दमौली/नेपालको संसदीय इतिहासमा अविष्मरणीय सभामुखको पहिचान बनाएको व्यक्तिको नाम हो–दमननाथ । प्रजातन्त्र पुनः स्थापना पछिको पहिलो सभामुख तथा नेपालको संसदीय इतिहासका दोस्रो सभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ ।
प्रजातन्त्र पुनःस्थापना पछिका पहिलो निर्वाचनमा काठमाण्डौं क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ढुंगाना सर्वसम्मत सभामुख बने र संसदमा सत्ता र प्रतिपक्षको दूरी घटाउने काम कुशलता पूर्वक सम्पन्न गरे । सरकार–माओवादीबिचका वार्तामा मध्यस्थकर्ताका भूमिकामा रहेर ढुंगानाले माओवादी सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न समेत महत्वपूर्ण भूमिका खेले ।
पहिलो जननिर्वाचित संसदका सभामुखको रुपमा समेत परिचित ढुंगानाको सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको भन्ने भनाइले पनि उनी प्रतिपक्षी आवाजप्रति कति संवेदशील थिए भन्ने कुराको बोध गराउँछ ।
२०४८ असार ९ गते सभामुखमा निर्वाचित ढुंगानालाई सभामुखको उम्मेदबार बनेका एमाले नेता झलनाथ खनालले सर्बसम्मत निर्वाचित गर्न उम्मेदबारी फिर्ता लिएबाट प्रतिपक्षी एमालेको उनका प्रतिको विश्वास दर्शाएको थियो ।
पूर्व सभामुखका रुपमा सरकारबाट प्रदान गरिने कुनै पनि सेवा नलिएका ढुंगानाले जेष्ठ नागरिक भत्ता समेत लिन्थेनन् । श्रीलंकामा सम्पन्न सात राष्ट्रको सभामुख फोरममा उत्कृष्ट सभामुखको उपाधि पाएका उनी नेपाल मानव अधिकार संगठन, एम्नेस्टी, ट्रान्सपरेन्सीजस्ता संस्थाको संस्थापक हुन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले “नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु ।” भनेबाट फरक विचार राख्नेहरुमा पनि उनका प्रतिको श्रद्धाभाव कति रहेछ भन्ने देखिन्छ ।
विसं १९९८ साल माघ २ गते जन्मेका ढुंगाना ३० वर्षको परिपक्वतासंगै नेपाल वार एसोसिएसनको महासचिब भएका थिए । २०१७ साल देखि राजनीतिमा निरन्तर क्रियाशिल ढुंगाना २०५१ असोज १५ सम्म सभामुख रहेका थिए ।
संसदीय इतिहासका अविष्मरणिय सभामुख
previous post