नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सात दलिय गठबन्धन र स्वतन्त्र सांसदको समर्थनमा सरकार गठन भएको आइतबार दुई साता हुँदैछ । आगामी मंगलबार दाहालले संसदमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै गर्दा सरकार गठनको दुई हप्ताका उपलब्धीको फेहरिस्त अवश्य प्रस्तुत गर्नेछन् र भन्नेछन् यस्तै काम गरी देशलाई समृद्धिको मार्गमा लैजान मलाई मत दिनुहोस् ।
दाहालले प्रस्तुत फेहरिस्तमा तीन वर्ष देखि बन्द रहेको रसुवागढी केरुङ्ग नाका खुलेको, नेपाल–चीनबीच रेलमार्ग सम्भाब्यता अध्ययन गर्न चिनिया टोली नेपाल आएको, भारतले काबेली बी–१ र तल्लो मादी जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत खरिद गर्ने भएको, बहालवाला र पूर्व विशिष्टले नियम बिपरित राखेका सुरक्षाकर्मी फिर्ता आएका तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको कुरा समाबेश हुनेछन् ।
बडो उत्साहका साथ पोखरा अन्तराष्ट्रिय बिमानस्थलको उद्घाटन सम्पन्न भएको छ । आम पोखराबासीले बिमानस्थल बन्नुलाई यस क्षेत्रको समृद्धिसँग जोडेका छन् । तर सात महिना अघि जेठ २ मा उद्घाटन भएको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट जम्मा डेढसय उडान भएको तथ्याङ्कले उत्साहमा पानी छर्ने देखिएको छ ।
२२ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको पोखरा बिमानस्थलको कूल लागतमध्ये साढे १६ अर्ब ऋण हो । चिनिया बैकसंग बार्षिक २ प्रतिशत ब्याज दिने गरि उक्त ऋण लिइएको हो । यसको ब्याजमात्र बार्षिक ३३ करोड हुन्छ भने मासिक झण्डै ३ करोड हुन्छ । यदि गौतम बुद्ध बिमानस्थलमा जस्तै झण्डै मासिक २० उडान मात्र हुने हो भने सञ्चालन खर्थ तथा साँवा ब्याज भुक्तानी कति सहज होला ? केहि आन्तरिक उडान र नगन्य अन्तराष्ट्रिय उडानले के त्यो थेग्ला ? अझ उक्त विमानस्थलको बार्षिक क्षमता १५ लाख यात्रु भएको सन्दर्भमा सबै खर्च जुटाई नाफा हुने कल्पना कति गर्न सकिएला र । कतै यो ऋण हाम्रा लागि महंगो पर्ने त होइन ? यसबारे सबै पक्ष सचेत हुनु जरुरी छ । र जरुरी छ, हाम्रो जस्तो देशमा अन्तराष्ट्रिय बिमानस्थलको बाढी कति आवश्यक हो भनेर आत्मसमिक्षा गर्न ।
बिमानस्थलको बाढी -सम्पादकीय
previous post