यो साता नेपाली जनले दुई युग पुरुषलाई स्मरण गरे । साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालालाई श्रद्धापूर्वक सम्झे भने ७ गते अर्का नायक पुष्पलाल श्रेष्ठलाई श्रद्धाले पूष्पापर्ण गरे । उनीहरुको नेपाली राजनीतिमा योगदानको चर्चा भयो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी जो अहिले हाम्रो साथमा छैनन् तर हामीले बारम्बार सम्झिरहने नाम हुन् । जसले आफ्नो व्यक्तिगत र पार्टीको स्वार्थ भन्दा माथि उठेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे । तर सम्झनाको सन्दुकमा बढी सुरक्षित किन बीपी कोइराला र पुष्पलाल ? स्मृति दिवसको अवसर पारेर म यहाँ त्यसको कारणहरुबारे चर्चा गर्न चाहन्छु ।
जनक नेपाल लिखित बीपीको विद्रोह पुस्तकका अनुसार आमा दिव्या कोइरालाको कोखबाट सहज जन्म नलिएर शल्यक्रियाको सहयोगमा जन्मेका बीपीले आफुलाई जन्मंदै विद्रोही भनेका छन् । उनी भन्छन् ः मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मने घडीमै मैले आफ्नो अड्डीपनको पूरा परिचय दिएँ । ममाथि त्यस दिन बल प्रयोग गरिएको हुनाले हो कि किन, म जीवनभर विद्रोहको बीज रोपियो होला । जन्मंदै विद्रोही बीपी कोइरालालाई किन सम्झने त ? दुइवटा सन्दर्भ यहाँ प्रस्तुत गर्न चाहन्छु ।
–मैले आजको साँझ प्रमुख निर्वाचन आयुक्तसँग बिताएँ। सुवर्णजीले मलाई भन्नुभयो, ‘दरबार र भारतीय पक्ष बालिग मताधिकारको प्रयोगको पक्षमा छैन् ।’ भारतीय सल्लाहकारहरू आसन्न निर्वाचन केही मतदातामा सीमित रहोस् भन्ने चाहन्थे । र, उनीहरू चुनाव अप्रत्यक्ष होस् भन्ने चाहन्थे । यस सम्बन्धमा गान्धीजीको नाम पनि लिइयो । यो पनि भनियो, बालिग मताधिकारका आधारमा गरिने चुनाव नेपालका लागि ज्यादै खर्चिलो हुन जानेछ । यो सुनेर म यति आश्चर्यचकित भएँ कि मेरो प्रतिक्रिया शून्य रह्यो । तर, मैले केही साहस बटुलेर प्रमुख निर्वाचन आयुक्तलाई भनेँ, ‘सीमित मतदान र अप्रत्यक्ष मतदान दुवै कांग्रेसजस्तो क्रान्तिको पक्षधर पार्टीका लागि मान्य हुनेछैन् ।
सीमित मतदान र अप्रत्यक्ष मतदानभित्र क्रान्तिकारी क्षमता हुँदैनथ्यो । यसको परिणाम एउटा यस्तो संसद् हुने थियो, जसले केही पक्षको निहित स्वार्थ तथा यथास्थितिको रक्षा गर्नु मात्रै हुने थियो । तर, म आसन्न निर्वाचनलाई एक अत्यावश्यक सामाजिक परिवर्तनको माध्यमको रूपमा हेरिरहेको थिएँ । अर्को शब्दमा भन्ने हो भने यसले यथास्थिति बिथोल्ने अपेक्षा गरेको थिएँ । यदि निर्वाचन बालिग मताधिकारकै आधारमा गरियो भने त्यसमा सामाजिक रूपान्तरणका लागि कानुन बनाउने थलोको रूपमा संसद्लाई प्रयोग गर्न चाहने हामीहरूको योबाहेक अरू कुनै निजी स्वार्थ रहने थिएन ।
अंग्रेजीमा लेखिएको र महेश पौड्यालले उल्था गरेको २०१२ साल साउन १४ गते शुक्रबारको विश्वेश्वरप्रसाद कोइरालाको डायरीको माथि प्रस्तुत अंशको अध्ययन गर्ने हो भने बीपी निर्वाचनमा नागरिकको सहभागिता र जनअनुमोदन मार्फत देशमा कस्तो परिवर्तन चाहन्थे भन्ने बुझ्न सकिन्छ । अनि भारत कसरी नेपालमा सधै अस्थिरताको खेल खेलिरहन चाहन्छ र उनले त्यसका विरोधका कसरी प्रस्तुत भए भन्ने कुरामा पनि हामी स्पष्ट हुन सक्छौं । उनले भनेका छन् भारत नाम मात्रको संसद चाहन्छ । निर्वाचनलाई आत्यावश्यक सामाजिक परिवर्तनको माध्यमको रुपमा हेरेका उनले यथास्थिति विथोल्ने र सामाजिक रुपान्तरणका लागि कानुन बनाउन सहयोगी सिद्धहुने निर्वाचित निकाय चाहन्थे तर उनको दृष्टीमा भारतले भने अनुसारको निर्वाचन प्रणाली अपनाउँदा केही पक्षको निहित स्वार्थ पूरा हुने र यथास्थितीको रक्षा हुने थियो । अन्ततः उनको विचारले आकार ग्रहण ग–यो र ढिलै भए पनि निर्वाचन भयो । जनताले मतका माध्यमबाट आफ्ना प्रतिनिधि छनौट गर्न पाए । जननिर्वाचित सरकार बन्यो ।
विसं २०१६ कार्तिक १६ को नेपाल गजेटमा प्रकाशित श्री ५ का प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र सहायक मन्त्रीहरुका निमित्त पारिश्रमिक व्यवस्था गर्न बनेको आदेशमा उल्लेख भए अनुसार बीपीले आफु प्रधानमन्त्री भए लगतै यस्तो निर्णय गराएका थिए । जस अनुसार प्रधानमन्त्रीको तलब रु २,५०० बाट रु १,५०० , उपप्रधानमन्त्रीको रु २,००० बाट रु १,२००, मन्त्रीहरुको रु १,५०० बाट रु १,००० र सहायक मन्त्रीको रु १,२०० बाट घटाएर रु ८०० कायम गरिएको थियो । सत्तामा पुगेपछि सम्पूर्ण सुख सुविधाको उपभोग गर्ने अनि राज्यको ढुकुटीमा हालीमुहाली गर्न पाउनु पर्ने मानसिकताको हाम्रो वर्तमान राजनैतिक नेतृत्वको अगाडि बीपी र उहाँको मन्त्री परिषदको यो निर्णय अवश्य उदाहरणिय र स्मरण योग्य छ ।
उता बीपीका समकालिन कम्युनिस्ट नेता पुप्पलालका केही कर्महरु यस्ता छन्,जसका कारण गैरकम्युनिस्ट पनि उनको नाम श्रद्धापूर्वक लिन्छन् र आफ्नो सम्झनाको सन्दुकमा राखिरहन्छन् । २०१७ साल पुष १ को राजा महेन्द्रको कु पछि पुष्पलाल प्रवासमा थिए । उनलाई राजा महेन्द्रले भेट्न बोलाए । तर उनले राजालाई भेट्न अस्विकार गरे । राजाको खबर लिएर आएका व्यक्तिसंग उनले जवाफ पठाए मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानमन्त्री चाहिँदैन । उनको भनाई थियो ः राजाले दिन सक्ने सबैभन्दा ठूलो पद प्रधानमन्त्री हो । सिद्धान्त बेचेर मलाई कुनै लाभको पद लिनु छैन ।
सत्ता प्राप्तीका लागि जे पनि गर्न तयार हुने वर्तमान राजनैतिक पुस्ताका लागि पुष्पलाल एउटा उदाहरण हुन सक्छन्, सत्ता सबै कुरा होइन् । सिद्धान्त बेचेर सत्ता प्राप्त गर्नु राजनैतिक बेइमानी हुन्छ । बीपी पनि मानव थिए र पुष्पलाल पनि साधारण मानव नै हुन् । उनीहरुमा पनि मानविय कमजोरी हुँदा हुन् । तर माथि वर्णन गरिएका र केही अरु त्यस्तै कार्यका कारण सदा स्मरण योग्य बनेका हुन् । सिद्धान्त अनुसारको जीवनशैली, सिद्धान्त प्रतिको अडान, तात्कालिक लाभ भन्दा देश र जनताको हितका निम्ती निर्णय लिने भएका कारण नै बीपी र पुष्पलाल हाम्रो सम्झनाको सन्दुकमा सुरक्षित रहन सकेका हुन् । स्मृति दिवसको अवसरमा उहाँहरु दुवै प्रति शब्दश्रद्धा !