दमौली । कोरोनाको कहर भोगिरहेको हामीले अब विनासकारी किरा सलहको सन्त्रासमा जिउनु पर्ने भएको छ । शनिबार तराइका बारा, पर्सा, सिन्धुली, सर्लाही तथा रुपन्देही लगाएतका जिल्लामा सलह देखिएसंगै आम नागरिकमा सलहले बाली खाइदिने र आफुहरु भोकभरीमा पर्ने सन्त्रास थपिएको छ । लाखौको संख्यामा आएका सलहले खासगरी रोप्न ठिक्क पारिएको धानको बीउ खाने चिन्ता किसानमा व्याप्त छ ।
नेपालमा सलह अचानक आएको भने होइन । भारतमा केही दिन अघि आएको सलह नेपाल पनि आउन सक्ने अनुमान गरिएको थियो । तर कृषि मन्त्रालयले नेपालमा सलह नआउने जनाएसंगै आम नागरिक आश्वस्त भएका थिए । सलहको सम्भाव्य आगमनलाई वेवास्ता गर्दै मन्त्रालय र सम्बन्धित निकाय हावाको वहाव अन्यत्र गएकाले सलह नआउने भनेर गैर जिम्मेबार बन्दा अहिले किसानहरु मर्कामा पर्ने अवस्था आएको छ । यहि सम्बन्धित अधिकारीहरु जिम्मेबार भएर आउनपनि सक्ने कुराको अनुमान साथ रोकथाम र सावधानीको उपाय अपनाउन आम नागरिकलाई अपिल गरेको भए र आफुहरुपनि त्यही अनुरुप तयार भएको भए सन्त्रासको यो अवस्था आउने थिएन । शनिबार नै कृषिमन्त्री विगत ४० वर्ष देखि कृषि क्षेत्रलाई योजनाबद्ध रुपमा विगारिएको भाषण गर्दै थिए भने उनैको मन्त्रालयको अकर्मण्यतको शिकार भएर नेपाली कृषि क्षेत्र ध्वस्त हुने अवस्थामा पुगेको थियो । सलह प्रवेश गरेको थाहा पएपछि मात्र सलहको सकसबाट पार पाएका देशका अधिकारीसंग सल्लाह गर्ने हाम्रा कर्मचारीहरुको व्यवहारले संकट व्यवस्थापनमा हाम्रँो कमजोरी पनि देखइ दिएको छ ।
सरकारी लापरवाही जे भएपनि धेरै सन्त्रस्त नभएर सावधानी अपनाउन सक्ने हो भने सलहबाट हुने सम्भावित क्षतिबाट भने बच्न सकिन्छ । अब सलह हामीकहाँ आइसकेका छन् भने कसरी तिनीहरुलाई धपाउन सकिन्छ भनेर उपायहरुको खोजी गर्ने हो । हावाको वहाव परिवर्तन त हामी गर्न सक्दैनौं तर आगो बालेर धुवाँ गराउने हो भने सलहको प्रकोप कम हुने कृषि वैज्ञानिकहरुको मत रहेको छ । यसैगरी सलहका प्राकृतिक शत्रुहरु हाँस, माकुरा तथा छेपारोको प्रयोगबाट पनि यसको प्रकोपलाई कम गर्न सकिन्छ, जसले सलहको शिकार गर्ने गर्दछन् । चर्को ध्वनीको प्रयोग, जैविक तथा रासायनिक विषादीको प्रयोगबाट पनि यसको प्रकोप नियन्त्रण गर्न सकिन्छ । हामीमध्ये कोहीसंग रैथाने ज्ञान छ भने त्यसको प्रयोगबाट पनि सलहको प्रकोपलाई कम गर्न सकिन्छ ।
कोरोना कहरसंगै सलह सन्त्रास
previous post