विसं २०१५ सालको आमा निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । संसदिय व्यवस्थाको पहिलो प्रधानमन्त्री बीपी कोइराला बनेका थिए । अहिले तत्कालिन एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा कार्यगत एकता गरेर झण्डै दुइतिहाई हासिल गरेर सरकार बनाउन सक्षम भएका छन् । पछि पार्टी एकता भई नेकपा समेत भै सकेको छ । यसको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली बनेका छन् । सरकार प्रमुख र मन्त्रीहरुको भाषामा दुइतिहाइको दम्भ देखिने गरी प्रकट भएको छ । संसारमा नभएको एउटा पार्टीमा दुइवता अध्यक्ष भएको नेपालमा देख्न पाइएको छ । प्रजातन्त्र पुनः स्थापना पछि नेपाली कांग्रेसले दुई पटक बहुमत सहितको सरकार बनाउने अवसर पाएको थियो । आफ्नै पार्टी भित्रको कलहको कारणले कांग्रेसले जनताबाट प्राप्त विश्वासलाई कायम राख्न सकेन अर्थात पूर्ण अबधी काम गर्न पाएन । दुबै पटक प्रतिनिधि सभा विघटन भयो ।
२०५१ सालमा प्रतिनिधि सभाको विघटन पछि मध्याबधी निर्वाचनमा तत्कालिन एमालेले सबैभन्दा धेरै स्थानमा जित हासिल गरेर ठूलो पार्टी बन्न सफल भयो । नेपाली कांग्रेस दोस्रो स्थानमा खुम्चन पुग्यो भने जनआन्दोलनका कारण पाखालागेका पूर्व पञ्चहरु तेस्रो स्थानमा आउन सफल भए । एमालेलाई अल्पमतको सरकार बनाउने अवसर मिल्यो र मनमोहन अधिकारी प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री केपी ओली गृहमन्त्री बने ।
दलहरुको सत्ताको सेरोफेरोमा घुमिरहने व्यवहारबाट आजित नेपाली नागरिकले एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनलाई स्पष्ट बहुमत दिए र केपी ओलीबाट ठूलो अपेक्षा राखेका थिए । किनभने निर्वाचनका बेला उनले अन्य नेताको तुलनामा भरोषा योग्य कुरा गरेका थिए, सपना बाँडेका थिए । अनि हामी कम्युनिष्ट होइनौं, हामी प्रजातान्त्रीक परिपाटी अंगाल्न तयार छौं भनेका थिए । तर निर्वाचनमा बहुमत आउना साथ हामी कम्युनिस्ट हौं, हामी भन्दा असल कम्युनिस्ट अरु छैन भन्ने भाषा बोल्न थालिहाले । आफुलाई क्षणिक फाइदा हुने गरी फरकफरक कुरा गर्न सिपालु नेपाली कम्युनिस्टका कुरा विश्वास गर्ने कि नगर्ने भन्ने द्विविधामा नेपाली सर्बसाधारणका थियो र यो अद्यापि छ । बुद्धिजिबीहरुले भन्न थालेका छन् कि नेपालमा कम्युनिस्ट नेताहरुले जतिसुकै हामी कम्युनिस्ट हौं भनेर कराएर उफ्रिए पनि विदेश भ्रमण जाँदा हाम्रो पार्टीको नाम मात्र कम्युनिस्ट हो हामी कम्युनिस्ट होइनौं, हामी माथि कुनै अविश्वास र आशंका नगरियोस् भनिरहेका छन् । हाम्रो देशका लगानी गरिदिनोस् भनेर बिन्तीभाऊ गरिरहेका छन् । यसो गर्दा पनि यथोचित लगानी आउन सकिरहेको छैन ।
नेपाली कांग्रेसले दुइ दुइपटक बहुमतको सरकार बनाउन पाउँदा आफ्नै साथीहरुको कारणले गर्दा संसद विघटन भएको थियो । त्यस्तै वर्तमान नेकपा( नेकपा ) को दुइतिहाईको दम्भले गरेको काम जनमत विपरित हुँदै गएमा आफ्नै साथीहरुको कारणले गर्दा सरकार नढल्ला भन्न सकिँदैन ।