हिमालय पर्वतको श्रृङ्खलाको मध्य काखमा अवस्थित स्वच्छ सगरसंग कानेखुसी गर्दै उभिएको संसारकै माथ रहेको सगरमाथाको देश नेपाल बहुभाषी, बहुजाती, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, लोकतान्त्रिक तथा समानुपातिक समावेशी राज्य हो । यहाँ बहुसंख्यक हिन्दु धर्मावलम्बीहरु र त्यस पश्चात बौद्ध, किरात, मुस्लिम, इसाई, सिख, बोन आदि धर्मावलम्बीहरु रहेका छन् । प्रकृतिमा सरद ऋतुको आगमनसंगै विभिन्न पर्वहरुको सुरुवात हुने गर्दछ । तीज, इद, दशैं, तिहार, छठ, जस्ता पर्व भ्याइएपछि विश्वव्यापि रुपमा मनाइने विश्वका अधिकांश मुलुकमा फैलिएर रहेको इसाइहरुको महान पर्व ख्रीष्टमस पुष १० गते अर्थात डिसेम्बर २५ मा पर्छ । जुन प्रभु येशू ख्रीष्टको जन्म दिनको उपलक्ष्यमा र उनको सम्झनामा मनाइने गरिन्छ ।
हाम्रो देश नेपालका राष्ट्रिय तथा प्रमुख चाडपर्वहरु नेपालीहरुको बसाइ सराइसंग संगै विश्वाका केही मुलुकहरुमा उदाउँदो रुपमा चिनाउने र मनाउने क्रम कछुवाकै चालमा भएपनि बढ्दो क्रममा छ । तर यसको साथ साथै ख्रीष्टमस मनाउनेहरुको संख्या पनि बढ्दो क्रममा नै रहेको छ । जसले विश्वव्यापि रुपमा आत्मियता र एक अर्काप्रति श्रद्धा, सद्भाव र प्रमे बढाउँछ । क्रिसमस सायद विश्वव्यापि रुपमा नै मनाइने भएकोले होला विश्व नै यसको पछि लालायित छ । मानिसमा देश गुनाको भेष भन्छन् । जहाँ गयो जे पायो त्यही खायो । जे लाए, त्यही लायो । जे मनाए, त्यही मनायो । जे राम्रो लाग्यो, त्यही भित्र्यायो । सम्पन्नता र रोजगारीको खोजीले भोकमा भातको खोजी भनेझै भौतिक परिवर्तनको पंखेटा हालेर उडेका आत्माहरु शान्तिको विश्राम गर्ने क्रममा एउटै चाहना, एउटै आशा, एउटै सत्य र एउटै इश्वरमा विलुप्त हुन जान्छन् । तर जीवन परिवर्तनको यस खोजलाई स्वार्थ, अहँ तथा नकारात्मक सोचले बद्नामको पट्टा भिडाई दिन्छ,‘ धर्म परिवर्तन’ । तर मानव विकास क्रमको सिद्धान्त अनुसार घाँस खाने मानिसले मिठो अन्न र फल पाउँदा खेती किसानी सिके, खेती गर्न थाले । काँचो मासु खानेले पकाएर खाँदा मिठो पाए र पकाएर खान थाले । यसर्थ जीवको सिकाइमा मानिसहरु नयाँ कुराको खोजी र प्रयोगमा छन् । सायद आजको मानव पुस्ता यही नयाँ विश्वव्यापी मनाईने ख्रीष्टमस तर्फ आकर्षित भएका छन् । जसलाई सकारात्मक सोचका साथ आत्मसाथ गर्दा विश्व मानवबीच दया, मायाँ, प्रेम र सद्भावको साटासाट नै ख्रीष्टमस हो । पवित्र धर्मशास्त्र वाइवलको हितोपदेश १८ः१६ले भन्छ कि“उपहारले दातको निम्ती बाटो खोली दिन्छ र त्यसलाई महान व्यक्तिको उपस्थितिमा पु¥याउँछ ।” र हितोपदेश १९ः ६ को दोस्रो वाक्यले भन्छ कि“प्रत्येक जना उपहार दिने व्यक्तिको मित्र हुन्छ ।” तसर्थ आजका भौतिकवादी मानिसहरु उपहार, साँचो मित्र र महान व्यक्तिको खोजीमा भौंतारिएका छन् ।
धर्मशास्त्रीय रुपमा ख्रीष्टमसलाई यहि दिन मनाउने भनेर व्याख्या नगरिएता पनि परमेश्वरको उपस्थितिमा सबै मिलेर एकै ठाउँमा जम्मा भएर खुसीसाथ खानेकुराहरु बाँड चुँड गरेर खाइएको कुराहरु धर्मशास्त्रमा उल्लेख गरको पाईन्छ । प्रश्थान २४ः११मा पाउँछौं कि सिनै पर्वतमा इस्रायलीका धर्मगुरुहरुलाई परमेश्वरले क्षमा गर्नुभयो र उनीहरुले प्रभुलाई देखे र संगै खानपान गरे । यसैगरी ऐतिहासिक दस्तावेज अनुसार ख्रीष्टमसको सुरुवात भने इस्वी संवत ३३६ डिसेम्बर २५ का दिन देखि रोमी सम्राट कन्स्टान्टिनको पालाबाट सुरु भएको पाईन्छ । नवौं शताब्दीसम्म यो इसाइहरुको प्रमुख पर्वको रुपमा मनाइने गरिँदैन थियो । त्यस पश्चात यसलाई प्राथमिकता दिइयो र आज आएर धेरै अन्य धर्मावलम्बी हरुले समेत मनाउने गरको पाईन्छ । तर पनि यस ख्रीष्टमसले येशू ख्रीष्टको आगमन पछिको सत्यतालाई उजागर गरको पाईन्छ । परमेश्वरले मानिसहरुलाई आदम र हब्बाको रुपमा अदनको बगैचामा श्रृष्टी गर्नुभयो तर परमेश्वरको आज्ञा उल्लंघन गरेरपाप गरको कारण पृथ्वीमा झारिएपछि मानिस परमेश्वरबाट धेरै टाढा भयो र परमेश्वरसंग मिलाप हुन सकेन । तसर्थ मानिसलाई फेरी परमेश्वरसंगको समिपमा ल्याउन मानिसले गरको पापको मूल्य तिरिनु पर्दथ्यो । वाइवलकै भविष्य वक्ताहरुको भविष्यवाणी स्वरुप ठिक २०२० वर्ष अघि उहाँ यस संसारमा जन्मनु भयो र हाम्रो पापाको खातिर कष्ट भोगेर बलिदान हुनु भयो । उहाँको यस्तो ठूलो बलिदानको मूल्य हामीले चुकाउन त सक्दैनौं र पनि उहाँलाई धन्यवाद भन्दछौं । यसरी उहाँ महान भएर इश्वर प्रभु येशू ख्रीष्ट जन्मनु भएको उपलक्ष्यमा उहाँको जन्मदिनलाई ख्रीष्टमसको दिन भनियो । जसको अर्थ ख्रीष्टको जन्ममा खुसीसाथ भेला हुने मानिसको समूह भन्ने बुझिन्छ । जसमा येशूको जन्मको बारेमा बाइबलको यशैया ७ः१३–१४र यर्मिया ३३ः१४–१५ पदहरुमा ७०० यसापूर्व अघि नै भविष्यवाणी भएको थियो । ख्रीष्टमस आउनु भन्दा करिब एक महिना अघिदेखि नै मानिसहरु घर, टोल, चर्च आदिमा ‘ख्रीष्टमस ट्री’ राखेर सजाउने, झिलिमिली बत्तीहरु बाल्ने, पार्टी तथा भोजहरु आयोजना गर्न, जवान–जवानीहरु प्रौढहरुसंग मिलेर घरघरमा गई ख्रीष्टमस क्यारोल खेल्दै प्रभु येशूको जन्म दिनको गीत तथा भजनहरु गाउने, गरिब तथा दुःखीहरुलाई खाना तथा अन्य उपहारहरु वितरण गर्ने गरिन्छ भने डिसेम्बर २५ तारिखको दिन वडा दिन ख्रीष्टमस भनेर मनाईन्छ । उक्त दिनमा मानिसहरु विहानै देखि चर्च जाने, प्रार्थना गर्ने, उपवास बस्ने, चर्च, टोल तथा घरघरमा गएर ख्रीष्टमसको शुभकामना व्यक्त गर्दै सद्भाव र प्रेमका साथ उपहार आदान–प्रदान गर्ने, खुसीयाली पूर्वक मिठा–मिठा भोजन खाने, भालाकुसारी गर्ने, विगतका तिता कुराहरुलाई विर्सिएर एक अर्कालाई क्षमा गर्दै मित्रता र आत्मियिताको विजारोपण गर्ने जस्ता कार्य यस वडा दिनमा गरिन्छ ।
कति मानिसहरुले ख्रीष्टमसलाई पवित्र दिन मानेर शारीरिक र आत्मिक पवित्रतामा मनाउँछन् भने कतिले यसलाई आधुनिकतको पराकाष्ठा नै तोडेर सुरा र सुन्दरीमा डुब्दै त कतिले मदहोशी धुँवा उडाउँदै, चियर्सको ध्वनी गुञ्जाएर रातलाई व्यँुझाउँदै तथा बेहोसिको मद्यमा लड्खडिँदै भ्रमात्मक निन्द्रामा मस्त भएर मनाउँछन् । तर वास्तविकतामा यस पर्वको महत्व चाहिँ प्रभु येशू ख्रीष्ट यस संसारमा आएर पापीहरुका पापलाई क्षमा गर्नुभयो। गरीबहरुलाई माया गुर्नभयो । त्यागिएकाहरुलाई पुनःस्थापना गर्नुभयो । एक्लोहरुको साथी हुनभयो । शत्रुहरुको समेत मित्र हुनुभयो। अन्धाहरुको दृष्टि हुनुभयो । लङ्गडाहरुको लागि लठ्ठी हुनुभयो । बेसाहाराहरुकोलागि सहारा हुनुभयो । घृणितहरुको लागि दयालु हुनुभयो । अन्धकारमा रुमल्लिएकाहरुको लागि ज्योति हुनुभयो । रोगीहरुको लागि औषधी हुनुभयो । अज्ञानीहरुको लागि ज्ञान र निर्वुद्धिको लागि बुद्धि हुनुभयो र सारा मानिसहरुको लागि उद्धारकर्ता र मुक्तिदाता हुनहुन्छ । धर्मशास्त्र बाइबलको रामेी ६ः२३ ले भन्छ कि “किनकी पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको बरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन छ ।” र रामी ८ः १ पदले भन्छ कि “यसकारण ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन ।” तसर्थ आज विश्वासद्वारा ख्रीष्टलाई पाउनु नै सबैभन्दा महत्वपूर्ण कुरा भएकोले ख्रीष्टमसको सबैभन्दा ठूलो उपहार नै येशू ख्रीष्ट हुनुहुन्छ । जो मानिस जातिको लागि यस संसारमा आउनु भयो र आफैलाई अर्पा गरेर हाम्रोलागि बलिदान हुनुभयो । त्यसैले उहाँको जन्मउत्सवमा खुसीयाली साथ हृदयदेखि नै वडा दिनको ख्रीष्टमसको शुभकामना !