२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३९ मतदाता रहेकामा एक करोड पाँच लाख ९३ हजार ९७१ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिक तर्फ ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको थियो । तर एक करोड नौ लाख मत खसेको अहिलेको निर्वाचनमा कांग्रेसले झण्डै एककरोड दुइ लाख मत गन्दासम्म २५ लाख ८५ हजार मत मात्र पाएको छ । उसले यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा जति मत पाउने सम्भावना देखिएको छैन । मतदाता र खसेको मतसंख्या बढ्दा दलले पाउने मत पनि बढ्नु पर्नेमा झन घट्नु आफैमा अस्वाभाविक कुरा हो ।
समानुपातिकको मत त एमालेको पनि घटेको छ नि भन्ने प्रश्न हुन सक्छ तर मननिय कुरा के हो भने अघिल्लो निर्वाचनमा एमाले पहिलो दल र कांग्रेस दोस्रो दल बन्दा उनीहरुको मतान्तर ४५ हजार १०५ थियो । तर बुधबार रातीसम्म यी दुई दलबीचको मतान्तर एकलाख ३५ हजार ५४९ छ । बाँकी झण्डै सात लाख मत गन्दा यो मतान्तर अझ फराकीले हुने देखिएको छ ।
२०४८ सालको पहिलो प्रतिनिधि सभा निर्वाचनमा कुल २०५ मध्ये ११० स्थानमा निर्वाचन जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेस अहिले ३० वर्ष पछिको निर्वाचनमा अरु चार दलको बैशाखी टेक्दापनि १६५ मध्ये जम्मा ५५÷५६ सिट मात्र जित्ने अवस्थामा आइपुगेको छ । २०७० को संविधान सभा निर्वाचनमा ५७५ मध्ये १९८ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो दल बनको नेपाल िकांग्रेस २०७४ को निर्वाचनमा २७५ मध्ये जम्मा ६३ सिटमा खुम्चन पुग्यो । लोकप्रिय मतका आधारमा सधैं अगाडि रहेको कांग्रेस यही निर्वाचनबाट एमाले भन्दा पछाडि हुन थालेको हो ।
मतदाताहरु नयाँ र युवा अनुहार खोजी रहेका छन् तर कांग्रेस २०४८ साल देखिका र असफल सावित भएका नेताहरु अघि सारेर विकास र समुन्नतिका नारा लगाई रहेको छ ।
नीति, विधि, सिद्धान्त, व्यवहार केही नमिल्ने दलहरुसंग सत्ता र शक्ति आर्जनका लागि गठबन्धन गरेसंगै कांग्रेस समर्थक मतदातामा निर्वाचनका प्रति नै वितृष्णा पैदा भएको यो निर्वाचनले देखाएको छ । यो निर्वाचनमा गठबन्धन मन नपराएका कतिपय कांग्रेस समर्थक मतदाताले मतदान केन्द्रसम्म जाने आवश्यकता समेत दखेनन् । गठबन्धनको आवश्यकता मतदातालाई बुझाउन नसक्नु, वितेको ३० वर्षमा कांग्रेसको नतृत्वमा भएका कामका बारेमा आम मतदातालाई बताउन नसक्नु एउटा पक्ष होला तर कांग्रेसका प्रतिको अनाकर्षण भने नेताहरुको कसैलाई पालो नदिने बरु आफु मात्रै सधैं सत्ता र शक्तिमा रहने मोह नै हो भन्दा अन्याय हुँदैन ।
यति हुँदा हुँदै पनि कांग्रेसका केही युवा नेताको यो निर्वाचनमा विजयसंगै कांग्रेसका शुभचिन्तक, शुभेच्छुक र समर्थकमा केही आशाको सञ्चार भने भएको छ । २७५ सदस्य रहने प्रतिनिधि सभामा कांग्रेसका ८० बाट केही माथिको संख्यामा सदस्य रहने छन् । त्यस मध्ये अधिकांश सभापति देउवाको नाम आउनासाथ अरु केही नसोेची हात उठाउने खालका छन् । यसको छनक प्रकाशशरण महतले दिइ सकेका छन् । तर जोखिम मोल्ने बानी परेका युवा नेता गगन थापाले आफु संसदीय दलको नेतामा उम्मेदबार बन्ने उद्घोष गरेका छन् र उनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री समेत बन्न सघाउने अभियानमा लागेका छन् अर्का युवा नेता विश्वप्रकाश शर्मा ।
कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदबार बनेका गगन थापाले पराजय भोग्नु पर्दा लागेको थियो , तत्कालका लागि कांग्रेसमा युवाको स्थान छैन । अझ भनौं कांग्रेसको कार्यकारी पदमा युवा पुग्ने सम्भावना अझ केही दशक छैन । तर गगन र विश्वप्रकाश अनि प्रदिपले हिम्मत हारेनन् र १४ महाधिवेशनमा फेरी महामन्त्रीको उम्मेदबार बने र प्रदिप बाहेकले जिते । प्रदिपपनि कम भने
होइनन् । काठमाण्डौं–५ जहाँ कांग्रेसले जित्ने अपेक्षा गरेको थिएन अनि एमालेका हेवी वेट उम्मेदबार थिए । तर दिनरात नभनेर मेहनत गरेर जित हात पारे । यी युवाहरुको उत्साह र जाँगर देख्दा भने अवश्य कांग्रेसजनको मनमा उत्साह थपिएको छ ।
तर जेष्ठ नागरिक भै सकेका तथा ७ पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणीमा ढुक्क कांग्रेसको बुढो पुस्ताले यि युवालाई सहजै सत्ताको साँचो सुम्पेलान भनेर पत्याउन भने गाह्रै छ । शायद यो सत्य गगन, विश्वप्रकाश र प्रदिपले बुझेका छन् । गगनले त भनिसकेका छन् कि संसदीय दलको नेताको उम्मेदबार बन्ने र अग्रज पुस्तालाई विश्वासमा लिएर दलको नेता हुँदै प्रधानमन्त्री बन्ने मार्गबाट फर्कने बाटो छैन र सोही बाटोमा गगनलाई डो¥याउन र गन्तव्यमा पु¥याउने ध्याउन्नमा विश्वप्रकाश लागेका छन् । सबैले जाने बुझको कुरा हो राजनीतिमा सत्ता र शक्ति कसैसंग मागेर पाईन होइन् । यो खोसेर लिने हो । अब गगन र विश्वप्रकाश अनि प्रदिपले सहज नपाइने अवस्थामा खोसेर लिने प्रयत्नमा लाग्नु पर्छ । कांग्रेसजनमा पलाएको उत्साहलाई मर्न नदिने र आगामी दिनमा कांग्रेसलाई नेपाली जनमनको पार्टी बनाई राख्ने तथा आफ्नो राजनैतिक भविष्य समेत सुरक्षित गर्ने हो भने युवा नेताहरुले यस पटक हिम्मत गर्नैपर्छ ।
पछिल्ला निर्वाचन परिणामहरुले देखाएका छन् कि कांग्रेस खुम्चिँदै गएको छ । रुखमा मलजल गर्नेको संख्यामा कमि आउँदै गएको छ । चारतारे झण्डा जतनले सिरानीमा राख्नेको संख्या घट्दै गएको छ । बीपीलाई आदर्श मान्नेहरुको संख्या त घटेको छैन तर युवामाझ बीपीलाई चिनाउनेको संख्या पनि घटेको
छ ।
अब गगन, विश्वप्रकाश र प्रदिपको काँधमा रुखमा मलजल गर्ने, बीपीलाई युवामाझ चिनाउने र कांग्रेसलाई फेरी जनमनको पार्टी बनाउने जिम्मेवारी आएको छ । आशा गरौं, नेताहरुको फेर समातेर नेता बन्न सकिन्न भन्ने चेत पलाइएका गगनपुस्ताले यस पटक अवश्य जित हासिल गर्नेछ र कांग्रेस अनि रुखलाई पुनः जीवन दिनेछन् । अर्काे पनि आशा यिनीहरुले आम कांग्रेसजनको आशमा कुठाराधात गर्ने छैनन् ।
गगन पुस्ता आऊ कांग्रेस र रुख बचाऊ
previous post