अस्ती अर्थात मंगलबार, अंग्रेजी क्यालेण्डर अनुसार अक्टोवर महिनाको ३१ तारिख र महिनाको अन्तिम दिन पनि ।
सन् २०१४ मा पहिलो पटक अक्टोबर ३१ मा विश्व शहरीकरण दिवस मनाइएको थियो र अस्ती दिवसको दशौं संस्करण मनाइयो । मेरा प्रिय पाठकको जानकारीका लागि उल्लेख गरें कि अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, शहरी महिनाका रूपमा अक्टोबर महिनाको अन्तिम दिनलाई शहरीकरण दिवसका रूपमा मनाउने गरिएको हो । उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाउने गरिएको कुरा पनि स्मरणमा राख्नु उपयुक्त हुन्छ ।
यो दिवस मनाउने कुरा गर्दैगर्दा दिवसले विश्वव्यापी शहरीकरणमा अन्तर्राष्ट्रिय समुदायको चासो जगाउने, शहरीकरणका चुनौतीहरूलाई सम्बोधन गर्न र विश्वभरको दिगो शहरी विकासमा योगदान पु¥याउन देशहरूबीचको सहकार्यलाई अगाडि बढाउने अवसरको रूपमा काम गर्ने विश्वासका साथ यो दिवस मनाउन थालिएको तथ्य पनि विर्सनु हुँदैन ।
शहर भन्ने वित्तिकै हाम्रो मानसपटलमा स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, खानेपानी, सरसफाई, अवास आदिको सुविधाले युक्त घना वस्तीको तस्वीर तयार हुन्छ । तर अब शहर भनेपछि संस्कृति, सभ्यता र मानवता संरक्षणको उपयुक्त थलो, अर्थतन्त्र र राजनीतिको केन्द्र भन्ने पनि बुझिन थालेको छ ।
तर सहर भन्नासाथ हाम्रो मानसपटलमा बन्ने तस्वीर जस्तै छन्, हामीले भन्ने गरेका सहरहरु ? के हाम्रा सहरहरु साँच्चै स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, खानेपानी, सरसफाई, अवास आदिको सुविधाले युक्त छन् ? के हाम्रा शहरहरु मानवताको संरक्षण अनि संस्कृति र सभ्यता संरक्षणको उपयुक्त थलो बन्दै गएका छन् ? लगाएत अनगिन्ती प्रश्न गर्न थालिएका छन् ।
स्वच्छ पानीको त कुरै छाडौं पर्याप्त पानी समेत नपाएका, फोहरको डंगुर छेउबाट नाक थुनेर हिँडनु पर्ने, सवारी र उद्योग धन्दाबाट निस्केको धुवाँका कारण केही मिटर परको दृष्य देख्न नपाउने, कोलाहाल, अस्तव्यस्त वसोवास र यातायात व्यवस्था, सामान्य नागरिकका लागि हुन नसकेको स्वास्थ्य तथा शिक्षा सुविधाबाट पिडित काठमाण्डौका वासिन्दाको दयनिय अवस्था देख्दा र सम्झँदा शहरको परिभाषा नै बदलिएको हो कि भन्ने लाग्छ ।
काठमाण्डौमात्र किन नेपालका शहर नाम दिइएका जतिपनि घनावस्तीहरु छन्, ति सबै घनावस्तीमात्र लाग्छन्, भौतिक सुविधाका हिसावले सहर लाग्दैनन् । केही दिन विराएर धारामा आउने पानी पिउनका लागि त पर्याप्त छैन भने लुगा धुन, नुहाउन, भाँडा माझ्न, कौसीखेतीमा सिंचाई गर्न पुग्ने त कुरै भएन । स्वास्थ्य संस्थामा जाउँ, स्वास्थ्यकर्मी भेटिँदैनन् । भेटिए भनेपनि उपचारभन्दा बढी विरामीमा भय पैदा गर्छन् । शिक्षालय अब शिक्षालय रहेनन् सबै व्यापारिक केन्द्र बनेका छन् । घनावस्तीका बीचमा पेट्रोलियम पदार्थका भण्डारहरु छन्, यसले शहर सुरक्षित छैनन् ।
शहरका कुनाहरु यस्ता छन्, जहाँ कुनै घरमा आगलागी भयो, भूकम्प आयो वा दुर्घटना भयो भने न त त्यहाँ दमकल जान सक्छ, न त एम्बुलेन्स नै अनि न त उद्धार कार्य नै सजिलै गर्न सकिन्छ । शहरीकरण संगै थपिएका अनेकौं चुनौति छन् । ति चुनौतिका बारेमा आम शहरवासीलाई जानकारी गराउने र आसन्न चुनौतिको सामना गर्न सक्षम बनाउने भनेर शहरीकरण दिवस मनाउन थालिएको हो । तर दिवस मनाउन थालेको दशक वितिसक्दा पनि शहरका चुनौति र सामनाका उपाय बारे आम नागरिक खासै जानकार र सचेत देखिएका छैनन् । लागुपदार्थ तथा जुवा तासको दुव्र्यसनले शहर आक्रान्त छ । बढ्दो चोरी र आपाराधिक क्रियाकलापका कारण पनि शहरवासीहरु आक्रान्त छन् तर यी सबैबाट पार पाउने उपायबारे धेरै बेखबर छन् ।
बढ्दो प्लाष्टिकको प्रयोगले शहरहरु कुरुप बन्दै गएका छन् । बढ्दै गएका सवारी साधनका कारण हुने वायु प्रदुषण र ध्वनी प्रदुषणको हिसाब गरिसाध्य छैन । कंक्रिटको जंगलमा परिणत भएका शहरहरुमा कतै हरियाली देख्न पाईँदैन । वर पिपल लगाएर बनाएका चौतारा र आँप, कटहर लागएतका फलफूल लगाएर हाम्रा पुर्खाले बनाएका बगैँचा मासेर घर बनाउने होड चलेको छ । हामीले प्राणवायुको श्रोत गुमाउँदै गएका छौं ।
शहरको अर्काै अझ डरलाग्दो पक्ष के छ भने सहर अब संस्कृतिको विनाशक भएको छ । हाम्रा रैथाने संस्कृति, सभ्यता र मानवता अनि ज्ञानलाई घृणा गरेर अरुको अन्धानुकरण गर्न रमाउने भएको छ, शहर । छेउमा रहेका स्वच्छ नदी तथा खोलालाई दुर्गन्धित नाला बनाउन तँछाड मछाड गर्दैछन्, हाम्रा शहरहरु । जनसंख्याको चापले अकुसमुकस भएको शहर बढ्दो जनसंख्याको भार थेग्न नसकेर रोग, भोक, गरिबी, असमानता, बेथिती र अमानवियताको केन्द्र बन्ने क्रममा छ । शहर यस्तो ठाउँ हो जहाँ घरहरु नजिक छन् तर त्यहाँ बस्ने मानिसहरुको मन भने ठाढा छ । पल्लो ढोकामा वस्ने अरु कुनै परिवारको मानिस विरामी पर्दा तातो पानी चाहियो कि ? भनेर सोध्ने हिम्मत शहरले किमार्थ राख्दैन ।
राम्रो शहर, राम्रो जीवन भनिए पनि हाम्रा शहरहरु राम्रा हुने कहिले ? के भयो भने राम्रो हुने होला शहर ? गगनचुम्बी घर, पराकिला सडक, संगै रोग, भोक र असमानताको केन्द्र हुनबाट जोगिने हो भने बल्ल शहर, कल्पनाको शहर हुने थियो । तर महंगी, अभाव र गरिबीबाट आक्रान्त लाखौं अनुहारहरु बोकेर उत्साहहीन मुहारमा ठडिएको घना वस्तीलाई कसरी शहर भन्नु खोइ ? हाम्रा शहरहरु शहर बन्न अझै धेरै परिवर्तन हुनु जरुरी छ । भौतिक पक्षको विकास एउटा कुरा भयो, सामाजिक, सांस्कृतिक, नैतिक, आध्यात्मिक तथा मानविय पक्षको विकास भएको साँच्चिकै शहर जस्तो शहर हाम्रोमा कहिले बन्ने होला ? जहाँ समस्या, त्यहाा समाधानका उपाय । आउनुहोस्, हामीपनि हाम्रा शहरहरुलाई साच्चिकै शहर बनाउन लागि परौं ।