वैशाख १० मतदान भई सोही १२ मा मतगणना सकिएको तनहुँ –१ को उपनिर्वाचनले पुराना भनिएका दलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेलाई अवसर र चुनौतिको चाङमा धकेलिदिएको छ ।
कांग्रेसको गढ मानिने तनहुँ–१ मा गोविन्द भट्टराईको पराजयलाई लिएर कांग्रेस सकिएको अर्थ लगाउनेहरु तथा सर्बेन्द्रले पाएको मत हेरेर एमालेको जनाधार सकिन लागेको विश्लेषण गर्नेहरुको प्रसस्तै छन् । अनि राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसबाट निर्वाचित उम्मेदबार स्वर्णिम वाग्लेको देवत्वकरण गर्दै अति आकांक्षा राख्नेहरुको संख्या धेरै भएको वाग्लेले पाएको मतले देखाएको छ ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेस उम्मेदबार रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए । त्यसैले कांग्रेसका नेता तथा कार्यकर्ता सहज जितको विश्वासमा थिए । उता एमाले जिल्ला बाहिरका उम्मेदबार आएका कारण आन्तरिक रुपमा असन्तुष्ट भएपनि सायद, स्वर्णिमले कांग्रेसको मत काट्ने र आफ्नो उम्मेदबारले जित हातपार्ने विश्वासमा थियो ।
सादगीका पर्याय बनेका गोविन्द भट्टराईले अपेक्षित मत पाएनन् । गोविन्दले गाउँमा पानी ल्याएर खुवाएका त हुन तर यस पटकको भोट घण्टीमा भन्ने गरी मत मोडिएको देखियो र ठूलो मतान्तरले गोविन्दले निर्वाचन हारे । “गाउँ गाउँमा टेलिफोन, टेलिभिजन र इन्टरनेट पुगेको रहेछ । मलाई थाहा थिएन ।” भन्ने जवाफ दिने स्वर्णिम तनहुँका बारेमा कति जानकार छन् र उनीबाट कति अपेक्षा गर्न सकिन्छ भन्ने तर्फ अधिकांश मतदाताको ध्यान गएको देखिएन ।
आम मतदाताको मत कसरी बदलेर आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने कुरामा पुराना भनिएका दलका नेताले भन्दा नयाँ दल रास्वपा र त्यसका नेता कार्यकर्ताले बुझको र सोही अनुसार निर्वाचन प्रचारमा जुटेको देखियो । यसलाई चिर्ने चुनौति र आगामी दिनमा आफुबाट विच्किएको जनमत आफ्नो पक्षमा पार्ने अवसर पुराना दललाई आएको छ ।
कांग्रेस, एमाले लगाएतका दलहरुले आफुलाई सच्याउनु पर्ने प्रसस्त ठाउँहरु छन् । तर पुराना भनिएका दल र तिनका नेताहरु सबै खतम छन् । यिनीहरुबाट अब देशमा आर्थिक सामाजिक परिवर्तन सम्भव छैन भन्ने गरी जनु प्रचार गरेर आम मतदातामा आक्रोष पैदा गर्दै मत बटुल्ने प्रयास भयो र त्यो सफल पनि भयो, त्यसले देशको राजनैतिक भविष्य राम्रो हुने देखिन्न । यो भएन र त्यो भएन भनेर आम मानिसमा असन्तुष्टि पैदा गर्न र आक्रोषको आगो ओकल्न लगाउन सजिलो छ तर आफुले ठिक गरेर देखाउन सजिलो छैन भन्ने कुरा बुझ्दा अहिले यसबाट फाईदा लिनेहरुलाई नै भविष्यमा राजनीति गर्न सजिलो हुनेछ ।
पुराना दलहरुको कुरा गर्दा उपनिर्वाचनले सिकाउन चाहेका पाठ बुझेर आफु सच्चिने र नागरिक आकांक्षा अनुकुल व्यवहार गर्ने चुनौति तथा अवसर दुबै आएको छ । चुनौतिलाई अवसरको चाङमा बदल्ने वा हामी जे जस्तो छौं ठिकठाक छौं भनेर प्रजापरिषदको बाटोमा समात्ने ति दलका नेता तथा कार्यकर्ताको व्यवहारमा भर पर्छ ।
सन्दर्भ–तनहु–१, उपनिर्वाचन
अवसर र चुनौतिको चाङमा पुराना दल
previous post