मानव सेवा आश्रममा संरक्षण, स्याहरसुसार र उपचार
बुटबल/पहिचान नभएका सडकमा भेटिएका देशभरका करिब आठ सय सहयोगापेक्षी मनोरोगीलाई मानव सेवा आश्रमले संरक्षण, स्याहरसुसार र उपचार प्रदान गरेको छ ।
मानव सेवा आश्रमको महासचिव रुपा केसीले दिएको जानकारी अनुसार मुठीदान उठाएर सहयोगी हातहरुको सहयोगमा देशभरमा सात प्रदेश मध्ये छ प्रदेशमा मानव सेवा आश्रमले सहयोगापेक्षी मनोरोगीको संरक्षण, स्याहारसुसार र उपचार गरेको बताउनु भयो । यस अभियानमा क्याम्पस पढ्दै गरेका स्वयमसेवक भाइबहिनीहरुले कत्तिपनि घीन नमानी त्यस्ता मानवहरुको स्याहर सरसफाई र संरक्षणमा आफ्नो समय मिलाएर सहयोग गरेको पनि महासचिव के.सी.ले बताउनु भयो ।
देशभरमा बृद्धाश्रम, बाल संरक्षण केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र भएपनि संरक्षणका लागि नागरिकता अनिवार्य भएको, मनोरोगी, वेवारिसे अवस्थामा सडकमा भेटिएका सहयोगापेक्षी, वेवारिसे मान्छेहरुको नागरिकता वा पहिचान पत्र हुने कल्पना नै गर्न सकिदैन । यस्ता मान्छेहरु जो मनोरोगी हुन्, मान्छेलाई हातपात गर्न तम्सन्छन्, जस्को पहिचान छैन वेवारिसे महिलाले वेवारिसे गर्भधारण गरेका हुन्छन्, शरीरका अंगहरु कुहिएको हुन्छ, कीरा परेको हुन्छ, ठूलो संक्रमण लागेको हुन्छ त्यस्ता मानवले मानव जीवन पाएका छैनन् । ती पनि मानव हुन्, मान्छे खान नपाएर भोको भएर होइन, प्रेम, सद्भाव र आत्मियताको भोको भएर सडकमा पुगेका हुन्, मनोवैज्ञानिक उपचार पाए परिवारसंग पुनरमिलन हुन सक्दछ भन्ने बुझाइका साथ मानव सेवा आश्रम खुलेको महासचिव के.सी.को स्पष्टोक्ति थियो ।
‘सर्वोत्कृष्ट जीव्न साश्वत चिन्तन’ बाट निर्देशित भएर २०६३ देखि ज्ञान हस्तान्तरण कार्यक्रम गरेर हिड्दै गर्दा हेटौडामा एक वेवारिसे मनोरोगी किसोर पूण्ड्य मानव (आश्रमले दिएको नाम) ले कुहिएको मुसा खाँदै गरेको देखेपछि उसलाई फकाएर, पाउरोटी चिया खुवाएर गफ गर्दा उसलाई मायाँ प्रेम र संरक्षणका साथै उपचारको आवश्यकता महसुस गरी त्यस्तै आश्रमको खोजी गरी राख्न खोज्दा नागरिकता मागिएको, ‘ए पागलहरुलाई राख्ने पागल खाना त यो होइन’ भन्ने जवाफ पाएपछि रामजी अधिकारी, रुपा के.सी., सुमन बर्तौला लगायतका करिब ७० जना अभियन्ताहरुले प्रण गरेपछि सहयोगापेक्षी मनोरोगीलाई संरक्षण, स्याहरसुसार र उपचार प्रदान गर्न मानव सेवा आश्रमको स्थापना गरिएको थियो ।
हेटौडामा भेटिएका वेवारिसे पूण्ड्य मानवको संरक्षणको जिम्मा लगाउन नपाएपछिको चिन्ताले उनि जस्ता सहयोगापेक्षी सडक मानवहरुलाई यी मानव हुन् भन्ने पहिचान दिलाउने अभियान २०६९ जेष्ठ २३ गते हेटौडाबाटै सडक मानवहरुको बनभोज कार्यक्रम गरेर शुरु गरिएको थियो । यो अभियानले वि.सं. २०८२ सालसम्ममा सहयोगापेक्षी सडक मानव रहित राष्ट्र नेपाल बनाउने संकल्पका साथ गोरखालाई २०७४ चैत्रमा एक बर्षपछि हेटौडालाई २०७५ फागुनमा सहयोगापेक्षी सडक मानव रहित शहर घोषणा गरेको महासचिव रुपा के.सीले बताउनुभयो । आश्रममा ल्याइएका २१ जना मनोरोगीहरुले वेवारिसे बच्चा जन्माएका छन् । त्यस्ता बच्चालाई आश्रमका स्वयमसेवकहरुले नै मातृत्व प्रदान गरेका छन् । आमाको दुध नपाउने ती बालकलाई ल्याक्टोजिन ख्वाएर हुर्काइएको छ । यसरी हुर्केका बालबच्चाको उचित संरक्षण गर्न गोरखामा बाल शाखाको स्थापना गरी उचित व्यवस्थापन गरिएको छ ।
मानव सेवा आश्रम बुटबलको संरक्षणमा पुगेकी मायाँ मानवले त्यही जन्माएको सक्षम मानवलाई आश्रमका स्वयम सेवक टीका थापा र गंगा थापा समेतले हुर्काईरहेका छन् । बुटबल शाखामा क्याम्पस पढ्दै गरेका अनमोल आचार्य, हरि चालिसे, नमराज पौडेल, श्रीधर पराजुली समेतका स्वयसेवकहरुले आफ्नो पढाईबाट समय बचाएर मनोरोगीहरुको स्याहार संरक्षण, सरसफाई र उपचारमा समेत सहयोग पु¥याई रहेका छन् । यी स्वयमसेवकहरुले सडकमा भेटिएका कुहिएको शरीर, फोहोरी कपाल भएका मानवहरुको सरसफाईमा सेवा नै धर्म भन्ने भावनाबाट प्रेरित भएर आफूलाई समलग्न गराएका छन् ।