आज विहिबार, इस्वी सम्वतको अक्टोबर १७ । संसारभर र नेपालमा पनि तामझामका साथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ । ठूला ठूला होटलहरुमा गोष्ठी र सेमिनारहरु हुनेछन्,,हुने खानेहरु जम्मा हुनेछन् । खाए मकै नखाए भोकै हुनेहरु अझ भनौं हुँदा खानेहरुको बारेमा कुरा गर्नेछन् । यो क्रम चलेको सन् १९८७ बाट हो र यो क्रम चलेको पनि अहिले ३७ वर्ष पूरा भएर ३८ वर्ष लागेछ । यसले हुने खानेहरुको अवस्थामा परिवर्तन ल्यायो तर हुँदा खानेहरुको अवस्था भने जस्ताको तस्तै छ ।
भनिरहनु परेन गरिबी उत्पादनसंग जोडिएको कुरा हो । र उत्पादनमा विभिन्न कुराहरुले प्रभाव पारेका हुन्छन् । एउटा परिवार किन गरिब भयो भनेर हेर्ने हो भने उत्पादनमा कमि भएका कारण भनेर सजिलै भन्न सकिन्छ र उत्पादनमा कमिसंगै कुपोषण, रोग जस्ता कुराहरु जोडिएर आउँछन् । अझ उल्लेख्य कुरा के हो भने कुनै परिवार आफुमात्र सम्पन्न भएर हुँदैन बरु छिमेकलाई पनि सम्पन्न नबनाउँदा सम्म सम्पन्न भनिएको परिवारको सम्पन्नताले पूर्णता पाउँदैन भन्ने अवधारण अब विकसित हुँदै आएको छ । यो अवधारण खासगरी विकसित देशहरुमा पछिल्लो समय बलियो हुँदै गएको पाईन्छ । त्यसैले संसारका धनी भनिएका देशहरु आफ्नो छिमेकमा रहेका अल्पविकसित वा विकासशिल देशको आर्थिक समाजिक विकासमा सहयोग गर्न तत्पर रहने गरेका छन् । चीन वा भारत हामीलाई किन सहयोग गर्न हरदम तयार रहन्छन् भन्ने कुरालाई मनन् गर्ने हो भने पनि यो तथ्य पुष्टी हुन्छ ।
यस वर्षको नोवेल पुरस्कार विजेता अमेरिकी तीन अर्थशास्त्रीहरु डारोग एसीमोग्लु, साइमन जोन्सन तथा जेम्स रोविन्सले गरिबीकै बारेमा अनुसन्धान गरेर उक्त पुरस्कार पाएको हुन् । उनीहरुले कुनै देश किन धनी र कुनै देश किन गरिब हुन्छन् भन्ने विषयमा अनुसन्धान गरको थिए । यसले पनि अब संसारमा गरिबी र समृद्धिका कुरा महत्वका साथ उठ्न थालेको प्रष्ट हुन्छ ।
सन् १९९३ को सुडानको खडेरी र त्यसका कारण सिर्जित भोकमरीबारे जानकारी राख्ने र त्यहाँका नागरिकको पिडा अनुभूत गरेका जो कोहीले गरिबका नाममा आफुले कमाउने धन्दा गर्न
सक्दैन । तर हामीकहाँ जे नहनु पर्ने हो त्यो सबै भइरहेको छ । नेपालमा योजनाबद्ध विकासको थालनी भएसंगै थालिएको गरिबी निवारणका कार्यक्रमहरु ६ दशक पुग्दा पनि प्रभावकारी हुन सकेका छैनन र अपेक्षा अनुसार गरिबी निवारण हुन सकिरहेको छैन । गरिबी निवारण नभएसम्म देशमा शान्ति , नागरिक सुरक्षा र विकास सम्भव छैन भन्ने कुरा हाम्रो राजनैतिक र प्रशासनिक नेतृत्वले नजानेको वा नबुझेको अवश्य होइन तर सार्थक थालनी हुन सकेको छैन ।
संगै रहेको तस्वीर त्यतिबेलाका सुडानी नागरिक खासगरी बालबालिकाको दूरावस्था झल्काउन पर्याप्त छ । दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले खिचेको यो तस्वीरमा एउटी कुपोषणले ग्रस्त बालिका (कार्टरका अनुसार) देखिन्छिन् र उनलाई पछाडिबाट नियालिरहेको एउटा गिद्ध । आधा माइल अगाडि रहेको संयुक्त राष्ट्र संघिय खाद्य कार्यक्रमको कार्यालयमा जान घिस्रेकी भनिएकी बालिकाको यो तस्वीर हेर्दा व्याधाको पनि मन पग्लँदो हो । तर नेपालमा पछिल्ला वर्षहरुमा गरिबी निवारणका नाममा सञ्चालित कार्यक्रमहरु असफल भएको देख्दा लाग्छ, हाम्रा कार्यक्रम कार्यान्वयन कर्ताहरुको मन ब्याधाको भन्दा कठोर छ । लक्षित वर्गसम्म प्रभावकारी रुपमा ति कार्यक्रमहरु पुग्न सकेका छैनन् बरु हुनेखानेहरु नै झन धनी हुँदै गएका छन् ।
हाम्रो राजनैतिक नेतृत्वले साँच्चै गरिबी निवारण गर्न चाहेको हो भने अहिले सम्म को असफलताबाट पाठ सिक्दै कमजोरीहरुको निर्मम समिक्षा गरेर अगाडि बढ्नु आवश्यक छ । कतै कक्षा कोठामा शिक्षक ढिलो गएका कारण, जाडोमा न्यानो लुगा लगाउन नपाएको कारण, विद्यालय टाढा भएका कारण, विद्यालयमा खाजा खान नपाएका कारण वा अन्य यस्तै कारणहरुले एउटा गरिब परिवारको बालक सधै गरिब रहिरहेने त होइन ? यस्ता मसिना कुराहरु पनि अबका दिनहरुमा केलाउनु जरुरी छ । र समाधानका उपायहरुको खोजी गरिनु जरुरी छ ।
पाखुरीमा बल भएका र उत्पादन कार्यमा लागि पर्नु पर्ने जनशक्तिले पराई भूमिमा रगत पसिना बगाएर पठाएको रेमिट्यान्समा रमाइरहने हो भने हामीले पनि छिट्टै सुडानको नियती भोग्नु पर्नेछ । डिग्री पास गरेको प्रमाणपत्र हातमा लिएर बैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बैदेशिक रोजगार व्यवसायिको ढोका चाहार्ने प्रवृत्तिको अन्त्य गर्दै स्वदेशमै उत्पादन कार्यमा सहभागी हुन युवा पुस्तालाई प्रोत्साहित गर्ने शिक्षा प्रणाली अवलम्वन हाम्रालागी अबको अपरिहार्य आवश्यकता भएको छ । केही वर्ष अगाडिसम्म खाद्यान्न निर्यात गर्ने हाम्रो मुलुक अहिले वर्षेनी अर्बाैको आयातकर्ता बनेबाट हाम्रो उत्पादनको घट्दो स्तरलाई देखाउँछ । खाद्यान्न उत्पादनको आन्तरिक अवस्था यही रहने हो भने हाम्रालागि सुडानको नियती टाढा छ त ?
उत्पादित वस्तुको उपयुक्त बजार नहुँदा यस तर्फ कोही पनि आकर्षित नहुने अवस्था हाम्रोमा विद्यमान छ । राज्यले उत्पादित वस्तुको बजारको जिम्मा लिने, उत्पादन कार्यमा आवश्यक हुने औजार देखि लिएर कृषि उत्पादनमा भए मल, बीउ समयमा उपलब्ध गराउने, औद्योगिक उत्पादनका लागि सहज वातावरण निर्माण गर्ने जस्ता कामहरु राज्यको तर्फबाट हुन सक्दा देशले गरिबी निवारणको लक्ष्य प्राप्त गर्न
सक्छ । संगसंगै माथि उल्लेख गरिए जस्ता मिहिन कारणहरुको खोजी गर्नु पनि आवश्यक छ ।
गरिबीका कारण समाजमा देखा पर्ने अनेकौं समस्याहरु छन् । देश झन आर्थिक दूरावस्थामा जाने त छँदै छ समाजमा अशान्ति, हत्या, लुटपाट, चोरी जस्ता घटनाहरु बढ्न थाल्छन् । भाविष्यमा लागि सक्षम जनशक्ति उत्पादन पनि गरिबीका कारण सम्भव हुँदैन । तसर्थ गरिबी निवारण जरुरी छ । तर अहिलेको हाम्रो अवस्थालाई अवलोकन गर्ने हो भने गरिबी चाहिँ होइन बरु गरिब निवारण गर्न राज्य लागि परेको देखिन्छ । गरिबी निवारण दिवस मनाउने नाममा कर्मकाण्डी काम गर्न छाडेर साँच्चै देशलाई गरिबीबाट मुक्त बनाउन सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान गरौं ।
गरिबी निवारणमा हातेमालो
previous post