अमेरिकामा गोरा र काला जातिबीच विभेद छ भन्ने सुनेको छु । गोराहरुले काला जातिका अमेरिकनहरु माथि गर्ने विभेदका अनेकौं कथाहरु मैले पढ्ने मौका पनि पाएको छु । हामी कहाँ पनि दलित र गैरदलितबीच विभेदको पर्खाल कायम छ । अझ दुःखको कुरा त के छ भने दलित र दलित बीचमा पनि छुवाछुत रुपी विभेद कायमै छ । ठूलोसानोको झगडा दलितमा मात्र होइन ब्राम्हणहरुमा पनि छ र अन्य जातिमा पनि । ब्राम्हणहरु उपाध्याय र जैसी भनेर परस्पर बाँडिएका छन् । दलितहरु बीच एउटाले छोएको अर्काले नखाने जस्तो विभेद कायम छ । ब्राम्हणहरुमा पनि उपाध्यायको छोराले जैसीको छोरी बिहे गर्दैन, उपाध्यायले जैसीलाई छोरी दिदैन । कतिपय स्थानमा त एउटाले छोएको पानी अर्कोले नखाने अवस्था पनि कायम छ ।
यहाँ यसको किन चर्चा गरिएको भने विभेद जाति जातिबीच मात्र सिमित छैन । अछुतको जस्तो व्यवहार कथित दलित र गैरदलितबीच मात्र सिमित छैन । हुने खाने र हुँदा खानेबीच विभेद झन चर्काे छ । भर्खरै प्रकाशित एक तथ्याङ्क अनुसार ४० प्रतिशत गरिब नेपालीसंग भन्दा १० प्रतिशत धनी नेपालीसंग २६ गुणा बढी सम्पत्ति छ । यसका कारण धनी र गरिबबीचको असमानता र विभेद दिनरात बढेदो छ, घट्नुको साटो । अन्य विभेद घट्दै जालान रहरले मकै खाने र खाए मकै नखाए भोकै हुनेहरुबीचको असमानता र विभेद नेपालमा छिट्टै समाप्त हुने देखिएको
छैन ।
यतिबेला देशका नगरका टोल–टोलमा टोल विकास संस्था खोल्नुपर्ने प्रावधान छ र सबै नगरका हरेक टोलमा यी संस्थाहरु कार्यरत छन् । टोलमा वासिन्दाको सुख दुःखका साथी बन्नु पर्ने ति संस्थाहरु मध्य कतिले आफ्नो भूमिका निर्वाह गरेका छन् भनेर मूल्याङ्कन गर्ने बेला भएको छ शायद । अहिले टोल विकास संस्थाहरु राजनीति गर्ने थलोका रुपमा र आफुसंग विचार नमिल्नेलाई खानेपानीको सिफारिस नदिने, विद्युतसेवा जडानमा लागि सिफारिस नदिने आदि गरेर दुःख दिने संस्थामा परिणत हुदै आएका छन् । एक पटक प्राप्त गरेको पदमा सधैं कसरी रहिरहने भन्ने बाहेक अरु सोच्न छाडेका छन्, टोलको नेतृत्व गर्नेहरुले ।
गाउँमा समान्य कमाई भएको कसैले बजार झरेर एउटा घर बनाएर बस्ने कल्पना गर्नु अव गाह्रो कुरा भयो । बजार निकै महँगो भै सकेको छ । गाउँबाट कोही बजार झरिहाल्यो भने पनि २ ४ आना जग्गा किन्यो, सानो एकतले घर बनायो अनि दुःख–सुख ओत लाग्यो गर्ने हो । उ जब आफ्नो टोलको सदस्य बन्न जान्छ र सामाजिक सेवामा अलिकती अग्रसरता देखाउन थाल्छ, रैथाने वा अझ भनौ रोपनी र विघामा जग्गाहुने रैथानेलाई २ आना जग्गामा खुम्चिएर बसेको नयाँ छिमेकीको सक्रियता सह्य हुँदैन र भन्न थाल्छ ः हिजो आएकाहरुले फुर्ति गर्ने ? हामीलाई क्रस गरेर अगाडि बढ्न खोज्ने ? हामी भनेका ट्रक हाँै र यी भनेका स्कुटी हुन । स्कुटीले ट्रकसंग जुध्न खोजेर हुन्छ ? उ ठान्छ, आना हुनेहरु सधैं विघा वा रोपनी हुनेहरुको पछि लाग्नुपर्छ ।
अहिले वस्दै आएको टोलमा मैले जे भोगेको छु, अन्यत्र पनि टोल विकासको नाममा हुने घृणित खेल यही त होला ? टोल विकास संस्था बनाइएको स्थानीयको सुख–दुःखको सहयात्री हुन,विकास कार्यको नेतृत्व गर्ने हो कि उनीहरु माथि शासन गर्न हो बुझ्नै कठिन भएको छ । के यसले टोल विकासको अवधारणालाई टेवा दिन्छ ? परस्पर भाइचार बढ्छ ?