रमेश विकल
यस पटकको सघीय संसद र प्रदेश सभाको निर्वाचन चार दिनपछि मंसिर ४ मा हुँदैछ । सोही दिन अन्तर्राष्ट्रिय बालअधिकार दिवस समेत परेको छ । सन् १९८९ नोभेम्बर २० तारिखमा संयुक्त राष्ट्र संघले तयार पारेको बालअधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर भएको थियो । यही दिनको सम्झनामा हरेक वर्ष संसारभरु बालअधिकार दिवस मनाउने गरिन्छ ।
बालबालिकालाई देशका भविष्यका कर्णधार भन्ने गरिन्छ । तर उनीहरु नीति निर्माताको प्राथमिकतामा पर्न नसकेका र उनीहरु अनुकुल कानुको निर्माण हुन नसकेको तीतो सत्य हामीसंग छ । निर्वाँचनमा मतदाता आकर्षित गर्ने लोकप्रिय नारा सहितका दलहरुका घोषणापत्र सार्वजनिक भएका छन् । ति घोषणापत्रमा बालबालिकाका कुरा कति समावेश भएका छन् ? दलहरुद्वारा जारी गरिएका घोषणापत्रलाई बालबालिकाको नजरबाट नियालौं ।
सत्तारुढ नेपाली कांग्रेसले जारी गरेको आफ्नो प्रतिवद्धतापत्रमा क्षेत्रगत रुपमा बालबालिकाका कुरा उठाएको त छैन तर थुप्रै ठाउँमा बालबालिकासंग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्धित विषय समावेश गरेको छ । निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सेवाको व्यवस्था गर्ने उसको प्रतिवद्धतापत्रमा उल्लेख छ, जसले प्रत्यक्ष रुपमा नवजात शिशुको सम्बन्धित रहन्छन् । निःशुल्क सुत्केरी सेवा, पाँच हजार सुत्केरी भत्ता, गर्भवतीका लागि निःशुल्क पोषण प्याकेज, सुत्केरी महिलाका लागि एकहजार दिनसम्म पोषण कुपन प्रत्यक्ष रुपमा बालबालिकासंग सम्बन्धित रहेको मुद्दा हुन् । यसंगरी कांग्रेसले ३ वर्ष मुनिका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क सेनेटरी प्याडको व्यवस्था, शिशु स्याहार केन्द्र र दिवा खाजाको व्यवस्था, निःशुल्क आधाभूत र माध्यमिक शिक्षा, नवजातको घर दैलोमा स्वास्थ्य सेवा तथा गर्भावस्थामा निःशुल्क परामर्श र परिक्षण लगाएतका कार्यक्रम कांग्रेसले आफ्नो प्रतिवद्धतापत्रमा समेटेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बालबालिकाका कुरा क्षेत्रगत प्राथमिकतामा समेटेको छैन । तर उसका पनि कांग्रेसकाभन्दा कम लाकप्रिय नारा छैनन् । उसले प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मको शिक्षा निशुल्क गरिने, भर्ना अभियान सञ्चालन गरेर भर्नादर सतप्रतिशत बनाउने, प्राथमिक शिक्षालाई सिर्जनात्मक प्रतिभा र उत्सुकता विकसित गर्न बनाउने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । उसले सेनेटरी प्याड खरिदका लागि प्रतिवर्ष एकहजार पाँचसय रुपैयाँ उपलब्ध गराउने भनेको छ । यसबाट बालिकाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
अर्काे दल नेकपा माओवादी केन्द्रले बालबालिकाका कुरालाई क्षेत्रगत प्राथमिकतामा राखेको छ । उसले बालबालिकाका लागि विशिष्टीकृत अस्पताल बनाउने, पोषणका लागि घुम्ती शिविर सञ्चालन गर्ने, बालमैत्री पूर्वाधार निर्माण गर्ने लगाएतका कुरा समावेश गरेको छ । उसले शिक्षण संस्थालाई पठनपाठन र सिकाई अनुकुल बनाउने, शैक्षिक शत्र सुरु हुन एक महिना पहिल्यै पाठ्यपुस्तक विद्यालयमा लैजाने, विपन्न, अनाथ, हिँसा पिडित र सडक बालबालिकाका लागि सुरक्षित आवास सहितको शिक्षा प्रदान गरिने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । अन्य दलका जस्तै निःशुल्क सेनेटरी प्याड, माध्यकिम तहसम्म निःशुल्क र अनिवार्य शिक्षा उसको घोषणापत्रमा पनि समावेश छ ।
नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्याउने कुरालाई आफ्नो प्राथमिकतामा राखेको छ । यसंैगरी माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने भनेको उसले अभिभावक गुमाएका र अपाङ्गता भएका बालबालिकाको भरणपोषण, संरक्षण र अध्ययनमा सहयोग गर्न प्रत्येक पालिकामा संरक्षण कोष स्थापना गर्ने, आधारभूत स्वास्थ्य उपचार निःशुल्क गर्ने तथा सडक बालकको उद्धार गर्ने विषय समेटको छ ।
राजसंस्थाको पुनः स्थापनाको मुद्धालाई लिएर नागरिक माझ गएको दल राप्रपाले पनि बालबालिकाका कुुरालाई छुट्टै उल्लेख गरेको छ । उसले कक्षा १२ सम्म पूर्ण निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउने भनेको छ । यसैगरी राप्रापाले आधारभूत तहमा मातृभाषामा शिक्षा दिइने, सुत्केरीलाई तीन महिनासम्म प्रति महिना तीनहजारका दरले मासिक भत्ता दिने तथा अशक्त, असहाय र टुहुरा बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहको लागि स्याहार केन्द्र बनाउने कुरा उल्लेख गरको छ ।
ञअन्य ठूला तथा साना दलहरुले पनि आफ्ना घोषणा पत्रमा बालबालिकाका सन्दर्भमा महत्वपूर्ण काम गर्ने उल्लेख गरका छन् ।
दलका घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धतालाई विश्वास गर्ने हो भने महासन्धीको पक्ष राष्ट्रको रुपमा नेपालले आफुलाई इमान्दार ढंगले प्रस्तुत गर्न चाहेको देखिन्छ । तर कुरा के हो भने मतदाता आकर्षित गर्न दलहरुले लोकप्रिय कार्यक्रम सहित ल्याएका घोषणापत्रको कार्यान्वयनमा सत्तामा पुगेपछि दलहरुले गर्ने वेवास्ताले विश्वासको अभाव छ । आम अविश्वासलाई चिर्न पनि दलहरुले आफ्ना प्रतिवद्धता अनुकुल काम गर्नु भने अब अपरिहार्य भएको छ ।
बालदिवसका दिन निर्वाचन ! बालबालिका दलका प्राथमिकतामा छन् ?
previous post