जेठ–३ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको २८ वर्ष पूरा भएको छ । २०५० साल जेठ–३ गते पोखरामा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गरेर चितवन जाँदै गर्दा चढेको जिप तत्कालिन कविलास गाउँ विकास समिति स्थित दासढुङ्गाबाट त्रिसुली नदीमा खसेर ति दुइ नेताको मृत्यु भएको थियो । आश्रितको शव दुर्घटना स्थलमा तथा भण्डारीको शव तीन दिनपछि दुर्घटना स्थलबाट केही तल भेटिएको थियो । जिप चालक अमर लामा दुर्घटनामा बाँच्न सफल भएपनि ८ वर्षपछि २०६० सालमा उनको पनि हत्या भएसंगै दासढुङ्गा दुर्घटना थियो या अन्य केही भन्ने कुराको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अर्थात पत्ता लागेको भएपनि सार्वजनिक गर्न सकेको अवस्था छैन ।
नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलिय जनवादका प्रणेता भण्डारीको जन्म २००९ साल असारमा ढुङ्गेसाँघु गाविस ताप्लेजुङमा भएको थियो । जिवराज आश्रितको जन्म भने २००१ साल साउनमा हरेवा गुल्मीमा भएको थियो । जननेता का नामले नेपालमा परिचित तथा अन्तर्राष्ट्रिय कतिपय सञ्चार माध्यमले नेपालका कार्लमाक्सको संज्ञा दिएका भण्डारीको योगदान नेपाली बामपन्थी आन्दोलनमा कति छ भन्ने कुरा नेकपा एमालेका नेता कार्यकर्ताले व्यवहारमा नउतारेपनि सिद्धान्तमा जबज भनेर बारम्बार घोकेको देख्दा अनुमान लगाउन सकिन्छ । कट्टर बामपन्थलाई प्रजातान्त्रिक धारमा बदल्न र बहुलवादको पक्षपोषकका रुपमा एमाले रहेको कुरामा आम नेपाली नागरिक र विश्व समुदायलाई आश्वास्त तुल्याउन भण्डारीको जनताको बहुदलिय जनवादले रामबाणको काम गरेको थियो । संगठन निर्माणमा पोख्त मानिने आश्रितको योगदान पनि एमाले अहिलेको अवस्थामा आईपुग्नुमा महत्वपूर्ण रहेको छ ।
आज भण्डारी पत्नी विद्यादवी भण्डारी नेपालको सर्वाच्च राष्ट्रपति पदमा दोस्रो पटक आसिन छन् । आश्रित पत्नी मायाँ ज्ञवालीलाई एमालेले समानुपातिक सभासद बनाएको छ । अझ भनौं दुवै सत्ताको शक्तिमा छन् । दासढुङ्गा दुर्घटना लगतै र अझै पनि एमाले समर्थक नेता कार्यकर्ताहरु त्यो दुर्घटना नभई हत्या भएको भन्दछन् । तर दुर्भाग्य थुप्रै पटक सत्तामा पुग्दा एमालेले तथा दुइ–दुइ पटक राष्ट्रपति भइसक्दा पनि भण्डारीले तथा सभासद हुँदा मायाँले आफुले राजनैतिक मुद्धा बनाएको उक्त विषयमा सोधी खोजी गर्ने तर्फ चासो देखान सकेको देखिएको छैन । यदि उनीहरुले चाहने हो भने त्यसको सोधी खोजी गर्ने उपयुक्त अवसर थियो र छ अहिले पनि ।
तुच्छ राजनैतिक फाईदाका लागि हत्या थियो भन्ने नरा भट्याउन छाडेर सत्यतथ्यको खोजीमा लाग्न सक्दा मदन र जीवराजको आत्माले शान्ति पाउने छ । स्मृति दिवसको अवसरमा मदन र जीवराज प्रति शब्दश्रद्धा ।