पृष्ठभूमिः
घर बहालमा लिने र दिने व्यवस्थालाई कानूनले व्यवस्थित गर्ने प्रयास गरेको छ । आजकल त घर बनाउने बस्नका लागि पछि भाडामा लगाई भाडा खाने प्रयोजनका लागि पनि घरहरु बन्न थालेका छन् । यसैले घर बहाल पनि एक प्रकारको व्यापार जस्तो बन्न गएको सन्दर्भमा नयाँ कानूनले घर बहाल सम्बन्धी व्यवस्थालाई कानूनी दायरामा ल्याउन खोजेको छ । यसको अर्को पक्ष कर प्रणालीलाई प्रभावकारी रुपमा लागू गर्न सहज गराउनका लागि पनि घर बहाल कानून बमोजिम हुनु पर्ने बाध्यात्मक व्यवस्था भयो
सम्झौता गर्नुु पर्ने ः
कानूनले घर बहालमा दिंदा सम्झौता गर्नु पर्ने सवाललाई किटानीका साथ व्यवस्था गरेको छ । तर बीस हजारसम्मको मासिक घर बहालका सम्बन्धमा सम्झौता गर्नु नपर्ने कानूनी व्यवस्था छ । अबको घरबहाल सम्झौतामा बहालमा बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नुपर्ने व्यवस्था छ । साथै तयार गरिने लिखित सम्झौतामा खुलाउनु पर्ने कुराहरुलाई पनि कानूनले स्पष्ट रुपमा खुलाई दिएको छ । सो अनुसार त्यस्तो लिखतमा नागरिकता नं. र जारी मिति राख्नु पर्ने अनिवार्य गराएको छ । विदेशी नागरिकसंग भए राहदानी नं. र जारी गर्ने जिल्ला र मिति पनि उल्लेख गर्नुपर्नेछ । घर रहेको ठेगाना, जग्गाको कित्ता नं., प्रयोजन, बहाल शुरु हुने मिति, खुलाएको हुनु पर्दछ । साथै कायम रहने अवधि, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रक्रिया, विजुली, पानी, टेलिफोन, बहाल कर समेत बुझाउने दायित्व कस्को हो खुलाउनु पर्नेछ । तोकिएको अवधि अगावै घरबाट हटाउनु परेमा, वा छोड्नु परेमा के गर्ने सम्बन्धी कुरा पनि खुलाएको हुनु पर्दछ ।
घरधनीको दायित्वः
घरधनीले घरबहाल सम्झौतामा उल्लेख भएबमोजिम घर उपयोग गर्न दिनु पर्दछ । पानी तथा विजुलीको आपूर्ति, ढल निकास तथा सरसफाईको व्यवस्था मिलाई दिनु पर्दछ । घरमा बस्ने व्यक्तिलाई असुरक्षा, हैरानी व अशान्ति हुनबाट रोक्नु पर्दछ ।
घरबहालमा लिनेको दायित्वः
कानून बमोजिम महिना समाप्त भएको पहिलो हप्ताभित्रै घरभाडा बुझाउनु पर्दछ । बहालमा लिएको घरलाई आफ्नो घर सरह सरसफाई, हेरचाह संरक्षण गर्नुपर्दछ । अन्य व्यक्ति र छिमेकीप्रति असल छिमेकीपन प्रकट गर्नुपर्दछ । अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न वा गराउन हुँदैन । सम्झौताको इमानदारीपूर्वक पालना गर्नुपर्दछ ।
करको दायित्वः
घरबहाल कर तिर्ने दायित्व घरधनीको हुन्छ । तर घरबहाल सम्झौतामा लेखिएको अवस्थामा भने सोही बमोजिम हुन्छ । सम्झौतामा नलेखिएता पनि बहालमा बस्नेले घरबहाल कर तिरेको रहेछ भने घरबहालमा कटाइ बाँकी भुक्तान गर्न सक्नेछ ।
मर्मत तथा संभारको दायित्वः
आफूले भाडामा लिएको घरको मर्मत तथा सम्भार गर्ने दायित्व बहालमा बस्नेको हुन्छ । तर सम्झौतामा लेखिएको अवस्थामा सम्झौता बमोजिम हुनेछ ।
अर्को व्यक्तिलाई बहालमा दिन सक्ने ः
आफूले भाडामा लिएको घर अरुलाई दिन सक्ने कुरा सम्झौतामा लेखिएको अवस्थामा अरुलाई दिन सक्ने व्यवस्था कानूनले गरेको छ । सम्झौता बमोजिम हुनेछ । त्यसको सूचना घरधनीलाई दिनु पर्नेछ । बहालमा बस्नेबाट बहालमा बस्नेले भाडामा बस्नेले पालना गर्नुपर्ने सबै सर्त पालना गर्नुपर्नेछ ।
विविधः
घरबहालमा बस्नेले घरधनीको स्वीकृति बेगर संरचनामा कुनै हेरफेर गर्न पाउने छैन । सम्झौतामा जुन उद्देश्यका लागि लिईएको छ सोही बमोजिम प्रयोग गर्नु पर्दछ । सम्झौता विपरित घर प्रयोग पाईने छैन । बहालमा लिएको घर सम्झौता अवधि भन्दा अगावै घर छाड्नको लागि घरधनीले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको हुनुपर्दछ । जुन प्रयोजनका लागि घर लिएको हो सो प्रयोजनका लागि घर नचाहिएका अवस्थामा अवधि अगावै घरछाड्न सक्ने व्यवस्था छ । घर छाड्न पर्ने अवस्था भएमा पैतिस दिन अगावै घरधनीलाई जानकारी गराउनु पर्नेछ ।
घरधनीले हटाउन सक्नेः
घरधनीले बहालमा बस्नेले सम्झौता विपरित काम गरेमा घरबाट हटाउन सक्नेछ । कानूनले निषेध गरेको कामका लागि घर प्रयोग गरेमा घरबाट हटाउन सक्नेछ । घरधनी आफैलाई घर आवश्यक परेमा पनि घरबाट हटाउन सक्ने व्यवस्था छ । मर्मत सम्भार गर्नुपरेमा पनि हटाउन सक्ने व्यवस्था छ । प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको मान्छेलाई दिन अनुपयुक्त भएमा पनि हटाउन सकिने व्यवस्था छ ।
स्थानीय तहले घरखाली गर्न सक्नेः
तीन महिना वा सो भन्दा बढी अवधिसम्म बहाल रकम नबुझाएमा सार्वजनिक सूचना गर्दा पनि सम्पर्कमा नआएमा स्थानीय वडा कार्यालयमा निवेदन दिई पुनः सार्वजनिक सूचना दिँदा पनि उपस्थित नभएमा वडा कार्यालयले घर खाली गराउन सक्ने व्यवस्था छ ।
वडा कार्यालयमा निवेदन परेको एक महिना भित्र पनि त्यस्तो कार्यालयले कुनै कारवाही नगरेमा सम्बन्धित घरधनी आफैले सम्बन्धित वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी कर्मचारी र कम्तिमा दुई जना स्थानीय व्यक्तिलाई साक्षी राखी लिखत खडा गरी घर खोली निजको मालसामान प्रहरीको जिम्मा दिनुपर्ने कानुनी व्यवस्था छ ।
निष्कर्ष ः
घरबहाललाई पनि कानूनद्वारा व्यवस्थित र सुरक्षित गराउने प्रयास राज्यले गरेको छ । यसबाट राज्यले आफूलाई कर असुलीमा सहजता आउने सोंच राखेको बुझ्न गाह्रो छैन । संगसंगै बहालमा बस्ने र घर धनीको पनि फरक फरक स्वार्थ सुरक्षणको व्यवस्था कानूनले गरेको हामी सबैले बुझेर व्यवहार गर्नु पर्दछ ।