
सुर्तीसंग जोडिएका मेरो जीवनका दुइ घटना उल्लेख गर्दै मेरा प्रिय पाठकसंग आजको आलेख सुरु गर्ने अनुमती चाहन्छु । यस्तै घटना तपाईँहरुका जीवनमा पनि घटित भएका हुन सक्छन् । कतिपयलाई मेरो भोगाई नौलो नलाग्न सक्छ अनि कतिपयलाई आफ्नो भन्दा फकर भएका कारण रोचक नै लाग्न सक्छ ।
म तीन कक्षामा पढ्दाको कुरा हो । मेरा दामलीहरु कोही २ मा त कोही १ कक्षामा पढ्दै
थिए । छिमेकमा एकजना दाजु हुनुहुन्थ्यो । हामी धेरै उहाँलाई सम्मान पूर्वक रामु दाई भनेर सम्बोधन गर्ने गथ्र्याैं । विद्यालयमा चार कक्षामा पुगेपछि मात्र अंग्रेजी पढ्न पाउने हामीलाई भारतमा पढेर आउनु भएका उहाँले मलाई कक्षा तीनमा अरु दामलीहरुलाई दुइ वा एक कक्षामा पढ्दा नै अंग्रेजीका ए, बी, सी, डी सिकाउनु भएको
थियो । कक्षाका अरु घेरै साथीले नजानेको ए, बी, सी, डी उहाँकै कारणले जान्न पाएकाले हाम्रो समूहका सबैमा उहाँका प्रति श्रद्धाभाव थियो ।
मलाई त्यो दिनको अझै सम्झना छ । शनिबार नै नभएपनि त्यो बिदाको दिन थियो । हामी बाख्रा गोठालो गएका थियौं । हामी भएको ठाउँमा आउनु भएका रामु दाइले खल्तीबाट सलाई र चुरोट झिकेर सल्काउनु भएपछि हामी आश्चर्यमा प¥यौं । किनभने हामीले यसअघि उहाँले चुरोट खानु भएको देखेका थिएनौं । कुरा गर्दा थाहा भयो, उहाँ नियमित चुरोट पिउनु हुँदो रहेछ । त्यस दिनु रामु दाइले हामीलाई पनि चुरोट पिउन आग्रह गर्नुभयो । बुबा आएर देख्नु हुने डरले म बारीको कुनामा बसेर चुरोटको सर्काे लगाएँ । एक सर्काे लगाएको मात्र के थिएँ, खोकी लागेर झण्डै मरुँला जस्तो भयो । मुख सुक्न थाल्यो । एकछिनका लागि यस्तो कुरा खान आग्रह गर्ने भनेर रामुदाइ प्रति घृणा उत्पन्न भयो । तर संयमित हुँदै भने, दाइ म चुरोट खान्न ।
मेरा फुपाजु खैनीका पारखी । त्यतिबेला सानो टिनको डब्बामा आउने खैनीको खुब प्रचलन थियो । ससुराली आउनु भएका फुपाजुले मलाई खैनी मिठा हुने भन्दै खान उक्साउनु भयो । मैले पनि उहाँले दिनु भएको खैनी मुखमा राखेँ । राखेको मात्र के थिएँ, मुख पोल्यो र बान्ता होला जस्तो भयो । हत्तपत्त खैनी थुकें तर बान्ता नभई छाडेन । फेरी फुपाजुले खैनी खुवाउनु हुने डरले त्यहाँबाट बेपत्ता भागें ।
सुखद कुरा नै भन्नु पर्छ, मलाई चुरोट वा खैनीको लत कहिल्यै बसेन । खैनीको गन्धमात्रले पनि मलाई बान्ता होला जस्तो हुन्छ । साथीहरुसंगको जमघट वा त्यस्तै अवसरमा चुरोट पिउने प्रयत्न गरें भने पनि साथीहरु नै मलाई चुरोट पिउने त कुरै छाडौं समाउन समेत नआउने भनेर खिसीट्युरी गर्छन् । अनि आफ्नो अक्षमता लुकाउन गिँच्च हाँसेर चुरोट फाल्छु ।
साथी, अग्रज आदिको संगतका कारण चुरोट वा खैनीको बानी परेका हामी मध्ये धेरै छौं । बुबाले घरको पिँडीमा बसेर सानो छोरालाई भित्र अगेनामा गएर चुरोट सल्काएर ल्याउन लगाउने गरेका कारण चुरोट वा बिँडीको अम्मली भएका धेरै भेटेको छु, मैले । साथी संगीको करकापले चुरोट वा खैनीको मात्र होइन लागू पदार्थको दुव्र्यसनमा फँसेका धेरै युवाहरुको व्याथा सुन्न र पढ्न पाइन्छ ।
हामी मध्ये धेरैले जानेर , सुनेर वा थाहा पाएर पनि चासो नदिएको अनि कतिपयले भने नसुनेको वा थाहा नपाएको तथ्य के हो भने सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा हरेक ८ सेकेण्डमा एक जनाको मृत्यु हुने गर्दछ । संगै अर्काे तथ्य पनि छ, हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ । हामी हरेक वर्ष युद्धका कारण, आत्महत्याका कारण, हत्याका कारण वा दुर्घटनाका कारण हजारौं मानिसको ज्यान गयो भने जिब्रो काढ्ने गर्दछौं । तर हामीले थाहा पाउनु पर्ने सत्य के छ भने यी सबैका कारण हुने मृत्युको संख्यालाई दोब्बर बनाउँदा पनि सुर्तीजन्य पदार्थको उपभोगका कारण हुने मृत्युको संख्यालाई भेट्टाउन सक्दैन । यसरी हेर्दा मानव अस्तित्व रक्षामा चुरोट र सुर्तीजन्य पदार्थको सेवन चुनौति बनेर रहेको तथ्य थाहा लाग्छ ।
सुर्तीजन्य पदार्थको सेवनले दिएको यो भयावह परिणामलाई मध्यनजर गर्दै सुर्तीबाट निस्केने निकोटिनको लतबाट संसारलाई सचेत गराउन र जोगाउन संसारभर हरेक वर्ष मे ३१ मा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू र सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठनको तयारी लगाएत विषयमा जानकारी गराउने गर्दछ ।
सुर्तीजन्य बस्तुको नियन्त्रण सम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा सन् २००६ मा हस्ताक्षर गरेर यसको पक्ष राष्ट्र बनेको नेपालले यसको नियन्त्रणमा केही सकारात्मक प्रयासहरु गरेको छ । तर कानून कार्यान्वयनमा कडाइ नहुँदा सार्वजनिक स्थानमा धुम्रपान गर्ने लाई कारवाही गरिने प्रावधानले प्रभावकारी रुपमा काम गर्न सकेको छैन । सुर्तीजन्य पदार्थ र रक्सी, वियर जस्ता वस्तुको विज्ञापनले भरिभराउ हुने पत्रपत्रिकाका पानामा अब ति विज्ञापन देख्न पाईँदैन । काँचका पर्दाहरुमा तिनको विज्ञापन देखिन छाडेको छ । यसले पक्कै पनि सुर्तीजन्य वस्तुको नियन्त्रणमा सघाउ पुग्नेछ । तर कलेजको क्यान्टिन वा बाहिर कतै होटलमा बसेर चना खाँदै गर्दा चुरोट पिउनुको मज्जा नै बेग्लै हुन्छ भन्ने पुस्ता, चुरोट पिउनुलाई इज्जतको विषय ठान्ने पुस्ता, चुरोट पिउँदा दाँत दुःखेको निको हुने तथा जाडो भाग्ने भ्रम पाल्ने पुस्ताले यसको हानीका बारेमा पर्याप्त जानकारी नपाउँदासम्म यसको नियन्त्रण प्रभावकारी हुन सक्दैन ।
हामी सबैलाई आफ्नो स्वास्थ्य राम्रो भएको मन पर्छ । हामी आफु स्वस्थ्य हुनु त पर्छ नै अरुलाई पनि स्वस्थ्य रहन सहयोग गर्नु हाम्रो कर्तव्य हो । त्यसैले सुर्तीजन्य पदार्थको नकारात्मक असरबारे जानकारी राख्ने र त्यसलाई अरुसम्म पु¥याउने गरौं । यो वर्ष “अन्न बढाउँ, सुर्ती होइन” भन्ने नाराका साथ मनाइएको सुर्तीजन्य पदार्थ विरुद्धको दिवसले सबैमा नारामा भनिएका कुरा गर्न प्रेरित
गरोस् । सफा फोक्सो, मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य बनाउन सुर्ती त्यागौं । हाम्रो ज्यानमा स्फूर्ति आउने छ ।