प्रजातन्त्र पुनः स्थापना पछि पार्टी संगठनमा खासै ध्यान नदिएको कांग्रेसले यस पटक निकै ध्यान दिएको जस्तो देखिएको छ । आफ्नै नेतृत्वमा संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र संघियता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गरेको कांग्रेस निर्वाचनमा भने नराम्रोसंग पछारियो ।
निर्वाचनमा जय पराजय भै रहन्छ तर कांग्रेसको पराजय, संविधान निर्माणको नेतृत्वकर्ता र विषम परिस्थितिमा पनि निर्वाचन गराउनु सक्षम भएको पार्टीका रुपमा अनपेक्षित थियो । यद्यपि दुइ ठूला बामपन्थी दलको एकता र कांग्रेस भित्रको आन्तरिक घात प्रतिघात पराजयमा जिम्मेबार थिए । यहाँ मैले कांग्रेस पराजयको कारण खोजीनीति गर्न खोजेको छैन बरु आम नागरिक सामु पार्टी संगठनका लागि दोस्रो पटक जान लागेको कांग्रेसले कम बोल्ने र बढी सुन्ने उद्घोष गरको विषयमा चर्चा गर्न खोजेको हुँ । राष्ट्रव्यापी रुपमा पार्टीमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सदृढिकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पङ्तिमा जागरण अभिवृद्धि गर्ने उद्देश्यका साथ सुरु भएको दोस्रो चरणको जागरण अभियानले कति काम गर्छ त्यो त समयले देखाउला तर स्लोगनमा जुन कुरा कांग्रेसले भनेको छ, कम बोल्ने र बढी सुन्ने त्यसले आम कार्यकर्तामा उत्साह थप्नेछ यदि भनाइ र गराइमा समानता रह्यो भने ।
संस्थापक नेता तथा नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालको १०६ औ जन्मदिनको अवसर पारेर थालेको दोस्रो जागरण अभियानका थुप्रै उद्देश्य छन् । त्यसलाई सफल तुल्याउनु जागरण अभियानका लागि खटिएका नेता तथा कार्यकर्ताको कर्तव्य हुन आउँछ । तर दिन भर कार्यकर्ताका गुनासा र आक्रोष सुन्ने तर सांझ फेरी उहि गुट उपगुटका कुरा गर्ने हो भने जागरण अभियानको सार्थकता रहने छैन ।
जागरण अभियानका कार्यभार धेरै छन् । पहिलो त माथि भनिए झै आम कांग्रेस जनमा एकताको भावना जागृत गर्नुछ । अर्काे वर्तमान सरकारका भ्रष्टाचार तथा जनविरोधि कृयाकलापलाई नागरिक सामु प्रष्ट्याउन छ । मैले देखेको अझै महत्वपूर्ण कुरा भनेको जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताका हितमा पार्टीलाई अझ समर्पित गराउनु हो । यो कुरामा खरो उत्रन सक्दा कम बोल्ने र बढी सुन्ने कुराको सार्थकता हुन्छ ।
बाजुरा पुग्दा त्यहाँका किसानले उव्जाएको स्याउ एक रुपैयाँमा तीन दाना बेच्नु परेको व्याथा मनन गरेर उचित बजार उपलब्ध गराउने कुरामा अग्रसरता लिने अवस्था सृजना गर्ने हो भने बढी सुन्ने कुराले अर्थ राख्छ । अनि कञ्चनपुर पुग्दा छोरी निर्मलाको बलात्कार पछि भएको हत्यामा संलग्नलाई कारवाही नहुँदा व्यथित बनेकी दुर्गादेवीलाई न्याय पाइने कुरामा अश्वस्त हुने वातावरण बनाउन सक्दा सुन्नुको सार्थकता रहन्छ । एनसेल देशलाई अर्बाै राजश्व नतिरेर साढे बनेर बसेको छ । उसलाई राजश्व तिर्न बाध्य पार्ने कार्यक्रमहरु देशव्यापि बनाउन सक्दा बढी सुन्छौं भन्ने कुराको अर्थ रहन्छ ।
किसानले समयमा मल बीउ पाउन नसक्दा उत्पादनमा प्रतिकूल असर परिरहेको छ । तराईका किसानहरु उखुको उचित मूल्य नपाएर चिन्तित छन् । छाउपडि प्रथाका कारण सयौं किशोरीहरु बलात्कृत हुन, असमयमा ज्यान गुमाउन बाध्य छन् । बोक्सीका नाममा महिलालाई अमानविय व्यवहार गर्न छाडिएको छैन । हरेक जसो सरकारी कार्यालयमा घुस नखुवाउने हो भने काम हुँदैन । यी र यस्तै थुप्रै कुराहरुबाट नेपाली नागरिकलाई मुक्ति दिलाउने कार्यक्रम ल्याउने र कांग्रेसले अग्रसरता लिने हो भने बल्ल बढी सुन्छौं भनेको सत्य ठहरिन्छ । होइन भने कम बोल्छौं भन्नुको अर्थ बोल्ने कुरा नभएर भन्ने अर्थ लाग्छ ।
जनताका यावत समस्याका बारेमा नबोल्ने र समाधानका लागि पहल नगर्ने हो भने अब कांग्रेसलाई सत्ता नेतृत्वकर्ता बन्न असम्भव नभए पनि कठिन हुने छ । नेपाली नागरिकले धेरै ठूला कुराको अपेक्षा गरेका छैनन् । रेल र पानी जहाजका कुरा उनीहरुको चासोको विषय होइन बरु आफ्नो व्यवसाय गरेर शान्ति पूर्वक जीउन पाइयोस् भन्ने हो । विजुली नियमित होस्, धारोमा पानी आओस्, यातायात सहज होस्, कुनै चेलिले बलात्कृत हुन नपरोस्, कुनै महिलाले बोक्सीको नाममा प्रताडित हुन नपरोस्, उत्पादित वस्तुले सहजै बजार पाउन् । यी भन्दा ठूला सपना सर्बसाधारण नेपालीका छैनन र यीनै सपना पूरा गर्न सघाउने हो भने कांग्रेस फेरी जनताको प्रिय पार्टी बन्नेछ । साना लाग्ने तर आम मानिसका लागि महत्वपूण यस्ता कार्य गर्ने तर्फ कांग्रेसजनको धयान जाओस ।