
पृष्ठभूमिः
यो स्तम्भमा कानुन, न्याय र अनुभवका कुरा लेखि राखेको छु । लेख्नेले लेख्न पर्ने, बोल्नेले बोल्न पर्ने, दिनेले दिनु पर्ने, पाउनेले पाउनु पर्ने यी सामाजिक दायित्व र कर्तब्यका सवाल हो भन्ने बुझाइले र २०५५ देखि दमौलीमै रहे बसेको कारण दमौलीको सामाजिक प्रतिष्ठासंग जोडिएको मेरो दीलमा यो विषयले चस्का दिँदा लेख्न मन लाग्यो । यथार्थ तथ्यमा आधारित विषयलाइ आलंकारिक शैलीमा प्रस्तुत गर्ने लेखकिय दाइत्व वोध भयो ।
न्यायको मार्गः
हामीले झट्ट बुझ्दा न्यायको मार्ग भनेको कानुनले बताएको, वकिलले देखाउने मार्ग भनेर बुझ्दछौं । यति बेला मेरो बुझाइ बदलिएको छ । एउटा शिक्षित महिलाले संयमता पूर्वक देखाएको धैर्यताले मेरो मष्तिष्कमा सामाजिक न्यायको मार्ग पनि त छ नि भन्ने बोध गरायो । ती पीडित शिक्षित महिलाको बुझाइमा कानूनको मार्गले मुद्दा माथि मुद्दा संख्या बढाउँछ, खर्च बढाउँछ, प्रेमपूर्ण दाम्पत्यमा दुरी बढाउँछ । तर सामाजिक न्यायको मार्गले पारिवारिक समन्वय र समझदारी स्थापित गर्छ, पारिवारिक मिलनलाइ सहज बनाउँछ भन्ने बुझाइ रहेछ । मलाइ त्यो विचारले नतमस्तक तुल्यायो ।
सामाजिक न्यायको मार्ग के हो ?
आफूलाइ बाणिज्य विषयको स्नातकोत्तर बताउने ती महिलाको बुझाइमा सामाजिक न्यायको मार्ग भनेको टोल, वडा, महिला सेल, पालिकास्तरीय न्यायीक समिति, वर्तमान मेयर, पूर्व मेयर, दमौलीका प्रतिष्ठित व्यापारी, पत्रकार, प्राध्यापक, डाक्टर, वकिल, शिक्षक, मानव अधिारवादी, सामाजिक अभियन्ता समेतका समाजका सचेत नागरिकको आवाजबाट पाउने न्याय रहेछ । यी सबैले सामाजिक न्यायको पक्षमा बोल्नु सामाजिक दायित्व हो भन्ने उनको बुझाइ
रहेछ । सम्बन्ध विच्छेद, घरेलुहिंसा, मानाचामल, अंश जस्ता कानुनी अधिकारको न्यायिक मार्ग त अन्तिम विकल्प हो । हत्तपत्त न्यायीक मार्गमा जाँदा नेपाली समाजलाइ विखण्डन तर्फ लग्यो । अब हामीले हाम्रो सामाजिक संरचना र संस्कार बचाउन सामाजिक न्यायको मार्गबाट हिड्ने अधिकतम संयमता देखाउनु पर्दछ भन्ने ती पीडित महिलाको बुझाइ रहेछ ।
प्रसंसनीय संयमित धैर्यताः
विवाह नगरी बस्ने निष्कर्षमा ३५ बसन्त पार गरेकी परिपक्व ती महिला निरन्तरको पारिवारिक चाहान र सुझावबाट थकित भएर २०८२ बैशाख ३० गते बिबाह गर्न मन्जुर गरिछन् । विवाह हुने भएपछि खाँदाखाँदैको ६० हजारको जागिर २०८१ चैत्र १ गतेबाटै छोडेर दाम्पत्यलाइ प्राथमिकता दिन मन्जुर गरिछन् । घरपरिवारले दिएको ‘साउन’ बार्नैपर्ने सुझाव अनुसार ५५ दिनको कर्मघरको बसाइ पछि २०८२ असार २३ गते माइतीमा लगेर छोडिएकी रहिछन् । साउन बारेपछि ससुराले साउन ११ गते बोलाउनु भएको रहेछ । पतिले बुवाले भनेपनि साउन मेरो ‘ब्रम्हचर्यमा’ बस्ने महिना हो, भदौ लागेपछि घरमा आउनु भन्ने निर्देशन बमोजिम भदौ १३ गते दुइ महिनाको गर्भ धारण गरेकी पत्नि÷बुहारी घरमा आउँछिन् । घरमा बस्न
पाउदिनन् । हात जोडेर छोरालाइ सम्झाएर पछि बोलाउछु भनेर माइतै फिर्ता पठाइन्छिन् । छोरालाइ सम्झाएर बोलाउने वातावरण दशैंमा पनि मिलेन । कार्तिकमा पनि मिलेन, मंसिर, पुससम्ममा पनि मिलेन । गर्भको बच्चा माइतीमा जन्माउन त भएन भनेर माघ ६ आउदा घरमा आउँदा ताला लगाएर परिवार काठमाण्डौमा बसेको रहेछ । ६ गते नै पारिवारिक समन्वय र समझदारीको लागि महिला सेल गुहार्छिन् । पतिले माघ १५ आउँछु भन्छन् । सो दिन महिला सेलले सम्पर्क गर्दा फेरी २१ गते आउँछु भन्छन् । २१ गतेको छलफलमा २० गते नै मुद्दा दायर गरेको, जे हुन्छ सोही मुद्दाबाट हुन्छ भन्छन् । २२ र २३ को छलफलबाट निकास ननिक्लने देखेपछि अदालत गैसकेको भन्दै महिला सेलले २५ गते व्यास नगर न्यायीक समितिमा पठाउँछ । २५ गते नै न्यायीक समितिमा छलफल हुन्छ । परिवारको अन्यायपूर्ण बचन र आरोप सहन नसकेर पिडित नौ महिनाको गर्भवती ती महिला बेहोस हुन्छिन् । दमौली अस्पताल भर्ना हुन्छिन् । न्यायिक समितिले पतितर्फलाई चैत्र १९ को तारीख दिएर पठाउँछ । स्वास्थ्यमा अलिक सुधार भएपछि न्यायिक समितिको सम्पर्कमा पुग्दा चैत्र १९ गरेको तारीख पर्चा हातमा थमाइ पाउँछिन् । नौ महिनाको गर्भवतीको पालन पोषण, संरक्षण घरमा जाने बस्न पाउने माग बमोजिमको वातावरण मिलाउने तर्फ पहल नहुदासम्म पनि ती पठित महिला धैर्यता पूर्वक संयमित हुन्छिन् । दाम्पत्य बचाउन घरेलुहिंसा, पालनपोषण खर्च तर्फको कानुनी उपचारले भन्दा घरमा बस्ने र बच्चाको न्वारन गर्दा मात्रै न्याय पाउने बौद्धिक उच्चस्तरको संयमता ५७ दिनसम्म देखाउँछिन् । माघ ६ गतेदेखि दमौलीको मार्फाली होटलमा बसेर दमौलीको समाजबाट पारिवारिक समन्वय र समझदारीको वातावरणको प्रतिक्षामा गरेकी ती महिलालाइ बच्चा जन्माउने डाक्टरले दिएको २०८२ फागुन २४ गते अगावै निकास सबै विकल्प खोज्दछिन् । उन लागेपछि होटलको वासले निर्वाह नहुने बुझाइले घरडेरा लिन्छिन् । चिकित्सकले दिएकै दिन फागुन २४ गते आईतवार विहान सात बजेर ३१ मिनटको समयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा छोरी जन्माउछिन् । अझै पनि ती सुत्केरी र छोरीको उचित पालनपोषण स्याहार सुसारको लागि आफ्नै घरपरिवारको वातावरणको अधिकारको पक्षमा दमौलीको समाजले बोल्दैन र पनि सामाजिक न्यायको पक्षमा संयमित भएर उच्चस्तरको धैर्यता देखाइ रहेकी छन् ।
भाद्र ४ गते गर्नुपर्ने न्वारन गराउन परिवारलाइ सहमत गराउन नसकेपछि न्वारन गराउन र घरमा बस्नका लागि घरमा प्रवेश गर्न नपाएको ५७ दिनपछि अदालतको शरणमा पुग्छिन् ।
निष्कर्षः
दमौलीको समाजले पिडित महिला र नवजात शिशुको न्यायको लागि पारिवारिक समन्वय र समझदारी कायम गरिदिनु
पर्दछ । महिला सेल, न्यायीक समिति, मेयर, पूर्व मेयर, दमौलीका प्रतिष्ठित व्यापारी, पत्रकार, मानव अधिकारवादी, महिला अधिकारवादी, कानुन व्यवसायी, प्राध्यापक समेतका सचेत नागरिक रहेबसेको समाज मा सुत्केरी महिला र न्वारन हुन नपाएको शिशुप्रतिको न्याय वा अन्यायका बारेमा नतमस्तक र किंकर्तव्यविमुढ बनेर बस्न सुहाउँदैन । न्यायीक विवेकबाट पारिवारिक समन्वय र सहजिकरण गरि निकास सुझाइ समाधान दिनु तनहुँको सदरमुकाम दमौलीको समाजको प्रतिष्ठा जोगाने कर्तव्य पनि हो ।
