
[email protected]
प्रहरी प्रशासनले अपराधिक गतिविधिलाई नियन्त्रण गर्न र गैरकानुनी कामहरुलाई रोक्नको लागि विना कुनै जानकारी अचालक गर्ने छानविन वा खोजतलासलाई सामान्य भाषामा छापा मार्नु भनिन्छ । त्यसो त छापा मार्ने काम प्रहरी प्रशासनले मात्र गर्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका अन्य कानुनी निकायहरुले पनि आफ्नो क्षेत्राधिकार भित्र भैरहेको विकृति र विसंगतिहरुलाई रोक्नका लागि समय समयमा छापा मार्ने गरेको खबरहरु सञ्चार माध्यममा आईरहन्छन् । तर छापा मार्ने भन्ने वित्तिकै आममानिसको बुझाईमा प्रहरीले मार्ने छापा भन्ने नै बुझिन्छ । हुन त गोप्य भरपर्दो सूचना प्राप्त नभैकन प्रहरीले हत्तपत्त छापा मार्दैन । शंकाकै भरमा छापा मार्न पाईने व्यवस्था सायद प्रहरीको कानुनमा पनि नहुँदो हो । तर प्रहरी जवानदेखि अधिकृत, उच्च अधिकारीहरु सबै एकै प्रबृत्ति र मानसिकताका हुन्छन् भन्ने पनि छैन । प्रहरीको प्रमुख कर्तब्य भनेको समाजमा नियम कानुनको स्थापना गरी शान्ति सुव्यवस्था कायम गर्नु हो । तर कैयौ प्रहरी अधिकृतहरु आफै आफ्नै प्रशासनको नियम कानुनलाई मिचेर मनलाग्दी तरिकाले कार्य गरिरहेको पनि पाईन्छ । जसले गर्दा कतिपय अवस्थामा स्वयम प्रहरी प्रशासन नै समाजको सामु लज्जित हुनु परेको छ र कतिपय अवस्थामा जनताको साथी मानिने प्रहरीको काम कारवाहीले गर्दा जनताले नै दुःख पाउनु परेको घटनाहरु पनि हाम्रै सामु छन् ।
प्रहरी प्रशासन समाजको अभिन्न अंग हो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न र समाजको सुरक्षाको लागि प्रहरीको आवश्यकता र महत्वलाई शब्दमा बयान गरिराख्न जरुरी छैन । आफ्नो परिवार भन्दा टाढा रहेर देश र जनताको लागि दिनरात नभनि सेवामा खटिई रहेका प्रहरीहरु । घाम, पानी, हिलो, धुलो धुवाँ केही नभनि हाम्रै सेवामा सदैव समर्पित रहन्छन् । त्यसैले पनि भनिएको होला ‘प्रहरी मेरो साथी’ यसरी दिलो ज्यान दिएर तपाई हाम्रै लागि खटिने प्रहरी दाजूभाई दिदीबहिनीहरुमा यही आलेख मार्फत नमन व्यक्त गर्न चाहन्छु । कतिपय अवस्थामा हाम्रै लागि खटिने प्रहरीलाई हामीले यथोचित सम्मान र मायाँ दिनबाट पनि चुकि रहेका हुन्छौं । यस्तो अवस्थामा ग्लानीको अनुभूति भैरहन्छ पछि सम्म पनि । जे होस् केही विकृति र भ्रमहरुलाई छोड्ने हो भने प्रहरी हाम्रै साथी हुन् । हाम्रै लागि हुन् । सामाजिक सुरक्षाको निमित्त प्रहरीले निरन्तर केही न केही कार्य गरिहेको हुन्छ । चाहे त्यो जनचेतना मूलक कार्यक्रम होस्, चाहे खोज मूलक अनुसन्धान या चाहे त्यो सर्वेक्षणको कार्यक्रम नै किन नहोस् । प्रहरीले गर्ने यस्तै विविध कार्य मध्ये एक हो, छापा मार्नु । प्रहरीले मार्ने छापा विभिन्न विषय र क्षेत्रसंग सम्बन्धित हुन्छ । यो आलेखमा म अन्य विषय र क्षेत्रलाई थाती राख्दै एउटै कुरामा मात्र प्रस्तुत हुने कोशिश गर्दैछु । त्यो हो गेष्ट हाउस र लजमा मार्ने छापा ।
–हिजो राती इलाका प्रहरी …. ले ….. गेष्ट हाउसमा छापा मार्दा ….. जना यौनकर्मिहरु पक्राउ ।
–युगल जोडी प्रहरीको फन्दामा ।
–प्रहरीले छापा मार्दा आपत्तीजनक अवस्थामा भेटिए युवा युवती ।
–पार्लर सञ्चालनको आडमा यौन व्यवसाय ।
समय समयमा अखवारका पृष्ठहरुमा देखिने, प्रहरीले गेष्ठ हाउस र लजमा छापा मार्दाको घटनालाई सम्बोधन गर्ने प्रतिनिधि पंक्तिहरु हुन् यी ।
यौन व्यवसायलाई नेपालमा गैर कानुनी मानिन्छ । गैरकानुनी भएपनि यो व्यवसाय नेपालमा फस्टाउँदो छ । कोही करले त कोही रहरले त कोही संगतले यो व्यवसायप्रति आकर्षित हुन्छन् । विगतमा नेपालका विभिन्न ठाउँहरु घोषित अघोषित रुपमै यौन व्यवसायका लागि परिचित थिए । अहिले हुन सक्दछ, ठाउँ फेरिए होलान्, पेशाकर्मि फेरिए होलान् तर यौन व्यवसाय नेपाली समाजबाट हटेको छैन । सायद त्यसैले पनि बेलाबखतमा यौन व्यवसायलाई पनि कानुनी दायरामा ल्याएर अन्य पेशा, व्यवसाय जस्तै व्यवस्थित गर्नुपर्ने कुराहरु पनि उठ्छन् । खैर आजको मितिसम्म नेपालको कानुनले यो पेशालाई कानुनी मान्यता दिएको छैन । तसर्थ यसको नियन्त्रण र न्यूनिकरण गर्नु पनि प्रहरीको दाइत्वभित्र पर्न आउँछ । त्यसैले प्रहरीले समय समयमा गेष्ट हाउस र लजमा छापा मार्ने गर्दछ । तर एउटा सोच्नै पर्ने प्रश्न यहाँनेर के छ भने लजमा गेष्ट हाउसमा भेटिने सबै युवा युवती यौनकर्मि नै हुन्छन् त ?
होटल, गेष्ट हाउसमा भेटिने सबै युवा युवती यौनकर्मि हुँदैनन् । कतिपय अवस्थामा प्रहरीले होटल र गेष्ट हाउसमा छापा मार्दा युगल जोडीहरु फन्दामा पर्ने गरेका छन् र अनाहकमा समस्या व्यहोर्न बाद्य छन् । केटा वा केटी मध्य कोही एक कानुनी नजरमा नावालक भएको अवस्थामा हुने कानुनी कारवाही र प्रक्रिया अलग छ । तर कानुनी रुपमा दुवै बालिक भएको अवस्थामा पनि समस्या व्यहोर्न बाद्य छन् युगल जोडीहरु । देख्दा सुन्दा सामान्य लाग्छ तर त्यसरी लजमा भेटिएका जोडिहरुलाई गरिने कारवाहीको परिणाम ज्यादै भयानक हुन्छ । सामान्यतयः त्यसरी पक्राउ परेका जोडीहरुलाई अभिभावकको जिम्मा लगाएर छोड्ने गरेको पाईन्छ । अभिभावकको जिम्मा लगाई दिएपछि प्रहरीको काम त सकिन्छ । तर ती युवा युवती अझ विशेष गरी युवती र परिवार र समाजमा सामना गर्नु पर्ने समस्या र तिरस्कारको फेहरिस्त लगाउने भए लामै हुन्छ । के ती युवतीको लागि प्रहरी प्रशासनको यो काम गराईको तरिका न्यायोचित भयो त ? त्यसैले पनि एक अर्काको सामिप्तामा रमाउन चाहने युगल जोडीहरु होटलमा कोठा लिनु अघि दशौं पटक सोंच्न बाद्य छन् । बाद्य छन् उनिहरु आफूभित्रको चाहनालाई आफै भित्र दवाएर राख्न । कहिले समाजको डरले त कहिले प्रहरीको डरले ।
प्रेम गर्नु गैरकानुनी कार्य होइन । प्रेम गरेकै कारणले कुनै पनि कानुनी सजायको भागिदार हुनुपर्ने व्यवस्था छैन । तर कतिपय नेपाली समाजले प्रेमलाई गैरकानुनी बनाई दिएको छ । एक हिसाबले प्रेम बर्जित जस्तै छ । विशेष गरी छोरीको लागि । आफ्नो छोराको प्रेमको विषयलाई सहजै स्वीकार दिने अभिभावकले छोरीले प्रेम नगरोस् भन्ने चाहन्छ । त्यसैले पनि प्रेम जोडीहरु भेट्न पर्दा परिवार र समाजको आँखा छलेर भेट्ने गर्दछन् । घर परिवारलाई ढाँटेर भेट्ने भएपछि सार्वजनिक स्थलमा त भेटन खतरा हुने नै भयो । कहिँकसैले देख्ला भन्ने डर । त्यसैले उनिहरुको रोजाई प्रायः एकान्त ठाउँ नै हुने गर्दछ । जस्तै नदी किनार, जंगलको छेउछाऊ । त्यस्तो ठाउँमा पनि प्रहरीको आकस्मिक आगमनले गर्दा भागाभाग । प्रेमको नाममा बलात्कार, हत्या, लुटपाट जस्ता घटनाहरु बढी रहेको अवस्थामा प्रहरीले संभावित ठाउँमा गस्ति गर्नु पनि आवश्यक छ । तर एउटा दुईटाले गर्दा सबैलाई आपत । यदि कुनै जोडिले सार्वजनिक स्थल जस्तै मन्दिर, पार्क मै बसेर मनका कुरा साटासाट गर्ने आँट गरे भने पनि त्यहाँबाट लखेट्न पनि प्रहरी नै । प्रहरीकै भाषामा सोझै भन्दा, ‘के गरि रा ? यो डेटिङ बस्ने ठाउँ हो ? गै हाल ।’ विचरा प्रेम जोडिहरु । एक त घरपरिवारलाई झुक्याई, झुक्याई, महिना दुई महिनामा एक पटक लामो समयसम्म गफिने गरी भेट्नु छ, त्यसमा पनि गफिने ठाउँको समस्या । होटलमा कोठा लिएर बसौं भने प्रहरीले छापा मार्ला कि भन्ने डर ।
प्रेम प्राकृतिक कुरा हो । हर कोहीलाई जीवनको कालखण्डमा कोही कोहीसंग प्रेम हुन सक्दछ । प्रेमको परिभाषा व्यापक छ । आममानिस देखि दार्शनिकसम्मले प्रेमलाई आफ्नो भोगाई र बुझाईको आधारमा व्याख्या गरेका छन् । कतिपयको बुझाई छ सच्चा प्रेममा शारीरिक सुखले स्थान पाउनु हुँदैन । कुनै दृष्टिकोणले यो कुरा पनि सही होला । साथसाथै अर्को सत्य के पनि हो भने युवा अवस्थामा गरिने प्रेम कुनै दार्शनिकको दर्शनको आधारमा गरिदैन । अर्को सत्य के पनि हो भने भावनात्मक रुपा गरिने गरिने प्रेमले पनि प्रगाढता बढ्दै जाँदा उमेरसम्मत शारीरिक अवश्यकताको महसुस गर्दछ । यो एक प्रकारले प्रकृतिको नियम नै हो । यस्तो अवस्थामा कुनै युगल जोडी एकअर्कोमा भुल्न चाहन्छन् रमाउन चाहन्छन् र एकाकार हुन चाहन्छन् भने छापा मारेर उनिहरुलाई पनि यौनकर्मिको व्यवसायीहरुलाई जस्तै व्यवहार गरिनु कत्तिको न्यायोचित हो ? उनिहरुको खबरहरुले समाचारपत्रको पृष्ठहरु सजाईनु, कत्तिको आवश्यक कुरा हो ?
मेरो आलेखको आषय यौन व्यवसायलाई बढवा दिनु पर्दछ भन्ने होइन । कुनै दिन कुनै समय यस विषयमा पनि कलम चलाउँला । न त मेरो आषय यौन बारेमा खुल्लापन माग गर्नु नै हो । तर यतिकुरा चाही हो, यौनको विषयमा खुलेर कुरा गर्नु आवश्यक छ । मेरो कुरा खाली समाजको कतिपय बुझाई, भोगाई र काम गराईप्रतिको चित्त नबुझाई मात्र हो । किनभने कथित मर्यादित हाम्रो समाजले आफू जुन अवस्था, अनुभव र भोगाईबाट गुज्रिएर आयो त्यो आफू पछिका पुस्ताले नभोगुन् भन्छ, प्रकृतिक नियमका कुराहरु पनि । जहाँसम्म गेष्ट हाउसमा छापा मार्ने प्रसंगको कुरा छ, यसको लागि पनि अब छुट्टै कानुन बनाईनु पर्ने भएको छ ।
जस्तै कि युवा युवती या महिला पुरुष एउटै कोठामा बस्दा विवाह दर्ताको प्रमाण साथमा हुनु पर्ने नत्र कारवाही हुने । युवायुवती संगै बस्दा आफू यौनकर्मि नभएको प्रमाण दिन सक्नु पर्ने । या अझै सजिलो कानुनमै विवाह नभएको केटाकेटी एकान्तमा संगै बस्न नपाउने । विवाह पूर्वको शारीरिक सम्बन्ध पनि बलात्कार जस्तै कानुनी अपराध मानिने छ भनेर लेखिदिऊँ । होइन भने दुःखसुख साटासाट गर्दै एक अर्कालाई सँधै साथ दिने सपना बुन्दै जीवनभर संगै हुने बाँचा कसममा हराएका प्रेम जोडीलाई (जो कानुनी रुपमा बालिक छन्) झ्याप्प झ्याप्प समाउनु पर्ने आवश्यकता र बाद्यता किन ?