दमौली राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र विकासका लागि आफुले जुनसुकै ठाउँमा बोल्ने र सचेत गराउने बताएका छन् । राष्ट्रपति पौडेलले उक्त कुरा शनिबार व्यास नगरपालिका–३ बीपी वनपाटिकामा नवनिर्मित दमौली सभागृहको उद्घाटन गर्ने क्रममा बताएका हुन् ।
आफुले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने बताउँदै राष्ट्रपति पौडेलले राजनैतिक स्थायित्व र सुशासनमा मात्र विकास सम्भव भएको उल्लेख गरे । निमुखालाई न्याय र विपन्नलाई आयको आवश्यकता भएको उल्लेख गर्दै पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार विकासमा ध्यान दिएको बताईन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशहरुले उपलब्ध सीमित श्रोत र साधनलाई अधिकतम परिचालन गरेर देशको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । यो देशमा केही हुँदैन भनेर युवाहरुमाझ निराशाको व्यापार गर्नेहरुबाट सचेत रहँदै जनआकांक्षा अनुकूल विकास गर्नु पर्न आवश्यकता औल्याए ।
कार्यक्रममा तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारी, क्षेत्र नं १ का स्वर्णीम वाग्ले, कांग्रेस युवा नेता तथा सांसद प्रदिप पौडेल, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ तथा भगवती न्यौपाने लगाएतले मन्तव्य राखेका थिए ।
शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह विसं २०७४ माघ २८ गतेदेखि निर्माण प्रारम्भ भएको हो ।
बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ सुविधा रहेको सभागृहको क्षमता ५ सय ९३ रहेको छ । मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।
दमौली सभागृहको राष्ट्रपति पौडेलद्वारा उद्घाटन
previous post