![](https://tanahunawaj.com.np/wp-content/uploads/2018/10/31092059_1914649138570080_7638812284709502976_n-280x300.jpg)
ऋषिराम पोख्रेल
अधिवक्ता
पृष्ठभूमिः
दान बकस हामीहरुको जीवनमा चलिआएको प्रथा परम्परा हो । त्यही प्रथालाई विगत देखिने कानूनले मान्यता दिदै आएको थियो । भरखरै २०७५ भदौ १ गतेबाट लागू भएको कानूनमा धेरै जस्तो व्यवस्था समान रहेका छन् । तथापि आमपाठकको जानकारीका लागि यो सन्दर्भ सामाग्री बन्न सक्दछ ।
दान बकस भएको मानिनेः
दान र बकसलाई कानूनले छुट्टाछुट्टै परिभाषा गरेको छ । साधारणतः निःशुल्क दिएको दान रिझगुण वापत दिएकोलाई बकस भनिकन कानूनले परिभाषा गरेको छ ।
दान वा बकस बदर हुनेः
दान बकस पाउने व्यक्तिले दान वा बकस स्वीकार नगरेमा त्यस्तो दान वा बकस स्वतः बदर भएको मानिन्छ । शेषपछिको दान बकस दिएकोमा दान दिने व्यक्ति भन्दा दान पाउने व्यक्तिको मृत्यू भएमा त्यस्तो दानबकस स्वतः बदर भएको मानिन्छ । त्यसै गरी संघ संस्थालाई दान वा बकस दिएमो त्यस्तो संस्था विघटन भएमा पनि स्वतः बदर भएको मानिन्छ । गर्भमा रहेको शिशुलाई दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रुपमा नजन्मेमा र दान वा बकस दिएको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा दान वा बकस स्वतः बदर भएको मानिन्छ ।
बदर गराउन सकिनेः
दिएको दान वा बकस बदर गराउन सकिने गरी कानूनले व्यवस्था गरेको छ । सो अनुसार आफ्नो हक नपुग्ने सम्पत्ति अथवा दिनेका नाउँमा रहेको अरुको समेत हक लाग्ने सम्पत्ति दान बकस दिएको भए त्यस्तो सम्पत्ती हक पुग्नेले सक्दछ । कानूनले मन्जुरी लिनु पर्ने भनि तोकिएको व्यक्तिको मन्जुरी नलिई दिएको भए पनि बदर गराउन सकिन्छ । असक्षम र अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा पनि त्यस्तो सम्पत्ती बदर गराउन सकिनेछ ।
शेषपछिको बकसपत्रः
कसैले शेषपछिको बकसपत्र दिन सक्दछ । तर यस्तो बकसपत्र जुनसुकै बखत बदर गराउन सकिन्छ । एकलाई दिएको बकस बदर नगरी अर्कोलाई दिन भने सकिदैन । कसैले दोहोरो पारी कसैलाई बकस पत्र दिएकोमा पहिलो बकस पत्र स्वतः बदर हुने कानूनले व्यवस्था गरेको छ ।
फौजदारी कसूर गर्नेले नपाउनेः
दान वा बकस दिने व्यक्तिका विरुद्धमा फौजदारी कसूर गरेको कुरा ठहराउने निकायबाट ठहरिएमा त्यस्तो कसूर गर्नेले त्यस्तो दाताले दिएको दान वा बकसको सम्पत्ती प्राप्त गर्न सक्दैन ।
कानूनले तोकेको हदम्यादः
आफूले दान वा बकस पाएकोमा दान वा बकस पाएकोमा हक पुगेको मितिले दुई बर्षभित्र कानूनी उपचार खोज्नु पर्दछ । त्यसै गरी दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई बर्षभित्र कानूनी उपचार खोज्नु पर्दछ । अन्य अवस्थामा मर्का पर्ने पक्षले त्यस्तो काम कारवाही भए गरेको थाहा पाएको मितिले एक बर्षभित्र नालिस गर्नु पर्ने गरी कानूनले व्यवस्था गरेको छ ।
निष्कर्षः
दान वा बकसका विरुद्धमा कानूनी उपचार खोज्ने कुरा त्यति सहज लाग्दैन । तर कसैको हक मेटाउनकै लागि कानूनको गलत मार्ग कसैले समायो भने त्यसलाई दान बकस मान्न पनि सकिदैन ।