शुक्रबार विद्यालय तहका अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन भयो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका ३ लाख ६३ हजार ८ परीक्षार्थी मध्ये १ लाख ७४ हजार ५९८ अर्थात ४८ प्रतिशत परीक्षार्थीमात्र उच्च शिक्षा पढ्न योग्य भए अर्थात उत्तीर्ण भए । बोर्डका अनुसार एक वा दुइ विषयमा नन्ग्रेडेड विद्यार्थीले तत्तकाल गे्रडवृद्धि परीक्षा दिन पाउने छन् । यस्तो विद्यार्थीको संख्या कुल परीक्षार्थीको ३६ प्रतिशत रहेको छ । जुन संख्यामा १ लाख ३० हजार ८७८ हो । यसैगरी दुईभन्दा बढी विषयमा नन्ग्रडेड ५७ हजार ५५३ विद्यार्थीले भने ग्रेडवृद्धिका लागि अर्काे वर्ष हुने परीक्षा कुर्नु पर्नेछ ।
यस वर्षको १२ कक्षाका नतिजाका अरु पनि फरक विशेषता रहेका छन् । गत वर्ष ४७ जनाले ४ जीपिए ल्याएकामा यस वर्ष कुनै विद्यार्थीले पनि ४ जीपिए ल्याउन सकेनन् । २.८१ देखि ३.२० जीपिए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै ६५ हजार २८४ छ भने ४ हजार १७९ विद्यार्थीले ३.६१ देखि ४ जीपिए ल्याएका छन् । बोर्डका अुनसार अंग्रेजीमा सबैभन्दा धेरै १ लाख १ हजार ११३ विद्यार्थी नन्ग्रेडेड छन् भने दोस्रोमा लेखा विषयमा ६ हजार १७१ विद्यार्थी रहेका छन् ।
माथिका तथ्यहरुले बताउँछ, कक्षा १२ को नतिजा निराशाजनक छ । कोभिडका कारण पढ्न नपाएका विद्यार्थीबाट धेरै अपेक्षा गरिनु आफैमा न्यायोचित होइन । यसका साथै राज्यका वेवास्ताको शिकार कक्षा १२ को नतिजा भएको तर्फ हाम्रो ध्यान नगएको भान हुँदैछ । देशका अधिकांश ११–१२ चलेका विद्यालयलाई हेर्ने हो भने न त त्यहाँ शिक्षक दिइएको छ न अन्य कुनै साथ र सहयोग । के राज्यको दायित्व कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गर्नु मात्र हो ? होइन भने शिक्षक उपलब्ध गराउने, आवश्यक भौतिक पूर्वाधार तयार पार्न विद्यालय र समुदायलाई सहयोग गर्ने, बालबालिकाका लागि छात्रवृत्ति उपलब्ध गराउने जस्ता काम राज्यले तत्काल गर्नुपर्छ । हातखुट्टा बाँधेर दौड प्रतियोगितामा पठाउने अनि पुरस्कृत हुन नसकेको भनेर गाली गर्ने नीतिले कक्षा १२ को नतिजा राम्रो आउन सक्दैन । यो कुराको मनन राज्यले मात्र होइन नतिजा राम्रो भएन भनेर विद्यालय र शिक्षक माथि दोष थोपर्नेहरुले पनि गर्नु जरुरी छ ।
निराशाजनक नतिजा-सम्पादकीय
previous post