खोजी तिम्रो हरपल गरेँ सम्झनाले परेली
थाके हेर्दा नजर बुढिए जल्जले छन तरेली ।
मायाँ के हो अब त बुझिद्यौ तड्पने गर्छ देही
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।
सिख्रा नांगा बन पवनका वृक्ष सारा पलाए
फिस्टे भद्रे ढुकुर सुखका गृह आफ्ना बनाए ।
जोडी देख्दा मन रहरमा रम्न खोज्दै छ केहि
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।
सेता राता बिबिध कलिका फक्रदै मुस्कुराए
कुर्दाकुर्दै रहर मनका सुस्त सुस्तै हराए ।
इच्छा मेरा पलपल मरे मर्न बाँकी छ देही
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।
सुख्खा पाखा मलजल बिना तिब्र संघर्ष गर्दै
फूल्दै झुल्दै महक सबका नासिका सम्म छर्दै ।
राम्रो सेतो सरल छ बुकी कल्पना गर्छु तेही
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।
घुम्दै हेमन्त शिशिर हुँदै गृष्म वर्षा वसन्त
आए रम्दै शरद सुकिला व्योम तारा अनन्त ।
झल्को तिम्रो तर पनि कतै भान मिल्दैन केही
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।
रोएँ आफ्नै पल बिगतका आज सम्झेर रोएँ
रोएँ धेरै किन किन अझै प्राण अल्झेर रोएँ ।
आशा गर्दै प्रणय सुखको तड्पदै बस्छु रोई
द्यौरालीमा पनि मिलनको चिन्ह भेटिन्न केही ।