएको भरपाई दिनु पर्दछ ।
व्याज मात्रै बुझाउँदाः
साहू असामी बीच साँवा बाँकी राखेर व्याज मात्रै बुझाउने अहिले चलन चल्तिमा रहेको व्यवहारिक पक्ष हो । यसरी व्याज मात्रै खाँदा पनि कसैले त्यो तमसुकमा दरपिठ गरेको पाइदैन । केहीले विश्वासमा त केहीले दरपिठ गर्न नमिलेर पनि दरपिठ हुन नसकेको अवस्था देखिन्छ ।
दरपिठ हुन नसक्ने अवस्थाः कानुनतः बार्षिक दश प्रतिशत भन्दा बढी व्याज लिन पाइदैन । वित्तिय संस्थालाई यो कानुन लागू हुँदैन । व्यक्तिका हकमा यहि कानुन लागू हुन्छ । तर व्यवहारमा मैनामारी २, ३ र ५ सम्म चलेको पाईन्छ । अझ पछिल्लो समयमा मिटरव्याज पनि चलेको पाईयो । यो अनुपातमा बार्षिक व्याज त २४, ३६, ६० प्रतिशत हुनजान्छ । कानुनको नजरमा यस खालको लेनदेन अवैध हुन्छ । दण्डनीय समेत हुन जान्छ । त्यसैले दरपिठ गर्न नमान्ने अवस्था रहन्छ ।
तमसुक विनैको लेनदेनः
कतिपय अवस्थामा त साहू असामी बीच कागज नभै व्याज चल्ने गरेका छन् । यो अवस्थामा त झनै दरपिठको अवस्था रहँदै नरहने भयो । विश्वासघात भएमा पैसा उठाउने डोवडाव नै रहँदैन ।
पछिल्लो प्रयोगः
पछिल्लो प्रयोग त साहू ठग्ने उद्देश्यले भएका सम्पत्ती सबै बेचेर सिध्याउने । अनि साहू दामाशाही गरी पाउँ भनि अदालतमा निवेदन दिने । लाखौं रुपयाँका साहूलाई लाखौं पैसा बाँडेर उन्मुक्ति लिने प्रयास गरेको पाइयो ।
निष्कर्षः
कानुनको आत्मा मार्ने गरी साँवा व्याजका असुली भुक्तानी कार्यान्वयनमा आउन
हुँदैन । साहू मार्ने प्रबृत्ति निरुत्साहित हुनु पर्दछ । असामी ठगिन पनि हुँदैन ।