मानिस जङ्गली, ढुङ्गे युगबाट विकसित हुँदै हुँदै आजको अवस्थामा आइपुगको हो । मानव सभ्यताको विकास क्रमलाई अध्ययन गर्ने हो भने मानिसले आफ्नो आवश्यकतालाई पूरा गर्नको लागि संगठित हुँदै जाने र नयाँ नयाँ तरिकाको खोज गर्दै जाने क्रममा मानव विकासले गति लिएको पाइन्छ । आफ्नो आवश्यकता र इच्छालाई जसरी भएपनि पूरा गर्ने इच्छाशक्ति कै कारणले मानव विकास सम्भव भएको हो र मानिस आजको अवस्थामा आइपुगेको हो । मानिस र अन्य जनावरबीच सबैभन्दा ठूलो भिन्नता पनि यहि हो । संसारका सबै जीवजन्तुको आवश्यकताहरु हुन्छन् । उनीहरु आफ्नो आवश्यकता पूरा गर्न प्रयास पनि गर्छन, फरक यत्ति हो अन्य जीवजन्तुले मानिसले जस्तो निरन्तर र फरक फरक तरिकाले प्रयास गर्दैनन्, गर्न सक्दैनन् । त्यसैले मानिस अन्य प्राणीभन्दा सर्वश्रेष्ठ छ ।
ढुङ्गे युगको मानिस र आजको मानिसको आवश्यकता र इच्छामा तुलना गर्नै नसकिने अन्तर छ । मानिसको विकासक्रममा मानविय आवश्यकताहरु बढ्दै गयो । मानव विकास र मानविय आवश्यकताको बीचमा परस्पर अन्योन्याश्रित सम्बन्ध छ । सरल भाषामा भन्दा बढ्दो आवश्यकतालाई नयाँ नयाँ ढंगले पूरा गर्दै जाँदा मानव विकासले गति लियो र मानव सभ्यताको विकास संगैं आवश्यकताहरु पनि बढ्न थाल्यो । मानिसमा भाषाको विकास पनि यहि क्रममा भएको हो । एक अर्कामा सञ्चार आदान पदान गर्ने सरल उपायको खोजी गर्दै जाँदा मानिसमा भाषाको विकास भएको पाईन्छ । जसको विकसित रुप स्वरुप आज संसारमा हजारौं भाषाहरु बोलिन्छन् ।
गतिशिल समय र परिवर्तित समाजसंगै मानविय आवश्यकताहरु बढ्दै जानु प्राकृतिक कुरा हो । भाषा जस्तै शिक्षाको विकास पनि बढ्दो मानविय आवश्यकताको विकास क्रममै भएको हो । मानव सभ्यताको विकास हुँदै जाँदा र मानव समाज आधुनिक बन्दै गर्दा औपचारिक शिक्षा पद्धतिको थालनी हुन पुगेको पाईन्छ । आज मानव समाज २१ औं शताब्दीमा दौडँदै गर्दा शिक्षा मानिसको आधारभूत आवश्यकता भै सकेको छ । नेपालले पनि शिक्षालाई आधारभूत आवश्यकताको रुपमा मनन गरेर संविधानमै शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । भलै संसारमा अझै पनि यस्ता गरिब र अविकसित देशहरु समेत अस्तित्वमा छन् जहाँ गास, वास र कपास नै मानविय आवश्यकता हो । शिक्षा उनीहरुको लागि धेरै परको कुरा हो । जे होस् केही यस्ता अपवादलाई छोड्ने हो भने आजको समयमा शिक्षा मानिसको आधारभूत आवश्यकता हो भन्ने कुरालाई नकार्न सकिँदैन ।
गुरुकुल शिक्षा पद्धति अस्तित्वमा रहेपनि नेपालमा औपचारिक शिक्षा पद्धतिको सुरुवात भने दरबार हाइस्कुलको स्थापना पछि नै भएको हो । आजको समयसम्म आइपुग्दा नेपालमा हजारौं विद्यालयहरु, विश्व विद्यालयहरु र क्याम्पसहरु समेत स्थापना भइसकेका छन्, जसले औपचारिक रुपमा शिक्षा प्रदान गर्ने गर्दछन् । राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्दछन् । तर यही निर एउटा गम्भीर प्रश्न आउँछ । के नेपालको वर्तमान शिक्षा पद्धतिले राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्न सकेको छ ? वा भनौं के नेपालको शिक्षा पद्धतिले उत्पादन गरेको जनशक्तिले राष्ट्रको आवश्यकता पूरा गर्न र देशलाई विकास र समृद्धि तर्फ डो¥याउन ठोस योगदान दिन सक्ने अवस्था छ त ? अझ भनौं के शिक्षित भनिएका नेपालीहरु आफ्नो जीवन सहज र सरल ढंगले जीउन सक्षम छन् त ?
नेपालको वर्तमान शिक्षा पद्धति र राष्ट्रको आवश्यकता, यी दुई कुराको बीचमा तालमेल मिलेको देखिँदैन । जसको सबैभन्दा ठूलो प्रमाण हो, नेपालमो बढ्दै गएको बेरोजगारी । राष्ट्रले शैक्षिक विकासको लागि निरन्तर प्रयास गरिरहेको भएता पनि वर्तमान अवस्थामा नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न नेपालको औपचारिक शिक्षा पद्धतिमा ठूलो परिवर्तनको आवश्यकता छ । किनभने नेपालको वर्तमान शिक्षा पद्धतिले रोजगारी सिर्जना गर्न सक्ने भन्दापनि रोजगारी गर्न सक्ने जनशक्ति मात्रै उत्पादन गरेको छ, त्यो पनि नेपालमा मात्रै । अहिले नेपालका अधिकांश युवाहरु वैदेशिक रोजगारीमा छन् तर स्नातक तह पास गरेको एउटा नेपाली दक्ष कामदारको हैसियतमा विदेश जान सक्दैन । १४/१५ वर्ष पढिसकेपछि विदेशको एउटा कम्पनीमा काम गर्नको लागि २ महिने, ३ महिने तालिम लिनुपर्ने अवस्था छ । भन्नुको तात्पर्य के हो भने नेपालको शिक्षा पद्धतिले सीपमुलक शिक्षामा जोड दिन सकेको छैन ।
हाम्रो देशको शैक्षिक पद्धतिलाई अर्काे कोणबाट पनि नियालौं । हाम्रो देशको शिक्षाले उत्पादन गर्ने जनशक्ति भनेको शिक्षक, लोकसेवा अन्तर्गतका कर्मचारी, वकिल, प्रहरी, सेना, डाक्टर, इन्जिनियर आदि नै हुन् । राष्ट्रको विकास र समृद्धिको लागि यो क्षेत्रको जनशक्तिको आवश्यकता र महत्वलाई नजरअन्दाज गर्न सकिँदैन, कदापि सकिँदैन । तर यसरी पनि विश्लेषण गरौं त, शिक्षक, कर्मचारीको आवश्यकता राष्ट्रलाई सिमित संख्यामा हुन्छ । त्यसैले यो क्षेत्रले पर्याप्त रोजगारीको अवसर दिन सक्दैन । वर्षेनी हजारौं संख्यामा शिक्षक र लोकसेवाका कर्मचारी हुन सक्षम जनशक्ति तयार भइरहेको हुन्छ तर राज्यले सबेलाई सम्बोधन गर्न सक्दैन । सेना प्रहरी हुन बौद्धिक क्षमता भएर मात्र हुँदैन शारिरीक तन्दुरुस्ती पनि चाहिन्छ । त्यसकारण शिक्षित भैकन पनि सबै युवाहरु यो क्षेत्रमा आउने सम्भावना रहँदैन । डाक्टर, इन्जिनियर, पाइलट बन्नु यो सबैको वसको कुरा होइन, बौद्धिक हिसाबले र आर्थिक हिसाबले पनि । बनिहाले पनि यो क्षेत्र भनेका आफै रोजगारी श्रृजना गर्न सक्ने क्षेत्र होइन, बरु अरुले सृजना गरिदिएको क्षेत्रमा रोजगारी गर्ने हो । त्यस कारण अधिकांश युवाहरु हातमा डिग्रीको प्रमाणपत्र बोकेर बेरोजगार बसिरहेका छन् । राज्यले प्रदान गर्ने अवसरमा सबै अटाउने कुरा भएन, आफै केही गरौं भने सीप छैन, अनि अन्तिम विकल्प निस्कन्छ, न्यून पारिश्रमिकको लागि अदक्ष कामदारका रुपमा विदेश यात्रा । त्यस कारण अब हामीलाई डिग्री सकेर बेरोजगार बस्ने हैन, १२ सकेर काम गर्न सक्ने खालको शिक्षा चाहिएको छ । यसको लागि राज्यले प्राविधिक तथा व्यवासायिक शिक्षामा लगानी बढाउनु पर्छ । यसलाई सबै विद्यार्थीको पहुँचमा पुे¥याउने तर्फ ध्यान दिनुपर्छ । प्राविधिक तथा व्यासायिक शिक्षाको दायरा फराकिलो बनाउने र यसतर्फ विद्यार्थीलाई कसरी आकर्षित गर्ने भन्ने तर्फ पनि राज्यले सोच्नु पर्ने समय आइसकेको छ ।
पढाई र पढाई सकिएपछि काम, यो वर्तमान नेपालको टड्कारो आवश्यकता हो भन्ने कुरामा दुइमत छैन । तर पढाई र पढाई पछि कामको अवस्था सजना हुन उक्त देशको शिक्षा पद्धतिले देशमा रहेका सम्भावनाहरुलाई सम्बोधन गर्न सक्नुपर्छ, जुन नेपालको शिक्षा पद्धतिले गर्न सकेको छैन । नेपाललाई कृषि प्रधान देश भनिन्छ तर दैनिक जीवनमा उपभोग हुने खाद्य सामग्री पनि आयात गर्नुपर्ने अवस्था छ । कृषि प्रधान देशमा कृषि जन्य उत्पादनको लागि परनिर्भरता बढीरहेको छ । तर न राज्यले नागरिकलाई यसप्रति आकर्षित गर्न सकेको छ न कृषि सम्बन्धी पढाईलाई व्यवस्थित गर्न नै सकेको छ । क्याम्पस तहका विद्यार्थीलाई थाहा हुँदैन घिरौला रोप्ने सिजन कुन हो ? धानको बीउ कसरी राखिन्छ भनेर ? हाम्रो कृषि प्रधान देश । टोलभरी डिग्री होल्डर युवाहरु छन् तर घरको टिभी वा फ्रिज विग्रियो भने कोही बनाउन जान्दैनन् । नेपालको हालको शिक्षा पद्धतिले विद्यार्थीहरका संसारभरीको ज्ञान त थोपरिदिन्छ तर आफ्नै जीवन चलाउन आवश्यक पर्ने ज्ञान, सीप भने सिकाउँदैन । क्भ्भ् सकेपछि पढ्ने के ? अलि टाठा विज्ञान तिर जान्छन्, बाँकी बचेका कि व्यवस्थापन तिर कि शिक्षा । त्यो विषय पढेर उसको प्रगति हुँदैन, आफैलाई थाहा छ वा कतिपय अवस्थामा उसको रुचि नहुन पनि सक्छ, त्यस्ता विषय प्रति तर त्यो नपढेर के पढ्ने ? अरु सहज विकल्प पनि त छैन । मानौ कुनै एउटा विद्यार्थी आधुनिक र व्यवसायिक कृषि सम्बन्धी अध्ययन गर्न चाहन्छ । कहाँ गएर पढ्ने खोइ सहज पहुँच ? अनि शिक्षा पढ्यो, हातमा डिग्रीको प्रमाणपत्र बोक्यो सके सरकारी जागिर नसके विदेश ।
यतिकुराहर भन्दै गर्दा नेपालको शिक्षा पद्धति पूर्ण रुपमा कामै नलाग्ने छ भन्ने आशय चाहिँ विल्कुल होइन । मेरो आशय के चाहिँ हो भने नेपाली शिक्षाले जुन प्रकारको जनशक्तिहरु उत्पादन गरिरहेको छ, त्यो क्षेत्रमा रोजगारीको लागि त्यति धेरै अवसरहरु राज्यले सृजना गर्न सक्ने अवस्था छैन । जसले प्रत्यक्ष रुपमा बेरोजगारी सृजना भई युवाहरु विदेशिन बाध्य छन्, त्यो पनि अदक्ष कामदारको श्रेणीको ।
त्यसैले नेपालबाट बेरोजगारीको समस्या कम गर्ने हो भने प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने कि ? कृषि प्रधान राष्ट्र भएकोले कृषि प्रति आकर्षित गर्ने खालको पाठ्क्रम विकास गर्ने कि ? रोजगारीको हिसाबले नेपालमा प्रचलनमा रहेको शिक्षा पद्धति र विषयहरु देशको अवस्था अनुकुल छैनन् भन्ने थाहा पाउँदा पनि यसैलाई निरन्तरता दिइराख्ने कि परिवर्तको सोच ल्याउने ? सम्बन्धित सबैले विचार गर्नु जरुरी छ ।