चन्द्रा पौडेल
म्याग्दे इनर ह्वील क्लब अफ न्युरोड पोखराले म्याग्दे ४ मनहरी स्थित पार्वती आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति, विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष लक्ष्मी वस्नेत अधिकारीले बालबालिकालाई सहयोग हस्तान्तरण गरेकी हुन् । म्याग्दे गाउँ पालिका शिक्षा शाखाका प्रमुख विजयराज बडुको प्रमुख आतिथ्यका आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १२ बालबालिकालाई छात्रवृति स्वरुप नगद रकम विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा कक्षा एक, दुई र तीनका पाँच जना बालबालिकालाई जनही एकहजार दुईसय रुपैयाँ तथा कक्षा चार र पाँचमा अध्ययनरत सात जना बालबालिकालाई जनही दुइहजार चारसय रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बडुले सरकारले गर्नुपर्ने काम क्लबले गरेको भन्दै क्लबको कामको प्रशंसा गरे । बडुले आगामी दिनहरुमा पनि क्लबले विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग जारी राख्ने विश्वस व्यक्त गरे । क्लवकी अध्यक्ष अधिकारीले बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि क्लबको क्षमताले भ्याएसम्म बालबालिकालाई सहयोग गर्ने बताईन । उक्त अवसरमा विव्यस अध्यक्ष चन्द्रकुमार मल्ल तथा प्रधानाध्यापक सागर आचार्यले सहयोगी मनहरु प्रति कृतज्ञता प्रकट गरेका थिए ।
क्लबकी सचिव जमुना बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा क्लबको बर्तमान तथा पूर्व पदाधिकारी, विव्यस सदस्यहरु, शिअसंघका अध्यक्ष तथा सदस्यहरु र स्थानीय अभिभावकको उपस्थिती रहेको थियो ।