केही दिन अगाडी ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसंगको कुराकानीमा पालिकाको ऋणात्मक जनसंख्या वृद्धिदर बारे समान्य कुरा भए ।
कुराकानीका क्रममा देशमै सबैभन्दा बढी ऋणात्मक जनसंख्या वृद्धिदर हुने स्थानीय निकाय मध्ये दोस्रो परेछ नि तपाईँको पालिका ? भन्ने मेरो जिज्ञासामा अध्यक्ष श्रेष्ठको जवाफ थियो, हामीले बसाइसराई रोक्न हरसम्भव प्रयास गरिरहेका छौं तर हाम्रो प्रयासको प्रतिफल देखिएको छैन । श्रेष्ठको गुनासो थियो, ठूलो र कठिन भूगोल, न्यून आन्तरिक आम्दानी तथा कम सरकारी अनुदानका कारण नागरिकका शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सञ्चार लगाएत क्षेत्रमा अपेक्षित विकास गर्न सकिएको छैन । जीवन यापन सहज बनाउने चाहना बोकेर सहर र तराई झर्नेहरुलाई रोक्न नसकिएको कुरा सत्य हो । यद्यपि जनसंख्या ऋणात्मक हुनुमा घट्दो जन्मदर पनि कारक हो ।
नेपालको जनगणनाको इतिहासको बाह्रौं जनगणना तथा देश संघीय संरचनामा गएपछिको पहिलो जनगणनाको नतिजा गणना सकिएको १६ महिना पछि आएको छ । चैत्र १०, २०७९ मा सार्वजनिक नतिजा २०७८ कार्तिक २५ देखि मंसिर ९ मा देशभर सम्पन्न जनगणनाको अन्तिम नतिजा हो ।
सामान्यतया नगरपालिकालाई सहर र गाउँ पालिकालाई गाउँ मान्ने हो भने २०६८ को जनगणना अनुसार संघीय संरचना पछि नगरपालिकामा वस्ने मानिसको संख्या ६३.१९ प्रतिशत रहेको थियो तर अहिले यो बढेर ६६.१७ प्रतिशत पुगेको छ । यसैगरी संघीय संरचना पछि समायोजित जनसंख्या अुनसार २०६८ मा गाउँमा वस्ने जनसंख्या ३६.८१ रहेकोमा २०७८ सम्म आइपुग्दा यो घटेर ३३.८३ प्रतिशत भएको छ । अघिल्लो जनगणनामा हिमाली क्षेत्रमा वस्नेको संख्या ६.७३ प्रतिशत रहेकोमा २०७८ को जनगणनाले त्यो घटेर ६.०८ भएको देखाएको छ भने पहाडको अवस्था पनि त्यस्तै छ । अघिल्लो जनगणनासम्म पहाडमा ४३.०१ प्रतिशत मानिस बस्दै आएकामा हाल त्यो प्रतिशत घटेर ४०.३२ मा झरेको छ । तराईमा भने ५०.२७ प्रतिशतबाट बढेर ५३.६१ प्रतिशत पुगेको छ ।
अरु तथ्याङ्कलाई पनि हेरौं । जनसंख्या ऋणत्मक रहेको जिल्लाको विवरण हेर्दा ऋणात्मक रहेका ३४ जिल्ला मध्ये एउटा पनि जिल्ला तराईको छैन । बाँकी ४३ जिल्लाको जनसंख्या वृद्धिदर धनात्मक
छ । तर देशको औषत ०.९२ प्रतिशतभन्दा कम जनसंख्या वृद्धिदर हुने जिल्लाको संख्या १५ रहेको छ, जसमा हुम्ला, जुम्ला, रसुवा, प्युठान जस्ता पहाडी जिल्ला रहेका छन् । जनसंख्या वृद्धिदर सबैभन्दा धेरै धनात्मक भएको गाउँ पालिका रुपन्देहीको कन्चन गाउँ पालिका हो, जसको वृद्धिदर २.४१ प्रतिशत छ, जबकी सबैभन्दा धेरै धनात्मक जनसंख्या वृद्धिदर भएको काठमाण्डौंको कागेश्वरी मनोहरा नगपालिकाको जनसंख्या वृद्धिदर ७.४१ प्रतिशत रहेको छ । जनसंख्या वृद्धिदर ऋणात्मक हुनेको अवस्था पनि उस्तै छ । सबैभन्दा बढी ऋणात्मक वृद्धिदर भएको साँफेबगर नगरपालिका अछामको जनसंख्या वृद्धिदर –२.५५ प्रतिशत छ तर देशकै सबैभन्दा धेरै जनसंख्या वृद्धिदर ऋणात्मक भएको काभ्रेको चौंरीदेउराली गाउँपालिकाको जनसंख्या वृद्धिदर– ३.७६ प्रतिशत रहेको छ ।
यहाँ प्रस्तुत तथ्याङ्कलाई सामान्य अध्ययन गर्ने हो भनेपनि खासगरी तराई र सहरी क्षेत्रमा तीब्र रुपमा जनसंख्या बढ्ने तथा पहाड र गाउँ पालिकाहरुमा जनसंख्या घट्दै जाने अवस्था देखिएको
छ । कागेश्वरी मनोहराकै कुरा गरौं न, यही दरमा जनसंख्या वढ्ने हो भने अबको १० वर्षम त्यहाँको जनसंख्या झण्डै दोब्बर हुन्छ । अनि चौरीँदेउराली गापा भने रित्तै हुन्छ । यसले के देखाएको छ भने तराई र सहर उकुसमुकुस हुने अनि हिमाल, पहाड तथा गाउँ पालिकाहरु खण्डहरु बन्दै जाने अवस्थामा छन् ।
बसाइँ सर्नुको कारण के ? भन्ने प्रश्नमा धेरैको उत्तर हुन्छ, रोजगारी । विवाहका कारण र आश्रित भएका कारण भन्नेको संख्या पछि के का लागि बसाइँ सर्नु भएको भन्ने प्रश्नमा धेरैको उत्तर हो, रोजगारी । ग्रामिण क्षेत्रहरुमा रोजगारीका अवसरहरुको कमिका कारण पछिल्लो समय बसाइँ सर्नेको संख्या बढ्दै गएको छ । सहरी क्षेत्रको तुलनामा ३० प्रतिशतसम्म ज्याला कम पाउने भएकाले पनि गाउँमा रोजगारी भएपनि ज्यालादरमा हुने कमिका कारण काम गर्ने जनशक्ति गाउँमा वस्न रुचाउँदैन । स्वास्थ्य सेवाको पहुँचको कुरा गर्ने हो भने ज्वरो आउँदा आफै निको नहुँदासम्म ओछ्यानमै लड्ने अनि खोकी लाग्दा मज्जाले खोकेर त्यसलाई निको पार्ने हो, भन्नु पर्ने अवस्थाको जनसंख्याको आकार ठूलै छ । हात खुट्टा भाँचिदा प्लास्टर गर्न सहर झर्नु पर्ने बाध्यता त अझ धेरैको छ । यस्तोमा सहर झर्दा वा तराई झर्दा स्वास्थ्य सुविधा पाईने भएकाले पनि मानिसलाई हिमाल, पहाड वा गाउँमा रोक्न नसकिएको हुनसक्छ । बसाइँ सरेर सहर वा तराई झेरेकाहरुसंग सोध्ने हो भने उनीहरु शिक्षा, रोजगारी र स्वास्थ्य सेवाको खोजीमा आफुहरु यता आएको बताउने गर्दछन् ।
गुणस्तरिय शिक्षाको खोजी पनि सहर वा तराई तर्फको बसाइँ सराइको कारण हो । अहिलेको मानिसले कमसेकम बुझको के हो भने राम्रो शिक्षाको अभावले परिवारको अरु आउने धेरै पुस्तालाई गरिबीको चक्रमा फसाउँने गर्दछ । गाउँका कच्ची सडकमा वर्षालागेसंगै गाडी चल्दैनन् । यसले विरामी पर्दा समस्या त भएको छ नै गाउँको उत्पादन सहरसम्म ल्याउन नपाउँदा कमाईको बाटो बन्द हुने तितो यथार्थ छँदैछ । यद्यपि मानिस गरिब भएर मात्र सहर झर्छ भन्ने चाहिँ होइन, बरु सम्पन्न भएसंगै सुविधाको खोजीमा सहर झर्नेको संख्या पनि धेरै नै होला ।
तर अहिलेको बसाइँ सराइको महत्वपूर्ण कारण ऋषिङका अध्यक्ष श्रेष्ठले भने झै जीवन यापन सहज बनाउने नै हो । यता तर्फ सबैको ध्यान जाओस् ।