कञ्चनपुर जिल्ला भीमदत्त नपा उल्टाखामकी १३ वषिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष भएको छ । यस बीच बलात्कारी हत्याराको खोजी गर्ने भन्दै विभिन्न छानविन समिति बने । तर कुनै पनि समितिले दोषी किटान गर्न सकेनन् । प्रहरी कहिले बलात्कारी हत्यारा भन्दै मानसिक रोगीलाई त कहिले घटना भएका बखत आफ्नै हिरासतमा रहेका व्यक्तिलाई जनता सामु प्रस्तुत गरेर आफ्नो अक्षमता प्रदर्शन गरिरहेको छ । दर्जनौं व्यक्तिहरुको डिएनए परिक्षण गरिएको भनिएको छ, कुनै पनि मेल खाँदैन । केही दिन अगाडि गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तका जस्ता घट्ना पहिलो नभएको भन्दै यस्ता घटना भविष्यमा पनि हुने उल्लेख गरे । पछिल्लो समय त निर्मला हत्याका विषयमा प्रहरी के गरिरहेको छ ? कुनै खोज वा अनुसन्धान भै रहेको छ कि छैन भन्ने पनि थाहा हुन सकेको छैन । यस्तो बेला आएको गृहमन्त्री भनाइले नेपाली चेलीमा त्रास थपिदिएको छ । शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको पनि भन्ने अनि यस्ता घटना भविष्यमा पनि भै रहन्छन् भन्ने कुराले के सन्देश जाने हो नागरिकमा ?
निर्मला पन्त प्रकरण चर्किदै जाँदा प्रधानमन्त्री लगाएत नेकपाका विभिन्न नेताहरुबाट प्रस्तुत विचार सुन्दा सरकार यस्ता विषयमा गम्भीर नभएको बुझ्न सकिन्छ । जनताको ज्यू धनको सुरक्षाको जिम्मा लिएको सरकार प्रमुख र सत्ताधारी दलका नेताहरुबाट दोषीलाई बचाउने गरी जुन अभिव्यक्ति आए, ति दुर्भाग्यपूर्ण थिए । गृहमन्त्री रामबहादुर थापाको पछिल्लो भनाई त झन निन्दनिय छ । आगामि दिनमा पनि यस्ता घटना भै रहन्छन् भनेर के भन्न खोजेका हुन् उनले ? सरकारले गलत गर्न लाग्दा सचेत गराउने जिम्मा पाएको प्रमुख प्रतिपक्ष गृहमन्त्रीका भनाई प्रति किन निरपेक्ष हो बुझ्न सकिएको छैन ।
बलात्कारी हत्यारको खोजी र आवश्यक कानुनी कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली चल्दा एउटा निर्दाेष बालकको ज्यान नै गयो । न्याय माग्दा मृत्युको शिकार हुनु पर्ने विडम्बनाबाट हामी नेपाली कहिले सम्म गुज्रनु पर्ने हो ? यहाँ गीता बस्नेतको ट्वीटरमा अभिव्यक्त विचार उल्लेख गर्नु सादर्भिक लाग्योः–वास्तविक बलात्कारी सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिँदा ज्यान गुमाउनु पर्ने, प्रहरीको गोली र अश्रुग्यास खानु पर्ने के हामीले चाहेको गणतन्त्र यस्तै हो त ? अवश्य होइन । तर विडम्वना हामी यही भोगी रहेछौं । थाहा छैन निर्मलाहरुले कहिले न्याय पाउने हुन् ? निर्मलाले छिट्टै न्याय पाउन । यस्ता घटना भएको फेरी सुन्नु र देख्नु नपरोस् । यो घडीमा हाम्रो निर्मलाका प्रति शब्द श्रद्धा ।