नेकपाका नेता तथा कार्यकर्र्ता अझ नेपाल–दाहाल पक्षधरहरुमा शीर्षक पढ्दा लाग्दो हो, हाम्रा नेताको निष्ठा माथि प्रश्न गर्ने ? तर प्रश्न गर्न पाउनु आम नागरिकको जस्तै मेरो पनि अधिकार भएकोले प्रश्न गरको हुँ र ममा नेपाल–दाहालको अभिष्टमाथि उनीहरुका पछिल्ला क्रियाकलापका कारण संसय उत्पन्न भएकोले यो प्रश्न गरको हुँ । यो प्रश्न नगरेपनि हुने हो किनभने नेपाल–दाहाल गठबन्धनको अभिष्ट के हो भन्ने कुरा लगभग स्पष्ट भैसकेको छ । तर म जस्तै संसयमा रहेका अरु धेरै नागरिकका भ्रमलाई चिर्न सहयोग हुने अपेक्षा साथ अनि प्रश्न गर्ने पेशा भएका कारण पनि यो प्रश्न गरेको हुँ ।
पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनको माओवादी केन्द्रको अवस्था अघिल्लो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा निकै कमजोर बनेको थियो । एक हिसाबले त्यसका नेता पुष्पकममल दाहालको राजनैतिक भविष्य नै संकटमा परेको थियो । अर्काेतिर कम्युनिष्ट एकताको नारा दिएर तथा भूकम्प पछिको सुशिल कोइराला सरकारको पालामा भएको भारतीय नाकाबन्दीका बेला आफुले प्रदर्शन गरको बाध्यात्मक राष्ट्रबादको आडमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अवसर प्राप्त हुने तत्कालिन एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले देखेका थिए ।
एमालेको बुई चढेर संकटमा परेको राजनैतिक जीवनमा संजिवनी छर्न पाईने दाहालको दाउ र माओवादीको ढाडमा टेकेर प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने ओलीको विश्वासको गठजोड थियो, संघीय संसद र प्रदेश सभाको निर्वाचनमा एमाले–माओवादी गठबन्धन । आपसी स्वार्थपूर्ति हुने देखेपछि न एमालेका नेताले न माओवादीका नेताले कार्यकर्तासंग चुनावी गठबन्धन तथा पार्टी एकताका बारेमा सोधपुछ गरे । निकट विगतको निर्वाचनमा दोस्रो र तेस्रो ठूलो दलका रुपमा रहेका दलहरु मिलेर निर्वाचन लड्दा स्वाभाविक रुपमा सकारात्मक परिणाम आयो र झण्डै दुइ तिहाई सांसद संख्या कम्युनिस्ट गठबन्धनलाई मिल्यो ।
गठबन्धनको नाटकले ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो अनि प्रचण्डको राजनीतिक जीवनले संजिवनी पायो । तर प्रचण्डको महत्वाकांक्षा त्यतिमा समाप्त हुने कुरै थिएन । उनी प्रधानमन्त्रीको कुर्सीमा कसरी आफुपनि पुग्ने भन्ने ताकमा थिए । र पार्टी एकिकरणको अध्याय प्रारम्भ भएदेखि नै कचकच सुरु भयो । प्रचण्ड चाहन्थे एमालेको ढाडमा टेकेर सत्ता कब्जा गर्न तर त्यसमा बाधक बने ओली ।
२०७४ फागुन ३ मा ओली प्रधानमन्त्री बने । सोही जेठमा पार्टी एकिकरणको घोषणा पनि भयो । त्यतिबेला ओलीले भनेका थिए, नेकपा भनेका महासागर हो जसमा मिसिएको पानी कुन नदीको हो भनेर छुट्याउन नसकिए झै नेकपामा अब पूर्व एमाले र पूर्व माओवादी भन्ने कोही छैन, सबै नेकपा । तर त्यस्तो भएन । विभिन्न बहानामा पार्टी भित्र किचलो भइरह्यो । किचलो जनताको जीविकासंग जोडिएका विषयमा भएको भए नेपाली जनताले सन्तोष गर्ने थिए । तर सत्ताधारी दल भित्रको किचलोमा कहिल्र्य जनताका समास्याका कुरा उठेनन् । उठे त केवल तं मात्र कुर्सीमा वस्ने हामी वस्न नपाउने ? तेरा आसेपासेले मात्र सेवा सुविधा पाउने हाम्राले नपाउने ? राज्यका श्रोतको दोहन तैंले मात्र गर्ने हामीले गर्न नपाउने ?
आम मानिसलाई लागेको थियो, दाहाल, नेपाल र झलनाथले आफ्नो घोषणा पत्र अनुसारको काम नगर्दा सरकार प्रमुख ओलीलाई खवरदारी गर्ने छन् । प्रश्न गर्नेछन् । आफैले बनाएको घोषणा पत्र पल्टाएर हेर्न ओलीलाई बाध्य पार्नेछन् ।
हामी यहाँ छौं भन्दै नेपाल, दाहाल र खनाल सडकमा आएसंगै उनीहरुको अभिष्ट के हो भन्ने विषयमा प्रसस्त चर्चा हुन थालेको छ । यिनीहरुले चाहेको देश र जनताको समृद्धि हो कि आफ्ना लागि सत्ता ? यो प्रश्न चर्काे रुपमा प्रकट भएको छ । तर प्रश्नको उत्तरमा आफ्ना लागि सत्ता भन्ने जवाफ मात्र आउने व्यवहार उनीहरुले गरेको देखिएको छ । राजनीति गर्र्दै गर्दा जनताको मनमा बस्नेगरी राजनीति गर्न नसकेको सबैले देखेका छन् । र जनताको मन भन्दा कुर्सी प्यारो मानेका नेपाल–दाहालका लागि उपयुक्त स्थान सडक नै हो भन्ने ढंगले पनि प्रतिक्रियाहरु आउन थालेका छन् ।
हुनपनि जनसरोकारका विषयमा कहिल्यै नेपाल–दाहालले टेबल ठोकेनन् । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटियो । सरकारले बलात्कारी हत्याराको खोजी गर्नुसाटो सन्दिग्धहरुको बचाउमा आफ्नो सम्पूर्ण बल लगायो । देशभरका एकखालको त्रास फैलियो । यो बेला सत्ताधारी दलका नेताहरुबाट सरकारलाई बलात्कारी हत्याराको खोजी र आवश्यक कानुनी कारवाहीका लागि दवाव सिर्जना होला भन्ने आम अपेक्षा थियो । तर दाहाल नेपालले कुनै आवाज उठाएनन् । वाइडबडी विमान खरिद प्रकरणमा व्यापक अनियमितता भएको समाचार बाहिर आयो । प्रधानमन्त्रीले दोषीलाई कारवाही हुने आश्वासन दिनुसाटो आफुपनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुनपनि नदिने नारा दोहो¥याई रहे तर कारवाहीको कुनै प्रक्रिया प्रारम्भ गरेनन् । तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड बार्गेनिङको टेप सार्वजनिक भयो । ओलीले बास्कोटाले अनियमितता नगरेको भन्दै उल्टै बास्कोटाको बचाउ गरे तर नेपाल–दाहालले यस विषयमा कुनै विचार राख्न आवश्यक ठानेनन् ।
धानमा मल हाल्ने बेलमा रासायनिक मलको हाहाकार भयो । सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा उत्पादनमा प्रत्यक्ष नकारात्मक असरपर्ने देखियो तर नेपाल–दाहालले यस विषयमा सरकारलाई आवश्यक दवाव दिन आवश्यक ठानेनन् । पार्टीका बैठकहरुमा कहिल्यै कोभिड–१९ विरुद्ध कसरी लड्ने भनेर छलफल भएन । उखु किसानको बक्यौता रकम समयमा दिने विषयमा कुरा भएन । जनताको दैनिक जीवनमा आइपरेका कठिनाइहरुको बारेमा छलफल भएन । यस्ता धेरै विषयहरु थिए र छन् जसलाई प्रभावकारी ढंगले नेपाल–दाहालले उठाउँछन् भन्ने अपेक्षा नागरिकले गरको थिए । तर त्यसो कहिल्यै भएन । त्यसैले नागरिकको प्रश्न, नेपाल दाहालको अभिष्ठ ः समृद्धि कि सत्ता ?
नेपाल–दाहाल अभिष्ट समृद्धि कि सत्ता ?
previous post