हामी भन्छौं मानिसको जीवनमा कहिले सुख कहिले दुःखको घाम छायाँ जस्तै आइरहन्छ । । तर कतिपय मानिसको जीवनमा सधै दुःख अनि कतिपयको जीवनमा सधै सुख हामीले देखेका छौं । कतिको जीवनमा सधैं घाम अनि कतिको जीवनमा सधै छायाँ मात्र पर्छ । यस्तै घाम छायाँको कहानी जसको प्रत्यक्षदर्शी म रहेको छु, आज पत्रिका मार्फत प्रस्तुत गर्न गइरहेको छु । कहानी मेरो बाल्यकालको एउटा साथीको हो । उसको परिवारमा उसका बुबा, आमा, काका र उ अर्थात मेरो साथी थिए । उ जन्मेको थियो, पहिलो जनआन्दोलनको राप र ताप सुरु हुनुभन्दा केही महिना पहिले, २०४६ मंसिर १५ मा । न्वारन गरेर पण्डितले उसको नाम के राखे थाहा भएन तर हामी उसलाई दिनेश भनेर बोलाउँथ्यौं ।
दिनेश ३ वर्ष जतिको हुँदो हो, खोइ के विषयमा हो, उसको बाबु र आमाको बीचमा झगडा भयो । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्थे तर दिनेशका बाबु आमाको सन्दर्भमा यो उखानले काम गरेन बरु उनीहरु बीचको झगडाले भुसको आगोको रुप लियो । अन्ततः उसकी आमा उसलाई लिएर माइत अर्थात दिनेशको मामाघर गइन् । मामाघर वस्न पाउँदाको रमाइलो एकातिर थियो भने बुबासंग विछोडिनु पर्दाको दुःख पनि उसलाई भएको हँुदो हो । दिनेश ६ वर्षको हुँदा बाबाले अदालतमा मुद्धा हाल्नु भयो । वादी प्रतिवादीको बहस तथा छलफलका क्रममा उसले आफ्नो बुबा, काका, फुपु तथा हजुर आमालाई देख्ने मौका पायो । उ अझै पनि सम्झन्छ, त्यती बेला उसलाई हजुर आमाले रिक्सामा हालेर बजार लगेर मायाँ गर्दै उसले रोजेको कपडा किनिदिनु भएको । मुद्धाको फैसला भयो र विकास आफ्नो बुबासंग जान पाउने भयो ।
संघारमा पाइलो राख्दै गर्दा उसले घर भित्र आफ्नो आमाको उमेरकी अपरिचित महिला देख्यो र बाबुसंग सोध्यो, उहाँ को हुनुहुन्छ ? उसका बुबाले भने, यो तेरी आमा हो । यो तीन वर्षमा उसको हजुरआमाले घर नजिकैको बजारमा होटल व्यवसाय सुरु गर्नु भएको रहेछ । दिनेश कहिले हजुरआमाकोमा जान्थ्यो अनि धेरै जसो बुबा–आमासंग वस्थ्यो । दिनेशका बुबा फुटबलका सौखिन । बेलाबेला फुटबल खेल्न जाने गर्थे । एक दिनको कुरा हो फुटबल खेल्ने क्रममा हेडिङ गर्छु भन्दा अर्काे खेलाडीसंग टाउको जुध्न गएछ र कन्चटमा नराम्रो ठक्कर लागेकोले होला उनी बेहोस हुन पुगेछन् । केही छिनमा होस खुलपछि साथीहरुले उनलाई घरसम्म ल्याइदिएछन् । शायद ठूलो दुर्घटनाको संकेत थियो यो कि खासै छोरालाई गाली नगर्ने उनले त्यसदिन दिनेशलाई गाली गरे । दिनेश नजिकै रहेको काकीको माइतीघरमा गएर सुत्यो । सोही रात उसका बुबाले बमिट गरेपछि स्वास्थ्य अवस्था अचानक विगे्रकोले छिमेकीहरु मिलेर काठमाण्डौ लगेछन् । यो सबै उसले भोेलिपल्ट विहान मात्र थाहा
पायो । दुर्भाग्य अस्पताल नपुग्दै उसका बुबाको मृत्यु भएछ ।
साथीहरुसंग ढलाईबल खेली रहेको अवस्थामा दिनेशले आफ्नो सबैभन्दा नजिकको मानिस गुमाएको खबर पायो । उत्साह पूर्वक जित्ने अभिलाषा साथ खेलिरहेको उसलाई के थाहा उसले सबैभन्दा ठूलो कुरा हार्दै रहेछ । मानिसको जीवन पनि अनौठो छ । सानो जीतकालागि संघर्षरत मानिसले अचानक धेरै ठूलो कुरा गुमाउनु पर्ने । उसको खेलमा जित्ने उत्साह सबै सेलायो, हात गोडा फत्रक्क गले । बल छोप्ने र फाल्ने हिम्मत नै आएन र निन्याउरो मुख लगाएर घर तिर हिड्यो ।
८ वर्षको उसले बुबालाई दागबत्ती दियो । १३ दिनसम्मका सबै कर्महरु सक्यो । यो बीचमा इष्टमित्रहरु आउँथे । सान्त्वनाका स्वरहरु सुनिन्थ्यो । सहयोगका वचनहरु पनि उसले सुनेको थियो । इष्टमित्रहरुको आगमनले उसलाई बाबु गुमाएको दुःख शायद कम भएको थियो । तर १३ दिन पछि उसले आफुलाई नितान्त एक्लो पायो । केही वर्ष अगाडि जन्मदातृको साथ छुटाउन विवश उसले अब जन्मदाताको साथ भने सदाका लागि गुमाएको थियो र एक्लोपनको आभाष यतिबेला भएको थियो, उसलाई ।
अब दिनेशका दिनहरु सौतेनी आमासंग वित्न थाले । सात कक्षासम्म राम्रै पढ्यो । आठ कक्षा पढ्दै गर्दा पढेरभन्दा काम सिकेर फाईदा हुने बुझेर दिनेशले विद्युत वायरिङको तालिम लिन थाल्यो । विहानमा पत्रपत्रिका बाँड्ने र दिनमा तालिम गरेर उसले तालिम सक्यो । काम सिक्नका लागि केही समय एउटा पसलमा काम गरेको दिनेशले पछि आफ्नै घरमा सानो पसल सुरु गर्यो । एक्लो उ काम नपाउँदा पसलमा बस्थ्यो भने वायरिङको काम पाउँदा पसल बन्द गरेर काममा जान्थ्यो । वायरिङको काम नपाउँदा घरमा रङ लगाउने काम गरेर समेत उसले आय आर्जनको कामलाई निरन्तरता दिन्थ्यो । तर आमा जस्ती सौतेनी आमा नहुने रहिछन् । उसले जति मेहनत गरेपनि आमाले कहिल्यै जस दिइनन् । एक दिन सौतेनी आमा पट्टीकी बहिनीलाई दुइवटा टिसर्ट धुन लगाएको निहुमा उसलाई सौतेनी आमाले नराम्रोसंग गाली गरिन् र घर छोडेर जान भनिन् । हातमा केही सिप भएकाले भोकै नमोर्ने भन्दै उ पनि घरबाट हिँड्यो । तर सोचे जस्तो जिन्दगी कहाँ हुन्छ र ? निजी विद्यालयको बसको सहचालक भएर काम गर्नु पर्ने अवस्था पनि आयो । उसले जानेको वायरिङ, रङ लगाउने जस्ता काम पाएन । उसको जिन्दगीमा आउने उतार चढाबको श्रृङ्खला अझै सकिएको थिएन, शायद । उ त्यो काममा पनि धेरैबेर रहन सकेन । मार्केटिङ, फेरी विजुली पसलमा काम, वायरिङ जस्ता काम गर्दै गयो, उसले । काममा अनेकौं वाधाहरु आइरहन्थे । बाधा छिचोल्ने सहास भर्ने साथी कोही थिएन् । अनकौं हण्डर र ठक्कर खाँदै फेरी उ प्लम्बिङको काममा हिँड्न थाल्यो । यस्तै उतार चढाबका बीच उसले जीवन संगिनी चुन्यो । अहिले उसको जीवनको उज्यालो पक्ष चलिरहेको जस्तो लाग्छ । दुई छोरा छोरीको बाबु भएको छ । घरमा सानो पसल छ, जुन श्रीमतीले चलाई रहेकी
छन् । उ आफु सरकारी जागिरे छ । सौतेनी आमासंग विना कुनै गुनासो बसेको छ ।
यो मेरो साथीको जीवन कथा हो । यस्ता संघर्षका कथा हरेकका छन् । फरक यत्ति हो, कसैका संघर्षका सन्दर्भहरु फरक होलान् । तर संसार रुपि यो रंगमञ्चका हामी पात्रहरुले भोग्ने छोटो जिन्दगीको भोगाई यस्तै यस्तै हो । हामी पात्र फरक हाँैला तर कथा–व्यथा उस्तै हुन्छन् ।
फरक मानिसका, उस्तै कथा–व्यथा
previous post