विक्रम सम्वतको २०२० साल भदौ १९ तथा इश्वी सन्को १९६३ सेप्टेम्बर ४ नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिनको रुपमा अंकित भएको छ । यस दिन डा. नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा नेपालमा विश्वव्यापि मानविय संस्था रेडक्रसको स्थापना भएका थियो । मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता जस्ता सात सिद्धान्त रहेको यो संस्था मानविय सेवामा विश्व व्यापक मात्र छैन विश्वसनिय पनि छ ।
प्राकृतिक वा मानव सिर्जित विपत्तीका कारण वा अन्य कुनै कारण पिडामा परेका तथा विपत्तिका सामना गरिरहेका मानिसको निष्पक्षता तथा तटस्थता पूर्वक सेवा गरेर संसारभर ख्याति कमाएको यो संस्था नेपालमा प्राथमिक उपचारको अर्काे नामको रुपमा रहेको छ । बढ्दो जनसंख्या संगसंगै बढ्दै गएको दुर्घटनाका कारण प्राथमिक उपचारको आवश्यकता पनि बढ्दै गएको छ । नेपालको सन्दर्भमा भौगोलिक बनोट, यातायात सुविधाको अभाव, स्वास्थ्य संस्थाको अभाव, पहुँचको अभाव आदिका कारण स्वास्थ्य सेवाहरु सहज छैनन् । यस्तो अवस्थामा उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न समय लाग्न सक्छ । प्रभावितले स्वास्थ्य संस्था पुग्नु भन्दा अगाडि वा स्वास्थ्यसंस्थाबाट उपचार प्राप्त गर्नु भन्दा अगाडि स्वास्थ्य सम्बन्धी सामान्य हेरचाह प्राप्त गर्न सक्यो भने उसको अवस्था थप विग्रन पाउँदैन । कतिपय अवस्थामा त अकाल मृत्यु हुनबाट पनि बचाउन सकिन्छ । यसरी हाम्रो भाषामा भन्नुपर्दा घाइते वा विरामीलाई स्वास्थ्यसंस्थामा पु¥याउनु वा दक्ष चिकित्सकको सेवा प्राप्त गर्ने अवस्था प्राप्त गर्नु अगाडि उसको जीवन रक्षाका लागि गरिने स्वास्थ्य हेरचाहलाई प्राथमिक उपचार भनिन्छ । नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार तालिम निर्देशिका–२०७७ मा प्राथमिक उपचारलाई परिभाषित गर्दै “घाइते वा विरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र श्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म गरिने स्याहार सुसार नै प्राथमिक उपचार हो ।” भनिएको छ ।
सन्दर्भः नेपाल रेडक्रस दिवस
हाम्रा अग्रजहरुले प्राथमिक धेरै पहिलेदेखि उपचार गर्ने गरेका थिए भन्ने कुराका हामीसंग प्रसस्त उदाहरणहरु छन् । केवल ति अहिले भनिए जस्तो सुरक्षा नियममा आधारित थिए वा थिएनन् ? भन्ने मात्र हो । प्राथमिक उपचारलाई व्यवस्थित बनाउने तथा विभिन्न व्यक्तिहरुलाई तालिम प्रदान गरेर समुदायलाई प्राथमिक उपचारमा दक्ष बनाउने श्रेय भने रेडक्रसलाई नै जान्छ । त्यसैले नेपालमा प्राथमिक उपचार भन्ने वित्तिकै रेडक्रस भन्ने बुझिन्छ ।
प्राथमिक उपचार भनेको के होला ? कस्तो कस्तो अवस्थामा प्राथमिक उपचार गर्न सकिन्छ ? यी र यस्तै जिज्ञासाहरु रहेकै अवस्थामा मलाई भदौ पहिलो साता नेपाल रेडक्रस सोसाइटी तनहुँले प्रदान गरेका आपतकालिन प्रतिकार्य तथा प्राथमिक उपचार तालिम कार्यक्रममा सहभागी हुने मौका मिल्यो । जीवन अनुभव र तालिमका क्रममा सिकेका कुर ा संयाजन गरेर प्राथमिक उपचारका बारेमा चर्चा गर्न गइरहेकी छु ।
म सानै थिएँ । एक दिन विद्यालयबाट आएर खाजा खाएपछि साथीहरुसंग बल खेल्न जानु भएको मेरा दाजु निन्याउरो मुख लिएर देव्र हातको बलमा दाहिने हात अड्याएर घर आउनु भयो । बुबाले देख्ने वित्तिकै सोध्नु भयो, के भयो ? रुञ्चे स्वरमा दाईले भन्नुभयो बल छोप्न जान्छु भन्दा लडेर हात भाँचियो । यो सुन्नासाथ बुबाले दाइको हात हेर्नु भयो र भन्नु भयो नाडी माथिबाट भाँचिएको जस्तो छ । त्यतिबेला अहिले जस्तो यातायातकोे सुविधा गाउँमा
थिएन । नजिकको अस्पताल पुग्न पनि कम्तिमा ३ घण्टा हिँड्नु पथ्र्याे । आमाले पात गाँस्ने सिन्का बनाउन पालिमा सिउरेर राख्नु भएको बाँसका कप्टेरा झिकेर बुबाले केही मसिनो मनाउनु भयो अनि खिपेर सतह चिल्लो बनाउन थाल्नु भयो । कही छिनमा ति मसिना बाँसका कप्टेराको काम्रो तयार भयो र दाईको हातमा बाँधी दिनु भयो ।
बुबाको त्यो कामको अर्थ र महत्व म अब बल्ल बुझ्दै छु । बुबाले दाईको हात हलचल भएर थप नदुखोस् अनि भित्रका हाडहरु यताउता नहोउन भनेर प्राथमिक उपचार पो गर्नु भएको रहेछ ।
बाल्यकालकै अर्काे घटनाको पनि मलाई सम्झना छ । एकपटक मेरो नाकबाट अचानक रगत बग्न थाल्यो । बुबाले मलाई थोरै अगाडी झुकेर हातको बुढी औला र चोर औलाले नाक थुन्न र मुखले सास फेर्न भन्नु भयो । यसो गरेको केही छिनमा मेरो नाकबाट रगत बग्न छोड्यो । यस्ता थुप्रै घटनाहरु मेरो मानसपटलमा चलचित्र झैं आउन थाले जब म प्राथमिक उपचार तालिममा सहभागी भएँ । यो प्राथमिक उपचार हो या प्राथमिक उपचारका सिद्धान्त यी हुन भन्ने जानेर भन्दा पनि शायद बुबाले अनुभवबाट सिकेको आधारमा यी कामहरु गरिहरनु भएको थियो ।
अहिले बुझ्दैछु, घाइते वा विरामीलाई विश्वस्त तुल्याउँदै उनीहरुको स्वास्थ्य अवस्था झन विग्रन नदिई सुधार ल्याउन र जीवन बचाउन प्राथमिक उपचारले महत्वपूर्ण भूमिका खेल्ने रहेछ । प्राथमिक उपचार घटना या दुर्घटना स्थलमा नै हुने भएकाले घाइते वा विरामी तथा प्राथमिक उपचारक अनि घटनास्थलमा उपस्थितको सुरक्षालाई ध्यान दिनु पर्ने रहेछ । जस्तै पहिरोमा पुरिएर घाईते बनेको मानिसका प्राथमिक उपचार गर्दै गर्दा थप पहिरो आउन सक्ने र त्यसले अरुलाई समेत क्षति गर्न सक्ने तर्फ सचेत हुनु पर्ने रहेछ ।
यो तालिमले प्राथमिक उपचार भनेकोे अस्थायी हेरचाह भएकाले चाँडो स्वास्थ्य संस्थामा पु¥याउनु पर्ने, स्वयम सेवाको भावनाले गरिने भएकाले कुनै लाभको आशा राख्न नहुने, निष्पक्षता र तटस्थता पूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने तथा आफ्नो ज्ञान र सिपको दायरा भित्र रहेर सुरक्षा नियमका पालना गर्दै सेवा प्रदान गर्नुपर्ने कुराको ज्ञान प्रदान गरेको छ । यसो गरे होला कि भनेर अनुमानका भरमा प्राथमिक उपचार गर्न नहुने कुरा समेत मलाई यो तालिमबाट जानकारी भएको छ । र सबैभन्दा महत्वपूर्ण कुरा यो तालिमले प्राथमिक उपचारले मानिसका जीवन बचाउन खेल्न महत्वपूर्ण भूमिका बुझ्ने अवसर दिएको छ ।