नेपाल रेडक्रस सोसाइटी तनहुँले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणमा अगुवाई लिएको छ ।
यो वर्ष गत असारबाट देखिन थालेको डेंगीले तनहुँमा ज्यान जाने तथा हजारौं संक्रमित हुने अवस्था भएपछि यसको रोकथाम तथा नियन्त्रणमा रेडक्रसले अगुवाई लिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँका अनुसार अति संक्रमित आँबुखैरेनीको मित्रता माविको सचेतना कार्यक्रमका अतिरिक्त ‘खोज र नष्ट गर’ अभियानको कार्यक्रम सञ्चालन गरिसकेको छ भने दोस्रो अति प्रभावित शुक्लागण्डकीको पञ्चमुनीदेव माविमा पनि सोही कार्यक्रम सञ्चालन गरिसकेको छ । विद्यालयमा गरिने कार्यक्रमले डेंगी नियन्त्रण र रोकथाम कार्यक्रम समुदायसम्म छिटो पुग्ने विश्वासका साथ विद्यालय, शिक्षक र विद्यार्थीहरुमा खोज र नष्ट गर कार्यक्रम लिएर गएको जानकारी नेरेसो तनहुँका सभापति कृष्णप्रसाद गौतमले गराए ।
व्यास नगरपालिकाका प्रभवित सहरी वडाका टोलटोलमा पुगेर रेडक्रसका स्वयम् सेवकले डेंगीको जोखिम, यसका लक्षणहरु तथा यसबाट बच्ने उपाय बताउनुका अतिरिक्त खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरिरहेको नेरेसो तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले बताए ।
यसैबिच रेडक्रस तनहुँले बुधबार विद्यालयका विद्यार्थी तथा शिक्षकहरुका लागि डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।
प्रतिनिधिसभा सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्य एवं व्यास नपाका विभिन्न १० विद्यालयका शिक्षक नायक, स्वास्थ्य विषय शिक्षक तथा विद्यार्थी सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा व्यास नगर अस्पतालकी मेडिकल अफिसर नविना न्यौपानेले डेंगी रोग, यसको रोकथाम, उपचार लगाएत विषयमा सहभागीलाई जानकारी गराईन् । डा. न्यौपानेका अनुसार डेंगी भाइरस चार प्रकारको हुने र एक प्रकारको भाइरसका कारण भएको डेंगी पुनः नहुने भएपनि अर्काे प्रकारको भाइरसले दोस्रो पटक डेंगी भएमा त्यो जटिल हुन्छ ।
उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने तथा बान्ता हुने जस्ता लक्षण देखिने बताउँदै डा न्यौपानेले डेंगीका बेला औषधीको रुपमा सिटामोल बाहेक केही खान नहुने
बताईन् । जीवनजल पानी प्रसस्त पिउने, मेवा, चुकन्दर जस्ता फलफूल खाने गर्नु उपयुक्त हुने उनको सल्लाह थियो । उनले किटनाशक औषधी प्रयोगले वयस्क लामखुट्टे मात्र मर्ने तर त्यसको अण्डा, प्यूपा र लार्भालाई नष्ट गर्न नसक्ने तथा त्यसले दममा रोगीलाई नकारात्मक असर गर्ने बताईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले मानव स्वास्थ्यको चुनौती बनेर आएको डेंगी नियन्त्रणमा विद्यार्थीको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै रेडक्रसको खोज र नष्ट गर अभियानमा सरिक भएर डेंगी नियन्त्रणमा सघाउन विद्यार्थीहरुलाई आग्रह गरे । कार्यक्रममा नेरेसो गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, शिक्षक नायक प्रमोद न्यौपने लगाएतले डेंगी नियन्त्रण सम्बन्धमा आआफ्ना विचार राखेका थिए । डेंगीका कारण असार यता तनहुँमा २ हजार ७३९ जना संक्रमित भइसकेका छन् । आँबु खैरेनीमा सबैभन्दा धेरै एक हजार ४३४ जना संक्रमित फेला परेका छन् भने सबैभन्दा कम ऋषिङमा तीन जना संक्रमित भेटिएका छन् । घिरिङमा भने हालसम्म एकजना पनि संक्रमित भेटिएका छैनन् ।