आज मिति २०७६ चैत्र ६ गते विहिबारबाट यस वर्षको एसइई परीक्षा सुरु भएको छ । लाखौंको संख्यामा विद्यार्थीहरु नेपाल भरीबाट यो परीक्षामा सहभागी हुँदैछन् । कोही उत्कृष्ट ग्रेड ल्याउनु पर्ने चुनौति र उत्साह सहित सहभागी हुँदैछन् भने कोही ग्रेडिङ सिस्टममा सहजै पास भइने खुसी सहित । विद्यालय र सम्बन्धित शिक्षकहरुमा पनि एक किसिमको अदृश्य तनाव सुरु भएको छ, आफ्नो विद्यार्थीले कस्तो प्रस्तुति दिनेहुन भन्ने कुराले गर्दा । कोरोना भाइरसको त्रासले एसइई परीक्षा पनि सर्ने हो कि भन्ने कुरा पनि थियो तर कोरोनाको त्रासलाई पनि विस्थापित गर्दै निर्धारित मितिमै यो परीक्षा सुरु भएको छ । यद्यपि परीक्षा केन्द्रहरुमा विशेष सतर्कता अपनाउन सूचना जारी गरिएको छ । जुन आवश्यक छ र गरिनु पनि पर्छ ।
समय गतिशिल र परिवर्तनशिल छ । यो धु्रवसत्यको सहारा मैले मेरो आलेखमा पटक पटक लिएको छु, उल्लेख गरेको छु । आजपनि फेरी एक पटक यही धु्रवसत्यलाई उल्लेख गर्न चाहन्छु । समय गतिशील र परिवर्तनशील छ । समयसंगै हरेक कुराहरु परिवर्तन हुँदै जान्छन् । त्यही परिवर्तनको क्रममा पहिलेको एसएलसी अहिलेको एसइई भएको छ । भलै नाम भन्दा बाहेक यसको अन्य तौर तरिकामा केही पनि परिवर्तन भएको छैन, ग्रेडिङ प्रणालीलाई छाडेर । पहिले कक्षा १० को अन्तिम परीक्षा दिएपछि विद्यालय तहको पढाई पूरा भएको मानिन्थ्यो, त्यसकारण यो परीक्षालाई एसएलसी अर्थात School leaving Certificate भनिन्थ्यो । तर अहिले नेपालको विद्यालय संरचनामा पनि परिवर्तन भएको हुँदा पहिले कक्षा १० सम्म रहेको माध्यमिक तह १२ कक्षासम्म पुगेको छ । त्यसैले पनि १० कक्षाको परीक्षालाई SLC भन्न नमिलेर एसइई नामाकरण गरिएको छ । तर पङ्तिकारलाई १० कक्षाको यो परीक्षालाई एसइई भन्न पनि मिल्न कि नमिल्ने भन्ने कुरामा सन्देह छ । किनभने एसइई को पूरा रुप हुन्छ, Secondary Education Examination । जसलाई नेपालीमा रुपान्तरण गर्दा माध्यमिक शिक्षा मूल्याङ्कन हुन्छ । नेपालको वर्तमान विद्यालय संरचना अनुसार माध्यमिक तह भन्नाले कक्षा ९– १२ भन्ने बुझिन्छ । यसलाई आधार मान्दा कक्षा १० माध्यमिक तहको अन्तिम कक्षा पनि होइन् । यसर्थ कक्षा १० को परीक्षालाई एसइई भन्ने कि नभन्ने भन्ने पङ्तिकारको जिज्ञासा हो । खैर नाम जे राखेपनि नाम भन्दा महत्वपूर्ण पद्धति र औचित्य हो जस्तो लाग्छ कमसेकम एसइई को सन्दर्भमा । त्यसकारण यस आलेखमा वर्तमान अवस्थामा एसइई जुन हिसाबले सञ्चालन भै रहेको छ, यसको सान्दर्भिकता र महत्व के कति होला भन्ने सन्दर्भमा चर्चा गर्ने जमर्को गरेको छु ।
नेपालको शैक्षिक इतिहासलाई हेर्ने हो भने विसं १९९० सालबाट एसएलसी परीक्षाको सुरुवात भएको हो । आजभन्दा ८६ वर्ष पहिले सुरु भएको एसएलसी परीक्षामा आजको मितिसम्म आईपुग्दा धेरै परिवर्तन भएको छ । कुनै समय नेपालमा एसएलसी पास गर्नु भनेको आजको मितिमा एज्म् गरे सरह मानिन्थ्यो । एसएलसी उत्तीर्ण गरेको व्यक्तिलाई खोजीखोजी जागिर दिने चलन पनि थियो, नेपालमा कुनै कालखण्डमा । जुन आजको पुस्ताको लागि एकादेशको कथा हो । पङ्तिकार स्यमलाई पनि अग्रजहरुले यो कुरा पहिलो पटक सुनाउँदा हो र ? भन्न कर लागेको थियो । एसएलसी उत्तीर्ण भएपछि जागिरले खोज्दै घरमा आउने कालखण्ड पार गरेपछि एसएलसी, सरकारी सेवामा( निजामती र शिक्षक) प्रवेशको लागि आवश्यक न्यूनतम योग्यता हुन पुग्यो । त्यो पनि तल्लो तहको लागि । आजको मितिसम्म आइपुग्दा पहिलेका एसएलसी अहिलेका एसइई ले आफ्नो त्यो महत्व पनि गुमाइ सकेको छ । अर्थात आजको मितिसम्म निजामति र शिक्षण क्षेत्रको सबैभन्दा तल्लो तहमा सेवा प्रवेश गर्न पनि न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । भलै सरकारी सेवा अन्र्तगत सेना र प्रहरीमा यति योग्यता पहिले पनि आवश्यक थिएन र अहिले पनि तल्लो तह अर्थात सिपाहीमा भर्ती हुन निजामती र शिक्षण क्षेत्रमा जति शैक्षिक योग्यता आवश्यक पर्दैन । अतः मेरो जिज्ञासा भनौं, तात्पर्य भनौं वा प्रश्न के हो भने एसइई परीक्षा उत्तीर्ण गरेर सरकारी जागिरको सबैभन्दा तल्लो तहका प्रवेश गर्न पनि योग्य भइँदैन भने यसका लागि यति ठूलो तामझाम र खर्च किन ?
एसइई परीक्षाको लागि प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका छपाई, परीक्षा केन्द्र व्यवस्थापन केन्द्राध्यक्ष तथा निरिक्षकलाई दिनुपर्ने पारिश्रमिक तथा सेवा सुविधा, उत्तर पुस्तिका परिक्षणमा हुने खर्च, नतिजा प्रकाशनमा हुने खर्च सबैलाई जोड्ने हो भने हिसाब करोडौंमा आउँछ । सरकारको नीति छ सकेसम्म धेरै विद्यार्थी उत्तीर्ण गराउने । एसइई परीक्षा कै कारणले कुनैपनि विद्यार्थीको अगाडिको पढाई सकेसम्म नरोकियोस् । अर्थात कुनै एक दुइ विषयमा कमजोर भएको कारणले कक्षा ११ पढ्नबाट वञ्चित हुन नपरोस् । यस्तो अवस्थामा जहाँ सरकारको नीति सकेसम्म धेरै विद्यार्थी उत्तीर्ण गराउने छ र एसइई को परीक्षा आफैमा कुनै तह उत्तीर्ण हुने परीक्षा पनि हैन । यस्तो अवस्थामा एसइई परीक्षाको लागि यति धेरै खर्च गर्नुको सान्दर्भिकता र एसइई परीक्षालाई यति बोझिलो बनाई राख्नुको औचित्य कति होला ? के यसलाई अझ सरल र कम खर्चिलो बनाउन सकिँदैन आगामी वर्षहरुमा ?
कक्षा १० अर्थात एसइई उत्तीर्ण भएपछि कक्षा ११ मा पढ्ने विषयवस्तुको क्षेत्र धेरै फराकिलो हुन्छ । जस्तो कक्षा १० र कक्षा ११ को पाठ्क्रम र विषयवस्तु तुलना गरेर हेर्ने हो भने धेरै अन्तर छ । यसर्थ कक्षा ११ मा पढ्नको लागि विद्यार्थीलाई तयार बनाउन एसइईलाई अहिले भैराखेकै अवस्थासम्म त बनाउनु पर्छ भन्ने तर्कपनि गर्न सकिन्छ । जुन एक हिसाबले ठिकैपनि हो तर अर्काे कोणबाट नियाल्ने हो भने अहिले एसइई परीक्षामा एच्छिक प्रथम र अनिवार्य गणित बाहेक अन्य सबै विषयमा २५ अङ्क प्रयोगात्मक परीक्षाका लागि भनेर छुट्याइएको छ । प्रयोगात्मक परीक्षा आफैमा महत्वपूर्ण र आवश्यक भएपनि नेपालको अधिकांश विद्यालयहरुमा प्रयोगात्मक परीक्षा विनै विद्यार्थी हरेर अंङ्क दिने प्रचलन छ । यसको अनुगमन पनि हुने गरेको छैन । जसले सांकेतिक रुपमा के अर्थ राख्छ भने २५ अंङ्क विद्यार्थीलाई सोझै देउ ताकि उसको राम्रो ग्रेड आओस् । यसरी नीतिगत रुपमै कसरी हुन्छ विद्यार्थीले धेरै अंङ्क पाउने वातावरण बनाइएको अवस्थामा एसइई लाई यति धेरै खर्चिलो र झण्झटिलो बनाईराख्नुको खास तात्पर्य छ जस्तो मलाई चाहिँ लागेको
छैन ।
मैले माथि नै उल्लेख गरिसकेँ कि एसइई उत्तीर्ण हुनु आफैमा कुनै तह उत्तीर्ण हुन हैन न यो कुनै जागिरको लागि योग्य हुने प्रमाणपत्र नै हो । तर अझै पनि कक्षा १० मा पुग्ने वित्तिकै सम्भव भए शैक्षिक शत्रको सुरुवात देखि नभए दशै तिहार विदापछि त अनिवार्य रुपमा अतिरिक्त कक्षाहरु सञ्चालन गरेर विद्यार्थीलाई आर्थिक भारमा पार्ने काम पनि नेपालको प्राय सबै विद्यालयहरुमा हुन्छ , चाहे त्यो सामुदायिक विद्यालय होस् चाहे त्यो संस्थागत विद्यालय होस् । एकातर्फ ग्रेडिङ प्रणालीमा सहजै पास भइने भ्रमका कारण विद्यार्थीहरुमा पढाई प्रतिको हेलचेक्राईँ बढीरहेको छ , अर्काे तिर ६ वटा विषयमा २५÷२५ कार दरले प्रयोगात्मक अंङ्क छुट्याएर विद्यार्थीलाई सोझै अंङ्क दिने व्यवस्था गरिएको छ, अर्काेतर्फ एसइई को परीक्षा भनेको केवल ११ पढ्ने ढोकामात्र हो । यस्तो अवस्थामा एसइईलाई अझैपनि तामझामका साथ सञ्चालन गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन । शुरुवात देखि नै सबैकुरालाई लठापत्र बनाएर परीक्षामात्र व्यवस्थित गरी राम्रो नतिजाको आशा गर्नु फगत एउटा मुर्खता मात्र हो । तसर्थ या कक्षा १० को पढाईलाई सुरुवात देखि नै व्यवस्थित बनाउने र एसइई को प्रमाण पत्रले पनि कहिँ न कहिँ मान्यता पाउने व्यवस्था मिलाऊँ । हैन जहाँ पनि १२ पास नभई अर्थ नहुने हो भने नाम मात्रको एसइई लाई यति खर्चिलो र झण्झटिलो नबनाऊँ ।
कक्षा १० को अन्तिम परीक्षा अर्थात एसइई परीक्षा उत्तीर्ण हुनु भनेको परीक्षा सञ्चालन प्रणाली हेर्दा अहिले पनि धेरै ठूलो कुरा हो । जसलाई पहिले पनि ठूलै उपलब्धीको रुपमा लिइन्थ्यो । पहिले यसलाई ठूलै कुरा बनाउनु केही हदसम्म जायज थियो किनभने एसएलसी को मूल्य थियो । तर अहिले हरेक क्षेत्रमा १२ उत्तीर्ण जनशक्ति खोज्न थालिएपछि एसइई मूल्यहिन भएको छ । एसइई फगत कक्षा ११ प्रवेश गर्ने द्वारमा सिमित भएको छ । त्यसमापनि राम्रो भनिने कलेजहरुमा प्रवेश परीक्षा उत्तीर्ण नगरीकन एसइई को ग्रेडकै आधारमा भर्ना हुन पाइँदैन, जुन पहिले पनि पाईन्थेन । बाँकी अन्य कलेजहरुमा पहिले पनि जो कोहीले पढ्थे अहिले पनि पाउँछन् । यसरी सबैतिरबाट महत्वमा कटौती गरिएको र विस्तारै अर्थहिन बन्दै गइरहेको एसइई परीक्षालाई अबपनि ठूलै हाउगुजी बनाइराख्नु पर्ने आवश्यकता छैन । निःसन्देह परीक्षा व्यवस्थित हुनुपर्छ, मर्यादित हुनुपर्छ तर केन्द्रबाटै सञ्चालित हुनुपर्छ र यसरी नै खर्चिलो बनाइनु पर्छ भन्ने चाहिँ छैन । तसर्थ कम खर्चिलो र सहज कसरी बनाउन सकिन्छ भन्ने तर्फ सम्बन्धित निकायको समयमै ध्यान दृष्टि पुगोस् ।
आजको सन्दर्भमा एसइई
previous post