सम्पादकीय
व्यास नगरपालिकाले पालिका भित्रका सबै वडाका एक माध्यमिक र एक प्राथमिक विद्यालय छनाँैट गरी प्रविधिमैत्री विद्यालय बनाउने निर्णय गरेको छ । अघिल्लो शुक्रबार भएको नगर पालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले गरको यो निर्णयसंगै नपा भित्रका विद्यालयहरु क्रमशः प्रविधिमैत्री बन्दै जाने र विद्यार्थीहरुले प्रविधिमैत्री वातावरणमा शिक्षा ग्रहण गर्ने अवसर प्राप्त गर्ने आशा पलाएको छ ।
नगरपालिका भित्र भएका ७४ सामुदायिक विद्यालय मध्ये अहिलेकै वडा संरचना अनुसार अब २८ विद्यालय प्रविधिमैत्री बन्नेछन् । प्रविधिमैत्री विद्यालय बनाउन नगरपालिकाले के कस्ता कार्यक्रम ल्याउँछ भन्ने त हेर्न बाँकी नै छ । तर अब विस्तारै विद्यालयहरुलाई समयानुकुल शिक्षा प्रदान गर्न सक्षम बनाउन पछिल्लो प्रविधिले युक्त बनाउनु जरुरी छ साथै विद्यार्थीहरुलाई प्रविधिसंग परिचित गराउनु र प्रविधिसंग रमाउँदै शिक्षा आर्जन गर्न सक्षम बनाउनु जरुरी भैसकेको छ । र यो यथार्थलाई व्यास नपाले आत्मसाथ गर्न खोजेको देखिएको छ ।
विद्यालयहरु छनौट गरी पछिल्लो प्रविधिले युक्त बनाउने योजना बनाउँदै गर्दा विद्यालयमा उपलब्ध भौतिक पूर्वाधारबारे अध्ययन गरी आवश्यक भौतिक पूर्वाधार बनाउनु आवश्यक हुनेछ । यसका साथै उपलब्ध प्रविधिको प्रयोग गरी विद्यार्थीलाई शिक्षा प्रदान गर्न शिक्षकहरुलाई पनि सक्षम बनाउनु पर्ने हुन्छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई आम रुपमा लगाईने आरोप के हो भने उनीहरु शिक्षा वा अन्य कुनै विषयमा भएका नविनतम् तथ्यहरुसंग अद्यावधिक हुँदैनन्, अध्ययनशिल छैनन् । यो दोषलाई मेटाउने र भविष्यका कर्णधार भनिने बालबालिकालाई समयानुकुल शिक्षा प्रदान गर्न आफुलाई सक्षम बनाउने अवसरको रुपमा यसलाई शिक्षकहरुले लिनुपर्ने देखिएको छ । व्यास नपाले थालेको यो अभियानलाई सफल बनाउन तथा विद्यालयलाई थप बेरोजगार उत्पादन गर्ने थलो हुनबाट बचाउन पनि सबै शिक्षकहरुले लागि पर्नुपर्ने भएको छ । नभए समयले हामीलाई कुर्ने छैन । प्रविधिसंग विद्यार्थीहरुलाई परिचित गराउन सके हाम्रो शिक्षा प्रणाली पनि सफल हुनेछ ।