विशेषसम्वाददाता/मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीे यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छन् ।
चिकित्सकहरुको उच्च निगरानीमा राखिएका ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । प्रधानमन्त्री ओलीको पनि ल्याप्रोस्कोपिक विधिले शल्यक्रिया गरिएको र पेटमा थोरै संक्रमण फैलिएकाले केही दिन अस्पतालमै बस्नुपर्ने भएको अस्पतालले जनाएको हो । स्वास्थ्यका विषयमा आम नागरिकमा विभिन्न आशंका रहेका बेला अचानक विरामी परेका प्रम ओली साउन यता ६ पटक देश तथा विदेशका अस्पतालमा भर्ना भई मृगौलाको डाएलाएसिस गराइसकेका छन् । १२ वर्ष अगाडि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएकोमा अहिले आएर बारम्बार समस्या देखिन थालेपछि प्रधानमन्त्री अस्पताल धाइरहनु परेको हो ।
साउन १० गते सैनिक अस्पताल छाउनीमा नियमित स्वास्थ्य परीक्षणसहित युएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गराएका प्रधानमन्त्री ओलीले साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका थिए । त्यसपछि सोही अस्पतालमा भदौ ५ गतेदेखि १९ गतेसम्म उपचार गरिएको थियो ।
मिर्गौलामा समस्या आएपछि उनी कात्तिक १३ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएर उपचार गराएका ओलीको कात्तिक ३० गते ग्रान्डी अस्पतालमै तेस्रो पटक र मंसिर ८ गते चौथो पटक मिर्गौलाको डायलासिस गरिएको थियो ।