दमौली/व्यास नगरपालिकाको आयोजनामा दोस्रो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । शहीद दिवसको अवसर पारेर म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । शहीदप्रति सम्मान प्रकट गर्न माघ १६ लाई म्याराथन आयोजनाको दिन तोकिएको नगर प्रमुख वैकुण्ठ न्यौैपानेले जानकारी दिए । “पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नपाको अभियान” भन्ने नारा सहित दोस्रो पटक आयोजना गर्न लागिएको प्रतियोगितमा १ सय ५० धावकले सहभागिता जनाउने विश्वास नगरपालिकाले लिएको छ ।
गत बैशाख २९ मा पहिलो पटक अल्ट्रा म्याराथन आयोजना गरेको नगरपालिकाले यस पटक पुरस्कार राशी समेत वृद्धि गरेको जनाएको छ । यस वर्ष प्रथम हुने धावकले ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसै गरी दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्थान प्राप्त गर्ने पाँच जनालाई जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यी सबै पुरस्कार कर बाहेक हुने नपाले जनाएको छ ।
व्यास नपा वडा नं ५को मानुङबाट सुरु भई ४४ किमि पर व्यास ८ को पुलिमराङमा पुगी समापन हुने म्याराथनमा गएको पटक ३० भन्दा वढी जिल्लाका एक सय ४४ धावक सहभागि भएका थिए भने एक सय ३३ धावकले निर्धारित दूरी पार गरेका थिए । हरेक वर्ष माघ १६ मा आयोजना गर्ने गरी यस पटकबाट मिति तय गरिएको जनाउँदै न्यौपानेले तनहूँका अन्य धार्मिक, पर्यटकिय तथा ऐतिहासिक स्थलको प्रचारप्रसारका लागि हाफ म्याराथन तथा महिला धावक सहभागि रहने छोटो दुरीका धावन प्रतियोगिता सञ्चालन गर्ने सोचमा उल्लेख गरेको छ ।
प्रतियोगितमा सहभागि हुन चाहनेले माघ १४ गते सम्ममा आफ्नो नाम दर्ता गर्न सक्ने छन् । नाम दर्ताका लागि परिचय खुल्ने कुनै कागज र दुइप्रति फोटो आवश्यक हुने नपाले जनाएको छ । म्याराथनलाई सम्पन गर्न नगर प्रमुखको संयोजकत्वमा १०१ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ भने प्रस्थान विन्दु वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र अन्तिम विन्दु वडानं ८ का वडाध्यक्ष ओझराज पौडेलको संयोजकत्वमा स्वागत समिति निर्माण गरिएको नगरपालिकाले जनाएको छ । गत वर्ष १५ लाख रुपैयाँ खर्च भएकोमा आर्थिक मितव्ययिता अपनाएर १० लाख रुपैयाँमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य नपाले राखेको छ । पहिले आयोजनामा भएका कमजोरीलाई सच्याउँदै आमागि दिनमा प्रतियोगितालाई गुनासो रहित बनाउन नपा प्रयत्नशिल रहने समेत जनाइएको छ ।