आठवर्ष लामो निर्वासनमा रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल पुस १६ गते नेपाल फर्कने निर्णय गर्नुभयो ।
दक्षिण एशियाली मुलुकहरुमा २०३० सालपछि उथलपुथलको नयाँ वातारवरण देखा परेपछि सिक्किमको स्वतन्त्र अस्तित्वसमेत समाप्त भयो । परिवर्तित यो सन्दर्भबाट उत्पन्न हुनसक्ने अनिष्टलाई ध्यानमा राखेर बीपीले राष्ट्रिय अस्तित्वमा नै प्रश्न चिन्ह लाग्नसक्ने अवस्थालाई दृष्टिगत गरी २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसको अध्यक्षको हैसियतले एउटा अपिल प्रकाशित गरी मुलुकका सबै राजनीतिक शक्तिका बीच ’राष्टिज्ञ«य एकता र मेलमिलाप’ को आवहान गर्नुभयो । सोही दिन बीपी, गणेशमान लगायतका भारतमा निर्वासनमा रहेका नेपाली काङ्ग्रेसका थुप्रै नेता र कार्यकर्ताहरु नेपाल प्रवेश गर्नु भएको थियो ।
बीपी लगायतका नेताहरूको स्वदेश आगमन नै तानाशाहीका निम्ति एउटा क्रान्ति नै भइदियो । सो क्रममा बीपी र गणेशमान सिंहलाई विमानस्थलबाटै गिरफ्तार गरेर अनेकौ संगीन मुद्दाहरु लगाइयो । बीपीको मेलमिलाप नीति परिस्थितिले निर्धारण गरेको संघर्षकै अर्को रुप थियो । तत्कालीन कानूनअनुसार मृत्युदण्ड पनि हुनसक्ने प्रकृतिका अनेकौं मुद्दा लगाई पञ्चायती सरकारले अदालतमा उभ्याउँदा बीपी कोइरालाले जुन आत्मविश्वास र इमानदारिताका साथ बयान दिनुभयो त्यो राष्ट्रिय एकताका निम्ति अमूल्य दस्तावेज बनेर रहेको छ ।
यही क्रममा बीपी र गणेशमान आफू विरूद्ध लगाइएका अनेकौं राजनीतिक मुद्दाहरूलाई खेप्दै नेपालको जेलमा बस्दा मुलुकभित्रै प्रजातान्त्रिक आन्दोलनका लागि अनुकूल र उपयुक्त मनोवैज्ञानिक आधार बन्यो जसले गर्दा राजा निर्वाचनको माध्यमबाट बहुदल रोज्ने कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा जनमत संग्रह गराउन बाध्य भए । जनमत संग्रहको परिणाम जे जस्तो भए पनि यसले प्रजातन्त्रको पुनस्थापनका निम्ति महत्त्वपूर्ण मार्गदर्शन गरेको देखिन्छ ।
डा. बासुदेव खनाल
(वीपी विचार, नीति,सिद्धान्त र व्यवहार नामक पुस्तकका डा. खनालले लेखेको भूमिकाबाट साभार ।)
राष्ट्रिय मेलामिलाप
previous post