आज भन्दा करिब २५ सय बर्ष पूर्व कपिलबस्तुको राजघरानामा एउटा बालकको जन्म भयो । जसले कालान्तरमा संसारलाई हेर्ने र बुझ्ने जीवन जिउने एउटा छुट्टै पद्धतिको सुत्रपात गरे । जसले यात्रा रुपी मानव जीवनमा सबैले हेर्ने गरेको भन्दा छुट्टै र पृथक मार्गको सिर्जना गरे । जसले आफ्नो ध्यान र साधनाबाट मानव जीवन के हो ? किन मानिसहरु दुःखी हुन्छन् र सुख कसरी पाउन सकिन्छ भन्ने ज्ञानको दियो जलाए । जसलाई आज सारा संसारले भगवान गौतम बुद्धको नामले चिन्दछ । आज उनै महामानवको जन्म दिवस हो अर्थात आज बुद्ध जयन्ती हो ।
भनिन्छ गौतम बुद्धको जन्म र उनलाई बुद्धत्वको ज्ञान प्राप्ति आजैको दिन अर्थात बैशाख पूर्णिमाको दिन भएको थियो । महामानव गौतम बुद्धले आफ्नो भौतिक शरीरको त्याग पनि आजैको दिन अर्थात बैशाख पूर्णिमाको दिन गरेका थिए भनिन्छ । किंवदन्ती अनुसार सिद्धार्थ गौतमले एक दिन नगरभ्रमणको क्रममा रोगी, बृद्ध र मृत व्यक्ति देखे । यस अघि उनले त्यस्तो प्रकारको कुनै पनि दृष्यसंग साक्षात्कार गरेका थिएनन् । त्यो दृष्य देखेपछि उनमा विचारको ज्वारभाट उत्पन्न भयो । आखिर मानिस बुढो हुँदो रहेछ, रोगी पनि हुनु पर्ने रहेछ, र एक दिन मर्नु पर्ने रहेछ । संसारमा मानिसहरु दुःखी रहेछन् । आखिर यो सबै किन हुन्छ । सुख कसरी पाउन सकिन्छ । के दुःखको निवारण सम्भव छ ? जीवनको वास्तविक अर्थ के हो ? यिनै र यस्तै खाले प्रश्नहरुले उनलाई हर बखत सताउन थाल्यो । अन्ततः उनी आफ्नो प्रश्नहरुको उत्तरको खोजीमा निस्के । उनले आफ्नो गृहस्थ जीवन पत्नि यशोधरा, पुत्र राहुल र राजमहलको त्याग गरे । बर्षौको विचरण र ध्यान पछि आजैका दिन उनलाई ज्ञान प्राप्ति भयो । आफै आफ्नो प्रश्नहरुको उत्तर भेट्टाए । र उनी सिद्धार्थ गौतमबाट गौतम बुद्ध बन्न पुगे । यदि राजा सुद्धोदन र रानी मायाँदेवी पुत्रले आफूलाई सिद्धार्थ गौतममै सीमित राख्न चाहेको भए समयको क्रमसंगै उनको इतिहास पनि समाप्त हुन्थ्यो । तर उनी सिद्धार्थ गौतमबाट गौतम बुद्ध बने । जसले गर्दा आजको मितिसम्म पनि सारा संसारले उनलाई चिन्दछ । र भोलि पनि चिनिरहनेछ । आज संसारको कैयौ देशहरुमा उनले देखाएको मार्गमा हिड्ने अरबौं मानिसहरु छन् । र सायद तबसम्म रहिरहनेछन्, जबसम्म यो सृष्टि चलिरहनेछ । गौतम बुद्ध जन्मनु अघिपनि संसार चलिरहेको थियो । यदि उनि यो धर्तिमा अवतरित नभएको भए पनि संसार चलिनै रहने थियो । फरक यत्ति हो यदि गौतम बुद्धको जन्म नभएको भए मानिसले जीवनलाई हेर्ने र बुझ्ने एउटा दृष्टिकोण पाउने थिएनन् ।
बुद्धको जन्मभूमि नेपालमा आज फेरी एउटा बुद्धको आवश्यकता परेको छ । फेरी बुद्ध जन्मिनै पर्ने भएको छ– ‘एउटा राजनीतिक बुद्ध ।’ यस्तो राजनीतिक बुद्ध जसले समस्यै समस्याबाट ग्रस्त रोगी नेपालको राजनीतिको पार लगाउन सकोस् । अपाङ्ग नेपालको राजनीतिलाई एउटा नयाँ जीवन दिन सकोस् । यथोचित नेपालको राजनीतिलाई एउटा नयाँ दृष्टिकोण दिन सकोस् एउटा नयाँ आयाम दिन सकोस् ।
गौतम बुद्धले आजभन्दा २५ सय बर्ष अघि नै भनेर गए । मानिसमा हुने लोभ लालच नै दुःखको सबैभन्दा ठूलो कारण हो । यस कारण मोक्ष प्राप्ति गर्नु छ भने लोभ लालच र सांसारिक सुखलाई त्याग गर्न सक्नु पर्दछ । तर आज पनि हाम्रो देशको नेताहरु लोभ र सत्ताको लालचमा नराम्रोसंग फसिरहेका छन् । गौतम बुद्धले भने मानिसको लोभ नै उसको दुःखको कारण हो । तर हाम्रो विडम्बना लोभ चाहि नेताको, अनि दुःख भने हामी नागरिकलाई !
म कुनै पनि पार्टी विशेषलाई दोष दिन चाहन्न । किनभने नेपालको एउटा दुईटा होइन, सबै राजनीतिक पार्टीका नेताहरुमा लोभ र लालच छ । राजनीतिमा लागि सकेपछि सत्तामा पुगौं, सरकार चलाउँ भन्ने सबैको चाहाना हुन्छ । यसमा गलत केही छैन । तर खाली सत्ता प्राप्ति मात्रै ? सत्ता पाउन र सरकारमा जान जे पनि गरि दिने ? आफू र आफ्नाहरुका लागि हो भने जुनसुकै हद पनि नाघि दिने ? के राजनीतिको कुनै धर्म हुँदैन ? के राजनीतिमा नीति नियम र अनुशासन नामको कुनै कुरा हुँदैन । कस्तो विडम्बना हामी नेपालीको । काँग्रेस हे¥यो, काँग्रेस उस्तै । कम्निष्टलाई हे¥यो कम्निष्ट त्यस्तै । अरु पार्टीलाई हे¥यो ती पनि त्यस्तै । के अब नेपाली नागरिकले यी सबै राजनीतिक पार्टीको विकल्प खोज्नै पर्ने भएको हो त ?
एकछिनलाई मानौ सत्तामा पुग्न लागि गरिने हर प्रयासहरु ठीक हुन् । फुट्नु परे फुट्नु पनि पर्दछ । जुट्नु परे जट्नु पनि पर्दछ । तर सत्तामा पुगेपछि आफ्नो कर्तब्य के हो ? दायित्व के हो भन्ने कुरा सर्लक्कै विर्सिदिने ? खाली आफ्ना र आफ्नाहरुका बारेमा मात्रै चिन्ता ? देश भन्ने कुरा पनि हुन्छ है । देशको सेवा गर्नु पर्दछ है भन्ने नै विर्सि दिने ? आफूलाई भोट हालेर सरकारमा पु¥याउने नागरिकहरु छन् ।
उनिहरुको सुख र समृद्धिको लागि केही गर्नु पर्दछ है भन्ने कुरा यादै नराखि दिने ? म दावी गरेर भन्न सक्दछु नेपालको राजनीतिक नेतृत्वले आफ्नो र आफ्नोहरुको लागि गरेको चिन्ताको सय भागको एक भाग जति मात्र पनि देश र जनताको बारेमा चिन्ता गर्न सकेको भए आज नेपाल र नेपालीको मुहार छुट्टै हुने
थियो ।
नेपाली राजनीतिमा केही गरौं भन्ने विचार भएका नेताहरु पनि नभएका होइनन् । तर उनीहरुलाई माथि आउनै दिइएन । थम्थमाएर हुन्छ भने थम्थमाएर, धम्क्याएर हुन्छ भने धम्क्याएर, नभए खुट्टै तानेर भएपनि उनिहरुलाई तलै राखियो । नेपालको राजनीतिमा सिद्धार्थ गौतम त धेरै भए, तर गौतम बुद्ध हुन सकेनन् । आज नि नेपाली राजनीतिमा कैयौं सिद्धार्थ गौतमहरु छन् । तर आवश्यकता छ ती सिद्धार्थ गौतमहरुमा गौतम बुद्ध बन्ने आँटको । जसरी सिद्धार्थ गौतमले आफ्नो व्यक्तिगत जीवन र राजसी सुखसयललाई त्याग गरी सम्पूर्ण जीवन मानव जीवनको लागि सर्मपण गरे, गौतम बुद्ध बने, यसरी व्यक्तिगत स्वार्थबाट माथि उठेर, नेपाल र नेपालीको लागि वास्तवमै केही गर्न सक्ने एउटा राजनेताको आवश्यकता छ । त्यो केबल सिद्धार्थ गौतम होइन, गौतम बुद्ध बन्न सकोस् । जसको नाम नेपालको राजनीतिक इतिहासमा स्वर्णिम अक्षरमा लेख्न सकियोस् । जो हजारौं हजार बर्ष पछिका पुस्ताले पनि सम्झन लायकको होस् – गौतमबुद्ध जस्तै । जसले नेपाली राजनीतिलाई सही मार्ग निर्देश गर्न सकोस् । सही दृष्टिकोण दिन सकोस्– त्यसरी नै जसरी गौतम बुद्धले सम्पूर्ण मानव जगतलाई मार्ग निर्देश गरेका थिए र जीवनलाई हेर्ने छुट्टै दृष्टिकोण दिएका थिए । हो, आज नेपालको राजनीतिलाई त्यस्तै एउटा बुद्ध चाहिएको छ ।
एउटा बुद्ध चाहिएको छ
previous post