दमौली/तनहुँका विभिन्न २४ संघ संस्थाहरुले रुकुम चौरजहारी सोती घटनाका दोषीलाई कारवाहीको माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
तनहूँ जिल्ला प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाण्डौलाई प्रेसित ज्ञापन पत्रमा मुख्यतः नेपाल सरकारबाट माननीय देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदिय विशेष छानवीन समितिले स्थलगत निरिक्षण र अनुसन्धान गरी वास्तवीक दोषी पत्ता लगाइ उल्लेखित अनुसारको अमानवीय असामाजिक विभत्स घटना घटाउनेहरुलाई नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम हदैसम्मको सजायको माग गरिएको छ । ज्ञापन पत्रमा पीडित परिवारलाई उचित र सम्मान जनक क्षतिपूर्तिको माग गरिएको छ । साथै मानवता विरोधी सांस्कृतिक प्रभावमा परी भएको नरसंहारबाट ज्यान गुमाउने ६ जना व्यक्तिहरुलाई सांस्कृतिक शहिद घोषण गरिनु पर्ने पनि ज्ञापनमा माग गरिएको छ । गण्डकी प्रदेशका सांसद डोवाटे विकको नेत्त्वमा गएको सयौं संख्यामा ज्ञापन पत्र बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यालय तर्फ गएको समूहलाई प्रशासन गेट निर रोकिए थियो । तर समूह अगाडि बढेपछि जिल्ला प्रशासन तनहूँको गेटमै पुगेर सो ज्ञापन पत्र बुझाइएको थियो ।
प्र. जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउन जाने संघसंस्थाहरुमा विभिन्न दलित संस्थाहरु, पत्रकार महासंघ, नेपाल बार एशोसिएशन, मानव अधिकारवादी संस्थाहरु विद्यार्थी संगठनहरु समेतको सहभागिता थियो ।