घाटु नाच विशेष गरी गुरुङ, मगर, दरै, कुमाल र थारु समुदायमा प्रचलित लोक नृत्य हो । यो नाच मातातीर्थ औशीदेखि मध्य वैशाखसम्म नाच्ने गरीन्छ । घाटु नाचलाई एक शास्त्रीय नाचका साथै लोक संस्कृतिमा आधारित एक गीती नाटकको रुपमा लिइन्छ । घाटुको अर्थ स्पष्ट खुल्न नसकेता पनि घा को अर्थ घाउ र टु को अर्थ दिन्छ भन्ने मान्यता अनुसार घाटुको अर्थ घाउ सिउनु भन्ने बुझिन्छ ।
ऐतिहासिक किम्बदन्ती अनुसार घाटु नाच १६ औं शाताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानी, राजा प्रशुराम र रानी यम्बाबती ( चम्फावती पनि भेटिन्छ ) को विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलप्रस्थान, शिकार आदि घटनामा आधारित रहेको छ ।
सति घाटु
सति घाटु वैशाख पूर्णिमाको समय पारेर नाच्ने गरिन्छ । यो नाच वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि मध्य जेठसम्म नाच्ने गरिन्छ । सति घाटु रितपूर्वक मादलको ताल र गीतको तालमा नाचिने एक शास्त्रीय नाच हो । सति घाटु नाच्ने क्रममा घाटुनी कन्याहरुमा देवी चढ्ने भएकोले उनीहरु नाच्ने क्रममा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । सति घाटु नाच्ने क्रममा मादलको ताल वा गीतको तालमेल बिग्रियो भने नाच्ने कन्याहरु बेहोस भइरहने विश्वास गरिन्छ ।
बाह्रमासे घाटु
बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी मगर अथवा गुरुङ वस्तीमा पाहुना जाँदा कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका कुने साइत हेर्न पुजा अर्चना गर्ने कार्य गर्नु पर्दैन ।
घाटुनी छनौट
घाटु नाच्ने कन्या छनौट गर्दा मुख्यतया रजस्वला नभएका कन्याहरु आवश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नु अघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको नाम जपिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्ने गरीन्छ । घाटु नाचको सुरुवात मंगलाचरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, घर्ती र आकाशलाई साक्षी राखिन्छ । घाटु नाचमा बाद्य र श्रृङारभन्दा पनि कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुने हुँदा कलाकार, दर्शक समेत रोेएको पाईन्छ । सति घाटुमा गुरुबा÷गुरुआमाले गीतबाटै मंगलाचरण गरी घाटु देवता जगाउने, घाटुनी चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने, सति ढलाउने, सति जगाउने काम गर्छन् । घाटु सेलाउने क्रममा निश्चित ठाउँमा देउराली बनाई पूजा पाठ गर्ने र नाचगान गरी रमाईलो गरीन्छ र घाटु खुवाई( भोज) कार्यक्रम आयोजना गर्ने पनि चलन रहेको छ ।
के हो घाटु खुवाई÷खै ( भोज)
धेरै वर्ष पहिले कुनै एउटा गुरुङ गाउँमा घाटु नाच नाच्ने क्रममा घाटु गीत समापन भैसक्दा पनि एकजना घाटुनीको चेत खुलेन । गाउँलेहरुले अने गर्दा पनि घाटुनीको चेत नखुलेपछि घाटुनी म¥यो भनि चिहान बनाएर गाडी दिए । सो घटना भएको केही समय पश्चात एक जना गाउँले परदेशबाट फर्कने क्रममा थकाई मेट्न भनि एक ठाउँमा सुस्ताउन बस्यो । समय विताउन उक्त व्यक्तिले घाटु गित गाउन थाल्यो । संयागवश उक्त परदेशी सुस्ताउन वसको ठाउँ गाउँले हरुले मृत्यु भयो भनि घाटुकी नर्तकी गाडेको ठाउँ रहेछ । गित सुनेपछि नर्तकीको मृत शरिर विउँतिन पुगी चिहानबाट आवाज आउन थाल्यो । चिहानबाट आवा ज आएको सुनेर परदेशी छक्क प¥यो । यो कुरा उसले गाउँमा गएर सुनायो । गाउँलेहरु सबै जम्मा भएर चिहानमा गए र चिहान खोतल्न थाले । धाँटु नाचेकी उक्त युवती जिउँदै भेटिइन् । मरेकी भनेर गाडेकी बालिका जिउँद पाएर गाउँलेहरु खुसी हुँदै भोज भतेर गर्न लागे । उनीहरुले छिमेकी गाउँमा मानिस समेत बोलाएर खुसी हुँदै भोजभतेर गरे । त्यही दिनदेखि गुरुङ समुदायका मानिसहरुले घाटु नाच पश्चात घाटु खै(खुवाई) खाना सुरुवात गरेको मानिन्छ । खै को अर्थ आयो हुने हुँदा घाटु नाच पश्चात घाटुनीहरु सकुसल भएकोर कसैलाई हानी नोक्सानी नभएको हुँदा यसै खुसीयालीमा विभिन्न गाउँ ठाउँका मानिसहरुलाई निमन्त्रणा गरी घाटु खुवाई भोज गर्ने गरिन्छ ।