भाद्र १५ मा देशभर १३ औं पुस्तकालय दिवस मनाइयो । यस वर्षको दिवसको नारा थियो “समाज रुपान्तरणका लागि पुस्तकालय” । पुस्तकालयको महत्व आत्मसाथ गरेर नै होला यो दिवस मनाउन थालिएको र नेपालको संविधानमा समेत पुस्तकालय स्थापनाको सन्दर्भ उल्लेख गरिएको । राज्यको शिक्षा सम्बन्धी नीतिहरुमा नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवद्र्धन गर्ने भनेर उल्लेख गरिएको छ । पुस्तकालयको महत्व र आवश्यकतालाई आमनागरिक सामु लैजाने प्रयोजनका लागि नै पुस्तकालय दिवस मनाउन थालिएको हुनुपर्छ ।
पुस्तकालयको के महत्व छ र दिवस नै मनाउनु पर्ने भन्ने प्रश्न पनि हुनसक्छ । पुस्तकको अर्थ ज्ञान र आलयको अर्थ घर । यसरी हेर्दा पुस्तकालय भनेको ज्ञानको भण्डार हो । र हामीले सुनेका र देखेका छौं विद्या वा ज्ञानरुपि धन संसारमा जहाँ पनि विक्छ । त्यसैले हामीले ज्ञान आर्जन गर्नु जरुरी छ र त्यसका लागि पुस्तक चाहिन्छ । अनि त्यो ज्ञान प्राप्त गर्ने वातावरण हामीले पुस्तकालयबाट प्राप्त गर्दछौं । जसरी एउटा घरमा विभिन्न मानिसहरु बस्छन्, त्यसरी नै पुस्तकालयमा विभिन्न पुस्तकहरु हुन्छन् । कुनै पुस्तकले हामीलाई इतिहासको ज्ञान दिन्छन् त कुनैले भुगोलको अनि कुनैले सभ्यता र संस्कृतिको । कुनैले विज्ञानको अनि कुनैले धर्मको । वनस्पति, जीवजन्तु आदिका बारेमा पनि हामीले पुस्तकबाटै ज्ञान प्राप्त गर्ने हो । पुस्तकबाट पाइने ज्ञानको सिमा नै छैन । कतिपय पुस्तकको सहायताले हामी आफुलाई चिन्न सक्षम हुन्छौं अर्थात आफुमा निहित क्षमताबारेमा जान्न र त्यसको माध्यमबाट आफ्नो लक्ष्यमा पुग्न सक्छौं । जीवनसंग वाक्क बनेकाहरुलाई जीवनको महत्व बुझाएर जीउने हौसला प्रदान गर्ने पनि पुस्तक नै हो । नयाँ खोजीको लागि उत्प्रेरित गर्ने पनि पुस्तकले नै हो ।
जहाँ, जतिबेला र जुनसुकै अवस्थामा भएपनि हामीलाई ज्ञान दिन तयार भएर रहने विनम्र साथी पुस्तकको महत्व यी चार लाइनमा सकिँदैन । हामी रेष्टुरेण्टमा बसेर हजारौं रुपैया खाजामा खर्च गर्न सक्छौं तर एउटा पाँच सय रुपैयाँको पुस्तक किन्नु पर्दा सायद धेरै पटक सोच्छौं । आश्चर्य छैन, छ ? राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हामी सबैले त्यो विनम्र साथीलाई घर ल्याउने प्रेरणा हामी सबैलाई प्राप्त होस् । ज्ञानको दायरा फराकिलो हुँदै जाँदा हामी सबै सुखी र खुसी हुन सक्छौं । र शायद हामी सबैको चाहना जीवनमा सदा सुखी र खुसी हुन सकौं भन्ने नै हो ।
पुस्तकालय दिवसको महत्व
previous post