मयंक मिश्र नामका एक भारतीय युुट्युवर विभिन्न सन्देशमुलक भिडियो बनाएर च्यानलमा राख्ने गर्छन् । केही दिन अगाडी मिश्रले राखेको भिडियोको बारेमा छोटो चर्चा गरेर आजको आलेख आरम्भ गर्नेछु ।
भिडियो यस्तो छ, एक पुरुष आफ्नी श्रीमतीको उपचारका लागि सहर बाहिर जागिरमा रहेको छोरालाई पाँचहजार रुपैयाँ जम्मा गर्न आग्रह गरेर चेक लिएर बैंकमा जान्छ । क्यासियरलाई चेक दिँदा थाहा हुन्छ, छोराले पैसा जम्मा गरेको छैन । क्यासियरलाई उसले आफ्नो खाता राम्रोसंग हेरिदिन आग्रह गर्छ । तर क्यासियरले पैसा नभएको भन्दै पछाडि गएर अरुलाई पालो दिन आग्रह गर्छ । उ छोरालाई फोन गर्छ, पैसा जम्मा नभएको सम्झाउँछ । तर छोरोले आफु काममा व्यस्त भएको भनेर फोन काट्छ । यो सब देखी–सुनिरहेको बंैकको अर्काे कर्मचारीले चेक पुनः मागेर खाता हेरे जस्तो गरी खाता अध्यावधिक हुन समय लागेकोले खातामा देखिन ढिला भएको भन्दै छोराले पैसा पठाएको बताएर चेकमा उल्लखित रकम दिन्छ । साथीको व्यवहारबाट अचम्ममा परेको क्यासियर भन्छ, के गरेको यो ? जवाफमा रकम दिने कर्मचारी भन्छ, मेरो सानो सहयोगले कुनै बुवाको आफ्नो छोरा प्रतिको विश्वास कायम रहन्छ भने त्यो सहयोग मैले किन नगर्ने ? उ चेक देखाउँदै अगाडि थप्छ, यो चेक मात्र होइन बरु यो त त्यो मानिसको छोरा प्रतिको विश्वास हो । यदि उसले पैसा नपाएको भए छोराका प्रतिको उसको विश्वास मर्ने थियो र यो फगत कागजको टुक्रा बन्ने थियो अनि उ दुःखी हुने थियो ।
बैकमा पंैसा आएको र आफुले झिकेर आमाको उपचार गर्ने लागेको भन्ने बाबुको फोन कलले बाबुलाई ढाँटेको छोरा भने अवाक् हुन्छ ।
गणतन्त्र स्थापनाको १७ वर्ष भैसकेको छ । यस बीचमा सत्ताको नेतृत्व गरेका विभिन्न दल र तिनका नेताले हामी नागरिकलाई देशलाई समुन्नत बनाउने वचन दिएका थिए । तर देश समुन्नतिको मार्गमा होइन बरु अवनतिको मार्ग उन्मुख छ । १० वर्षमा नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं भन्नेहरुले त्यसको तीन गुणा समय वितिसकेको पत्तै पाएनन् वा पाएर पनि नपाए जस्तो गरेका हुन् बुझ्न सकिएको छैन । यदि बुझ नपचाएका भए देशले कम्तिमा पनि अति विकसित राष्ट्रको कोटीबाट माथि उक्लने थियो । दक्षिण एशियामै भ्रष्ट मुलुकको रुपमा गणना हुने थिएन ।
गणतन्त्र आएपछिका कुरा नै गरेपनि आम नागरिकको जीवनस्तरमा सुधार आउने गरी कुनै काम प्रभावकारी रुपमा भएका छैनन् । बरु नेताहरु दिन दुइगुणा रात चौगुण धनी हुँदै गएका छन् अनि सर्वसाधरण भने खाए मकै नखाए भोकै भन्ने अवस्थामा पुगेका छन् । गणतन्त्र प्राप्तीका लागि भएको आन्दोलनका बेला नेताहरुले गरेका सबै बाचा भुलेका छन् । उनीहरुले देखाएका सपना पूरा हुने त कुनै छाँट नै छैन । ठूला सपना देखाए, नागरिकमा उत्साहको आँधी र आकांक्षाको बाढी ल्याई दिए तर उपलब्धी भने हात्ती आयो हात्ती आयो फुस्सा । उनीहरु म खाउँ, मै लाउँ सुख सयल वा मोज म गरुँ ।
म नाचुँ मै हाँसुँ अरु सब मरुन् दुर्वलहरु । भन्ने भावमा राज्य श्रोतको दोहन गर्दै, अनेकौं भ्रष्टाचारका काण्ड मच्चाउँदै अकुत कमाउने ध्याउन्नमा लागेका छन् ।
काठमाण्डौं उपत्यका पखाल्न पुग्नेगरी मेलम्चीको पानी ल्याउने भनेको तीन दशक भयो तर अझै मेलम्चीको पानी नियमित काठमाण्डौ आएको छैन । काठमाण्डौं अझै काकाकूलको नयिती भोग्दैैछ । अब कुनै नेपालीले भोकै र नाङ्गै बस्नु पर्दैन भन्दै चर्का भाषण गर्नेहरु विदेशी बैंकमा अरबौं पैसा जम्मा गर्न सक्नेभएका छन् तर भाषण सुनेर आफ्ना दुःखका दिन गएको कल्पनामा रमाउँदै ताली बजाउनेहरु निराश छन् अनि त्यसलाई सिरानी हालेर आनन्दको निन्द्रा निदाउनेहरुका अहिले अनिदो भएका छन् । उनीहरु आकाशलाई छानो बनाएर, आधा आङ ढाक्ने लुगा लगाएर अनि खोले खाएर चित्त बुझाउने अवस्था मै छन् । राजनीति विना लगानीको राम्रो आम्दानी हुने पेशा भएको छ ।
नेपालको आफ्नै पानी जहाज, पूर्व–पश्चिम रेल, घर–घरमा ग्याँसको पाइपलाइन जस्ता नेताले बेचेका सपनाले हामी मख्ख भयौं । तर मुखमा रामराम बगलीमा छुरा भन्ने उखानलाई चरितार्थ गर्दै यती, ओम्नी र बतासहरुको अथाह आर्जनको सपना पूरा गर्न पो लागे हाम्रा नेताहरु । दसी प्रमाणले दोषी ठहरिएका तर वास्तवमा अन्यायमा परेकाहरुलाई भनेर गरिएको आम माफीको व्यवस्थाको दुरुपयोग गरेर बालकृष्ण ढुंगेल र रिगल ढकालहरुलाई माफी दिन अग्रसर हुनेहरुले फेरी कानूनी राजको कुरा गरिरहेका छन्, ढंटुवा छोराले आमाको उपचारका लागि पैसा पठाउँछु भने झै गरेर ।
मिश्रको भिडियोमा ढंटुवा छोराको विश्वास कायम राख्ने बैंक कर्मचारी थियो तर यहाँ नेताहरु हाम्रा लागि सोच्छन् वा मलाई दुःख पर्दा सहायता गर्ने वा लड्न लाग्दा हात समाउन आउने कोही छ भन्ने विश्वास लाग्न छाडेको छ । यदाकदा व्यवस्था प्रतिनै अविश्वास प्रकट हुन थालेका छन् । आम जनविश्वास जगाई राख्ने चासो र चिन्ता भएको अनि त्यो हुटहुटी बोकेको कोही देखिएको छैन, सुदूर क्षितिजमा पनि । फगत भेटियोस्, देखियोस् भनेर कामना गर्न सकिन्छ ।
गाउँ घरमा हाम्रा आमा–बुबा तथा हजुरआमा–हजुरबुबाहरु कसैले ढाँट–छल गर्न खोज्यो वा कुनै पनि प्रकारको नराम्रो काम गर्न खोज्यो भने उसलाई त्यस्तो काम नगर्न सम्झाउने उद्देश्यले भन्ने गर्नुहुन्छ, मलामीको लाइनको ख्याल राखेस् । हाम्रा ति अग्रजहरुको विश्वास हो, राम्रो काम गर्दा मलामीको लाइन लामो हुन्छ र नराम्रो कामहरु थपिँदै जाँदा मलामीको लाइन छोटो हुँदै जान्छ । हाम्रो देशको नेतृत्व तहमा रहेका दल तथा कर्मचारी नेतृत्वलाई यही आग्रह मलामीको लाईन छोट्याउने खालका काम नगर्नु होला । देखाउनका लागि होइन फलानालाई गुमाउनु परेकोमा दुःख लागेको छ भनेर भक्कानिनेहरुको संख्या बढाउने गरी र जीवनपर्यन्त नागरिकले सम्झने गरी काम गर्नुहोस् भन्ने कामना । माथि प्रस्तुत प्रसंगमा जस्तो बुबाको भरोसा तोड्ने छोरो नबन्नु होला बरु बैकँको कर्मचारी जस्तो बन्नु होला जसको कामले हाम्रो व्यवस्था प्रतिको, त्यो व्यवस्थामा डाडु पन्यु चलाउने तपाईहरु प्रतिको विश्वास कायम राख्नेछ । अस्तु ।